भिजन, रिजन र एक्सन सबै छ : उदयकुमार बरबरिया यादव

नगरप्रमुख, शहीदनगर नगरपालिका, धनुषा

स्थानीय सम्वाद्

    प्रकाशित मिति : २०७५ फागुन १० गते शुक्रबार   

० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कस्तो महसुस गरिरहनुभएको छ ?

— म जनप्रतिनिधिको रूपमा काम गर्दा एकदम गौरवान्वित महसुस भइरहको छ । मलाई सबै नेपालकै कान्छो मेयर भनेर पनि भन्छन् । कान्छो मेयर भएर पनि शोषण दमनमा परेका जनतालाई सेवा प्रदान गर्दा गौरवको अनुभूति भइरहेको छ ।

० तपाइँ काम गरिरहँदा कतिको चुनौती वा अप्ठ्याराहरू महसुस गर्नुहुन्छ ?

— मेरो विचार काम गर्न भिजन, रिजन र एक्सन चाहिन्छ । यी तीन वटा कुरा यदि स्पष्ट छ भने काम गर्न केही अप्ठ्यारो छैन । काम गरिरहँदा विभिन्न बाधा र अड्चनहरू आउँछन् तर भिजन प्रष्ट भएपछि अवश्य नै गन्तव्यमा पुगिन्छ । हामीलाई जनताले विकास गर्नका लागि निर्वाचित बनाएको हो ।

० तपाइँले निर्वाचनका बेला कस्ता–कस्ता नारा दिनुभएको थियो ?

— अन्य पार्टीको जस्तो नाराहरू दिएको थिइनँ । म एउटा युवा भएको हुनाले मैले जनतालाई भनेको थिएँ कि ‘सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहीदनगर’ । यही नाराको वरिपरि रहेर म काम गरिरहेको छु ।

० शहीदनगरलाई समृद्ध बनाउने योजनाहरू के–के छन् ?

— शहीदनगरलाई समृद्ध बनाउन मैले मास्टरप्लान बनाएको छु । म आफै पनि सिभिल इन्जिनियर छु । त्यसैले मैले सुरूमा जनताका आधारभूत आवश्यक पूरा ग¥यौं । म जुन क्षेत्रबाट प्रतिनिधित्व गर्छु, यो क्षेत्रलाई मधेशको रोल्पा–डोल्पाको रूपमा चिनिन्छ । पहिला वर्षायाममा बाटोघाटोमा हिलैहिलो हुन्थ्यो । त्यसमा सुधार ग¥यौं । हामीले सुरूमा बाटोघाटो बनायौं । हामीले आरसीसी र पीसीसी ढलानहरू ग¥यौं । अहिले हाम्रो नगरपालिकाको हरेक वडाहरूमा पोलिङ्ग भएर बिजुली पुगिसकेको छ । यसभन्दा हामीले गत वर्षका अधुरा कामहरू पूरा गर्न लागेका छौं । हामीले यहाँ पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्दैछौं । त्यस्तै, कृषिलाई आधुनिकीकरण कसरी गर्ने, कृषकलाई तालिम दिने लगायतका कामहरू पनि अगाडि बढाएका छौं । प्रदेश २ मा जम्मा २ वटा मात्र सुपरजोन छन् । एउटा बाटा जिल्लामा छ भने अर्को हाम्रो शहीदनगर नगरपालिकामा छ । त्यसलाई स्तरोन्नतिका लागि जोड दिइरहेका छौं ।

० तपाइँको कामबाट त्यहाँका जनता कतिको सन्तुष्ट छन् ?

— जनता एकदम सन्तुष्ट छन् । जनतालाई विकास चाहिएको छ । गत आर्थिक वर्षमा हामीसँग सीमित बजेट थियो, त्यहीं बजेटबाट धेरै विकास गरेका छौं ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा कतिको महसुस गरेका छन् ?

— यहाँका जनताले सिंहदरबार गाउँ–गाउँमा महसुस गरेका छन् । यो नाराबाट जनताको घरदैलोमा पुगेको छ । काम गर्दा केही बाधा अड्चन आउँछन् । स्थानीय सरकार सञ्चालन ऐन छन्, त्यसमा टेकेर काम गर्दा कुनै अप्ठ्यारो परेको छैन ।

० करिब दुई दशकदेखि जसरी जनप्रतिनिधिविहीन थियो, कस्ता बेथितिहरूको सामना गर्नुप¥यो ?

— लामो समयदेखिको जनप्रतिनिधिविहीनताका कारण धेरै समस्याहरू थियो । जनताले आफ्नो काम गराउन एकदमै अप्ठ्यारो हुन्थ्यो । केही समस्या पर्दा सिडियो कार्यालय गुहार्नुपर्दथ्यो । तर, अहिले केही समस्या पर्दा वडा कार्यालयहरूबाट जनताले सेवा लिइरहेका छन् । हामीले न्यायिक समिति पनि गठन गरिसकेका छौं । त्यसैले जनताले महसुस गरिरहेका छन् कि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगिसकेको छ ।

० प्रदेश र केन्द्र सरकारसँग कतिको तालमेल हुन्छ ?

— दुईटै सरकारसँग हाम्रो राम्रो तालमेल भइरहेको छ । किनभने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा म उहाँको स्वकीय सचिव भएर काम गरेको थिएँ । म निर्वाचनमा लड्नुभन्दा पहिला नै प्रधानमन्त्री कार्यालयबाट बजेट ल्याएर म आफ्नो नगरपालिकामा धर्मशाला, मन्दिर, बाटोघाटो ढलान लगायतका काम गरेको थिएँ । त्यो अनुसारले पनि यस नगरपालिकामा केन्द्रबाट पनि बजेट आइरहेको छ । म कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचित भएर पनि आफ्नो क्षमता, योग्यताका आधारमा प्रदेश सरकारसँग पनि सहकार्य भइरहेको छ । त्यसैले काम गर्ने मान्छेलाई कसैले रोक्न सक्दैन । अहिले हामी कुनै पार्टीको प्रतिनिधि भएर काम गरिरहेका छैनौं । यस नगरपालिका सबै जनताका प्रतिनिधिको रूपमा काम गरिरहेको छु ।

० तपाइँ आफ्नो कार्यकालमा शहीदनगर नगरपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?

— म आफ्नो कार्यकालभित्र शहीदनगर नगरपालिकालाई ‘सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहीदनगर’ बनाउने अठोट लिएको छु । यसलाई नै टारगेट बनाएर हामी काम गरिरहेका छौं । म अरूजस्तो गफ मात्र दिन चाहन्न । काम गरेर देखाउँछु । धनुषा जिल्लामा कामकाज गर्नेमा मेरो नाम दोस्रो नम्बरमा आएको छ । मेरो लक्ष्य एक नम्बरमा पुग्ने हो । यो नगरपालिकालाई म स्मार्टसिटीको वरिपरिमा पु¥याउँछु । म स्मार्टसिटी नै बनाउँछु भनेर गफ दिन चाहन्न । किनभने पाँच वर्षभित्रै स्मार्टसिटी बन्न सक्दैन । यसका लागि कम्तीमा दश वर्षभन्दा बढी समय लाग्न सक्छ । हामी यस वर्ष आफ्नो योजनाअनुसार काम गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया