संघीयताको जननी भएकाले ससफोले मात्रै यसलाई सही दिशा दिन सक्छ : सहअध्यक्ष श्रेष्ठ

राजनीति

       


काठमाडौँ, २७ माघ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूले जन्माएको सन्तानको माया आमालाई बढी भएजस्तै संघीयताको माया पनि जन्माउनेलाई नै बढी हुन्छ भन्दै ससफो नेपालले नै त्यसको प्रसव बेदना सहेको बताए ।

उनले भने, ‘संघीयताको जननी र यसका लागि लडेको पार्टी भएकाले ससफोले मात्रै यसलाई सही दिशा दिन सक्छ ।’

श्रेष्ठले उक्त कुरा संघीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं २३ को प्रथम वडा अधिवेशनको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले प्रदेशको मातहत हुनुपर्ने सेवा प्रदायक जिल्ला कार्यालयहरू केन्द्रको मातहत सञ्चालन गरेकोमा आलोचना गर्दै भने, ‘यो संघीयतालाई समाप्त गर्ने ग्रान्ड डिजाइन हो । गृह, शिक्षा, स्वास्थ्य लगायत सबै जिल्ला कार्यालयहरू प्रदेश मातहत नै हुनु पर्दछ । संघीय व्यवस्था आइसकेपछि प्रदेश सरकारलाई बाइपास गरी केन्द्रले सिडिओ सञ्चालन गर्नु हुँदैन’ ।

प्रमुख अतिथि श्रेष्ठले संघीय समाजवादी फोरम सिद्धान्त, सङ्गठन र कार्यशैली सबै हिसावले नयाँ राजनीतिक शक्ति भएको बताउँदै यो काङ्ग्रेसभन्दा लोकतान्त्रिक र कम्युनिष्टभन्दा क्रान्तिकारी पार्टी मात्र नभई दुबै पार्टीभन्दा परिवर्तनकारी समेत भएको दावी गरे । उनले आजको युगको अभिभारा पूरा गर्न ससफोमा गोलबन्द हुन पनि आह्वान गरे ।

वडा समितिका अध्यक्ष आसकाजी महर्जनले अध्यक्षता गरेको उक्त अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समिति प्रमुख डा. महेश मान श्रेष्ठ, ३ नम्बर प्रदेशका अध्यक्ष लाल वहादुर तामाङ, उपाध्यक्ष न्हुच्छेलाल महर्जन, केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज पवित्र बज्राचार्य, नेपाली काङ्ग्रेसका कामपा २३ का अध्यक्ष लक्ष्मण मानन्धर आदिले पनि आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा काठमाडौँ जिल्ला समितिका उपसचिव प्रेम शिल्पकार र सदस्यहरू सृजन श्रेष्ठ, मंगल रत्न ताम्राकार, राजाराम तण्डुकार, सुरज महर्जन, ओमरत्न ताम्रकार, शर्मिला डंगोल तथा २३ वडाका निर्वाचित वडा सदस्य द्वय गोपाल नापित र कञ्चना हरीको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया