असिना पानीका कारण लाखौंको इँटा नष्ट

समाचार

    10 February, 2018   

रौतहट, २७ माघ । विगत दुई दिन लगातार परेको पानीले रौतहटमा सञ्चालित इँटाभट्टामा लाखौंको क्षति पुगेको छ ।

जिल्लाका १ सय ५७ भट्टामा करिब १५ करोडभन्दा बढीको क्षति भएको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले जानकारी दिए ।

गरुडा नगरपालिका ५ मा रहेको उनको एसटीएल इँटा उद्योगमा असिना र पानीले १० लाख काँचो इँटा नष्ट भएको छ । यसैगरी दुर्गा भगवती गाउँपालिकामा रहेको माँ दुर्गा इँटा उद्योगका सञ्चालक मुकुन्द साहको उद्योगमा करिब पाँच लाख काँचो इँटा गलेका उनले बताए ।

असिना र पानीले काँचो इँटा गलेको र गल्न नसकेको इँटाको माथिल्लो भागमा दाग देखिएर गुणस्तर कमजोर भएको छ । इँटामा वर्षाको दाग देखिएपछि पोलेर पनि घटीमा २५ प्रतिशत कम मूल्यमा बेच्नुपर्ने उद्योगीहरुको भनाइ छ । इँटा पोल्ने कोइला र दाउरा पनि भिजेका छन् ।

गत वर्षको बाढीले पनि जिल्लाको इँटा उद्योगमा ६ करोडको क्षति पु¥याएको थियो । जिल्ला दैवी प्रकोप कार्यालयको प्रतिवेदनमा पनि जिल्लामा इँटा उद्योगमा ६ करोडको क्षति भएको भन्दै प्रतिवेदन बुझाएको तर सरकारले उद्योगीलाई क्षतिपूर्ति नदिएको गुनासो पनि अध्यक्ष साहले गरेका छन् ।

तपाईको प्रतिक्रिया