ईपिजीको प्रतिवेदन कार्यान्वयनमा जान्छ : राजदुत आचार्य

राजनीति

    10 February, 2019   

काठमाडौं, २७ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।

काठमाडौंमा भएको विशेष साक्षात्कारमा बोल्दै उनले ईपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे । आचार्यले भने,‘प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि हो ।’

नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने सबैको सहमतिका साथ ईपिजी गठन भएको पनि उनले बताए । उनले ईपिजीले तोकिएकै समयसिमाभित्र प्रतिवेदन तयार पारेको स्पष्ट पारे । यद्धपी उनले ईपिजीको प्रतिवेदन दुवै देशको सरकारसमक्ष पेश भइसकेपछि सरकारले यसलाई अध्ययन गर्ने वा कार्यान्वयन गर्ने वा जे गर्ने हो सरकारले गर्ने तर्क गरे ।

भारतसँगको नेपालको व्यापार घाटा घट्नको निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरुमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उनको धारणा छ ।

त्यस्तै नेपालले पर्यटनको विकास गर्नुपर्ने उनको भनाई छ । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि नेपाल र भारतबीच आदान–प्रदान हुनसक्ने सुझाए । आफू भारतसँगको मित्रता बलियो पार्न र दुई देशबीचको सम्बन्धमा केही दुरी छ भने त्यसलाई कम गर्नको लागि केन्द्रित हुने उनको विश्वास छ । उनले भने,‘दुरी कम गर्न केही कारणहरु छन् भने कारणहरु हटाउन र शंकाको वातावरण छ भने शंका निवारण गर्न, विश्वासको वातावरण सिर्जना गर्न र वृद्धि गर्न, केही हामीले गर्नुपर्ने काम बाँकी छन् भने हामीले गर्ने र उताबाट गर्न बाँकी छन् भने उतातिरबाट गर्न जोड दिने । हामीबीच विभिन्न सम्झौता भएका छन् । विभिन्न आयोजनाहरु पूरा गर्ने भएका छन् ।’

नेपाल–भारत सम्बन्धमा राम्रो सम्भावना रहेको पनि उनले सुनाए । उनले भने,‘ती सम्भावनाहरुमा बाधा नआउन् । त्यसलाई हामीले कार्यान्वयन गर्दै जाउँ र हाम्रा सम्बन्ध दुई स्वाधिन सार्वभौमसत्तासम्पन्न अत्यन्तै निकटतम छिमेकी देशका बीचका सम्बन्धसरह एक्काईसौं शताब्दीको उचाईमा पुगुन भन्ने अपेक्षा र त्यसमा सहयोग पु¥याउने र, नेपाल सरकारको परराष्ट्र नीतिलाई एउटा राजदुतवासको प्रमुखको हैसियतले भारतमा कार्यान्वयन गर्ने कुरामा म दत्तचित्त रहनेछु । ’

तपाईको प्रतिक्रिया