स्वतन्त्र राजनीतिक समूह “पर्ख र हेर”को अवस्थामा छ : पशुपति दयाल मिश्र (अन्तर्वार्ता)

नेता, स्वतन्त्र राजनीतिक समूह

अन्तर्वार्ता

    २०७५ साल, माघ २५ गते शुक्रबार   

० काठमाडौंमा हालै स्वतन्त्र राजनीतिक समूहको भेला सकिएको छ । भेलापछि के हुँदैछ ? 

— काठमाडौं भेलाबाट मुख्यतः तीनवटा निष्कर्ष निकालिएको थियो । जसमध्ये संगठन विस्तार पनि एक थियो । सोहीअनुसार स्वतन्त्र राजनीतिक समूहले विभिन्न ठाउँमा संगठन विस्तारलाई तीव्रता दिएको छ ।

० सो भेलाबाट तपाइँहरूले नेकपामा प्रवेश गर्ने भन्ने पनि थियो, किन ढिलाइ भइरहेको छ ?

— हामीले नेकपासँग केही सैद्धान्तिक कुराहरू राखेका छौं । त्यस सन्दर्भमा छलफल पनि भयो । तर, नेकपा नेतृत्वकै सरकार भएकोले कार्य व्यस्तता र हामी पनि संगठन विस्तारमा लागेकोले नेकपामा प्रवेश गर्ने विषय ठोस निष्कर्षमा पुग्न सकिएको छैन । हाम्रा समूहका संयोजक हृदयेश त्रिपाठी, वृजेश गुप्ताले प्रवेश गर्ने कुरामा वार्ता गरिरहनुभएको छ । हामीले मधेशका समस्यालाई कसरी समाधान गर्ने, सरकारको धारणा के छ लगायतका कुरामा स्पष्टता खोजिरहेका छौं । तर, हाम्रा सैद्धान्तिक कुराहरूप्रति अहिलेसम्म नेकपाका नेताहरूले प्रष्ट धारणा ल्याउन सकेका छैनन् ।

० भनेपछि नेकपाले तपाइँहरूलाई पार्टीमा ल्याउन खासै चासो देखाएको छैन ?

— नेकपाका नेताहरू हामीलाई पार्टीमा प्रवेश गराउन इच्छुक त छन् तर हाम्रा मुद्दाहरूमा उनीहरूको तदारूकता देखिएको छैन । हाम्रा मुद्दाहरू सम्बोधन गर्ने ठोस प्रतिबद्धता आयो भने हामी समायोजन पनि हुनसक्छौं । त्यसैले हामी अहिले आफ्ना संगठन विस्तारमा छौं । हाम्रो माग पूरा भयो भने नेकपामा प्रवेश गर्छौं, होइन भने नयाँ पार्टी गठन गरेर पनि जान सक्छौं ।

० अहिलेसम्म नेकपा तपाइँहरूको मागप्रति सकारात्मक छैन ?

— कुरामा धेरै सकारात्मक छ तर, कार्यान्वयनमा गम्भीरता देखिएको छैन । उनीहरूले कुरा गर्दा यो वास्तविक समस्या हो, यसलाई समाधान गर्नुपर्छ भन्छन्। तर, त्यसलाई जसरी कार्यान्वयन गर्नुपर्ने हो, त्यसरी देखिएको छैन ।

० त्यसो भए नेकपाका नेताहरूको बोली र व्यवहारमा समानता छैन ?

— अहिलेसम्म त त्यस्तै देखिएको छ ।

० नेकपाको व्यवहार यस्तै रहिरह्यो भने राजनीतिक दल खोल्नुहुन्छ ?

— हाम्रो अन्तिम विकल्प नै त्यही हो । नेकपा हाम्रा मागहरूप्रति गम्भीर देखिएन भने नयाँ राजनीतिक दलको रूपमा परिणत हुनसक्छ ।

० मधेशकेन्द्रित दलहरू पनि सरकारप्रति असन्तुष्ट छन्, यस्तो अवस्थामा नेकपाले मधेशको समस्या समाधान गर्नेमा कसरी विश्वास गर्नुहुन्छ ?

— नेकपाका नेताहरू इमान्दारिताका साथ प्रस्तुत नभएकोले नै हामी अहिलेसम्म नेकपामा समावेश भएका छैनौं । नेकपामाथि विश्वास भएको भए हामी नेकपामा गइसक्थ्यौं । नेकपाले हामीलाई पदीय दायित्व दिन तयार छ, मागहरू सम्बोधन हुन्छ भनिरहेको छ । तर, कार्यान्वयन पक्षमा तदारूकता नदेखिएकोले त हामी समायोजन हुन चाहेका छैनौं । त्यसकारणले हामीले हेरिरहेका छौं कि हामीले राखेका कुराहरू कसरी कार्यान्वयन हुन्छ । हामी चाहन्छौं कि मधेशमा नेकपाको राम्रो अवस्था हुनुप¥यो, मधेशी जनताले नेकपामाथि विश्वास गर्ने वातावरण बन्नुप¥यो । तर, कार्यान्वयन नै नदेखिएपछि नेकपामा जानुको कुनै अर्थ छैन । त्यसकारणले हामीले अब स्वतन्त्र राजनीतिक समूहकै रूपमा अहिले अगाडि बढिरहेका छौं । तर, नेकपामा प्रवेश गर्न र हाम्रा मागहरू सम्बोधन गराउन अहिले पनि वार्ता जारी नै छ ।

० तपाइँहरूले के कस्ता एजेन्डाहरू राख्नुभएको छ, जुन नेकपाले पूरा गर्न सकिरहेको छैन ?

— देशमा विद्यमान शोषण, दमन, उत्पीडनहरू छन् त्यसलाई समाधान गर्नुप¥यो । संघीयताको सार्थक कार्यान्वयन दिशामा अगाडि बढ्नुप¥यो । अहिले पनि संघीयतालाई कमजोर बनाएर विफल गर्ने षड्यन्त्रहरू हुँदैछ । संघीयतालाई बलियो बनाउनुप¥यो, संविधानमा आवश्यक संशोधन हुनुप¥यो । समानुपातिक समावेशिताको सिद्धान्त लागू गर्नुप¥यो । सरकारले एकतर्फीरूपले नियुक्तिहरू गरिरहेको छ, त्यसलाई संविधानअनुसार समावेशी तरिकाले गर्नुप¥यो । नागरिकता समस्या छलफलमा त गइसकेको छ तर अझै पनि कार्यान्वयनमा समस्या देखिएको छ । यस्तै, किसानका समस्याहरू पनि हामीले राखेका छौं । यी लगायतका एजेन्डाहरू हामीले नेकपाका नेतृत्वलाई बुझाएका छौं । यी विषयहरूमा नेकपाका नेताहरू सकारात्मक भए मात्र हामी समावेश हुन सक्छौं ।

० तपाइँहरूले उठाउनुभएका मागहरू त तपाइँहरूको पूर्वपार्टी राजपा नेपालले पनि उठाउँदै आएको छ, किन राजपा परित्याग गर्नुभयो र नेकपा रोज्दै हुनुहुन्छ ?

— जबसम्म हामीले उठाएका मागहरूलाई ठूला दलहरूले आफ्नो एजेन्डा बनाउँदैन तबसम्म समाधान हुने अवस्था देखिँदैन । त्यसैले हामीले नेकपा रोजेका हौं । किनकि यी समस्याहरू समाधान गर्ने शक्ति जोसँग छ उसैले गर्न सक्छ । एजेन्डा उठाउने कुरा एउटा हो र कार्यान्वयन गर्ने कुरा अर्को हो । नेकपासँग सम्झौता हुँदा पनि हामीले भनेका थियौं कि हामी सबै मिलेर गयौं भने यी समस्याहरू समाधान हुनसक्छ । त्यसमा उनीहरूले सकारात्मक कुरा गरेका हुन । अहिले पनि नेकपाका नेताहरूले सकारात्मक रहेको र समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् तर कार्यान्वयन पक्ष फितलो देखिएको छ । जहाँसम्म राजपाको कुरा छ, राजपा वा फोरम एक्लैले मधेशका समस्या समाधान गर्नसक्ने स्थितिमा छैनन । अहिले दुई तिहाईको सरकार छ, चाह्यो भने तुरून्त समाधान गर्न सकिन्छ ।

० राजपामै रहेर सरकारलाई दबाब दिने अवस्था थिएन ?

— राजपामै रहेर सरकारलाई दबाब दिने अवस्था त थियो तर, त्यसभित्र विभिन्न विवादहरू अहिले पनि देखिन्छ । राजपाका नेताहरूले प्रदेश १, ५ र ७ सँग गरेको व्यवहारका कारण हामी त्यसमा रहने अवस्था भएन । स्थानीय निर्वाचनमा पनि राजपाका नेताहरूले प्रदेश २ मा भाग लिए तर, अन्य प्रदेशमा बहिष्कार गरे । यस्ता विभिन्न कुराहरू छन्, जसमा हाम्रो असन्तुष्टि रह्यो । राजपाका नेताहरू प्रदेश २ मै सीमित देखिए ।

० प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन हुने भनिरहनु भएको छ, तपाइँहरूको धारणा के छ ?

— हामीले पनि बारम्बार भनिरहेका छौं कि संशोधन गर्नुपर्ने आवश्यक बुँदाहरू संशोधन हुनुप¥यो । तर, आवश्यक्ता के हो भन्ने कुराको निक्र्योल त सरकारले गर्नुप¥यो नि । आवश्यक्ता र औचित्य सरकारले स्पष्ट पार्नुप¥यो । या त संविधानमा संशोधनको आवश्यक्ता छैन भनेर भन्नुप¥यो । स्वीकार पनि गर्ने तर त्यसलाई कार्यान्वयन पनि नगर्ने, भनेपछि यो दोहोरो चरित्र देखाएर हुँदैन । स्पष्ट पारेर जानुपर्छ । संविधानमा यति धेरै संशोधनको आवश्यक्ता छ कि भएन भने यसलाई कार्यान्वयन गर्न पनि अप्ठ्याराहरू आइरहेका छन् । बिना संशोधन देश चलाउन पनि गाह्रो छ ।

० भनेपछि, संविधान संशोधनभन्दा पहिले तपाइँहरूको नेकपामा जाने सम्भावना छ ?

— संशोधन गर्छौं भनिरहेका छन्, तर त्यसका लागि कुन हिसावले हामीलाई विश्वास दिलाउनु पर्छ त्यस विषयमा नै छलफल भइरहेको छैन । हाम्रा एजेन्डाबारे केही कामहरू गरेर देखाउनुप¥यो । पार्टीको नीति निर्माण गर्दा पनि मधेश पक्षीय कुराहरू राख्नुप¥यो, सरकारले पनि त्यस्ता निर्णयहरू गर्नुप¥यो । यो सरकारले मधेशको पक्षमा काम गर्छ भन्ने कुराको विश्वास भयो भने मात्रै नेकपामा समायोजन हुन्छौं ।

० तपाइँहरूको पूर्वपार्टी राजपा नेपालको भूमिकालाई कसरी हेरिरहनुभएको छ ? 

— राजपा नेपालको प्रभावकारिता खास गरेर प्रदेश २ मा मात्रै छ । अन्य प्रदेशहरूमा त्यति प्रभावकारी नै छैन । प्रदेश २ मा फोरमसँग मिलेर सरकार चलाइरहेको छ । यता, संघीय सरकारमाथि पनि दबाब दिइरहेको छ तर, कार्यान्वयन कतिको होला त्यो त भविष्यले नै बताउँछ । सरकारबाट समर्थन फिर्ता लिने कुरा धेरै पहिलादेखि राजपाले गरिरहेको छ तर अहिलेसम्म कुरामा मात्रै सीमित छ ।

० जसरी तपाइँहरूले राजपा प्रदेश २ मा मात्रै सीमित भयो भन्ने आरोप लगाउनुहुन्छ, तपाइँहरू पनि प्रदेश ५ मै सीमित हुनुभयो नि ?

— हामी त अहिले एउटा राजनीतिक समूह मात्रै हो, त्यसैले हामीले सुरूवात प्रदेश ५ बाट गरेका छौं । परिस्थितिवश हामीले यो राजनीतिक समूह गठन गरेका थियौं । यदि यो समूह पार्टीको रूप लियो भने सबै प्रदेशमा हाम्रो उपस्थिति रहन्छ, तर अहिलेसम्म हामी पार्टी घोषणा गरिसकेका छैनौं । अहिले हामी प्रदेश ५ मै केन्द्रित छौं, अन्य प्रदेशमा संगठन पनि विस्तार भएको छैन ।

० नयाँ पार्टी गठनको सन्दर्भमा के हुँदैछ ?

— स्वतन्त्र राजनीतिक समूहलाई पार्टीको रूपमा गठन गर्ने पनि हाम्रो विकल्प मध्येको एक हो । त्यसका अहिले हामी कुनै गृहकार्य गरेका छैनौं । व्यापक छलफल हुनुपर्छ, हतारमा त पार्टी घोषणा हुँदैन, केही समय लाग्छ । यदि नेकपासँग हाम्रो सकारात्मक कुरा भएन भने अन्तिम विकल्प पार्टी गठन नै हो ।

० मधेशमा वैकल्पिक शक्तिको आवश्यक्ता देख्नु हुन्छ ?
— कुनै चीजको आवश्यक्ता महसुस भएर नै उत्पादन हुने हो । मधेशले यदि वैकल्पिक शक्ति महसुस गर्छ भने हामी त्यही हिसावले अगाडि बढ्छौं । तर, हामी चाहन्छौं कि अहिलेको दुई तिहाई बहुमतको सरकारले नै मधेशको समस्याहरू समाधान गरोस् ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया