मधेशको समृद्धि

सम्पादकीय

       

विविध सम्भावना भएर पनि प्रदेश २ अहिलेको अवस्थामा अन्य प्रदेशभन्दा पछाडि छ । राष्टिूय योजना आयोगले सार्वजनिक गरेको तथ्यांकमा यो प्रदेशमा जनसंख्याको झन्डै आधा अर्थात ४८ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । चुरे दोहनको कारण मधेशको उत्पादकत्व घट्दै जानु र कृषिमा आधुनिकीकरण हुन नसक्नु गरिबीको मुख्य कारण हो । दाईजो प्रथा व्याप्त हुनु, उद्योगधन्दाहरू बन्द हुनु, बेरोजगारीको समस्या बढ्दै जानु, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकासका पूर्वाधारहरूमा एकदमै पछाडि पर्नु, सुगम भएर पनि सडकको अवस्था जीर्ण हुनु, भारतसँगको खुल्ला सीमाका कारण लागुऔषधको कारोबार बढ्दै जानु जस्ता विविध कारणले गर्दा पनि प्रदेश २ लाई नमूना प्रदेश बनाउन चुनौतीपूर्ण देखिन्छ । शिक्षामा कमजोर देखिएको यो प्रदेशमा प्राविधिक विश्वविद्यालय खोलिनुपर्छ भने उद्योग धन्दाका लागि आवश्यक जनशक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्छ । राजनीतिक दलहरूले विकासको मुद्दालाई पछाडि पार्दै राजनीतिक मुद्दा मात्र अगाडि बढाएको हुनाले पनि २०६२÷६३ सालदेखि सुरू भएको मधेश आन्दोलनले मधेशको विकासमा खासै भूमिका खेल्न सकेन ।

प्रदेशले जे प्राप्त गरेको छ र जे जस्ता स्रोत, साधनहरू उपलब्ध छन्, त्यसैका आधारमा समग्र विकासमा ध्यान दिनु अबको आवश्यक्ता हो । पहिचान र अधिकारको मागसँगै चेतना, शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव सूचकांक, सार्वजनिक प्रशासन, सुशासन, जवाफदेहिता, रोजगारीको सिर्जना लगायतका विषयमा गम्भीर हुन जरूरी छ । प्रदेशको समग्र विकासको लागि सबै तहतप्काबाट साझा संकल्प र गुरूयोजनाका आधारमा अघि बढ्न ढिलाइ गर्नु हुँदैन । प्रदेश २ को विकासमा अब स्थानीय सरकारदेखि केन्द्रबाट पनि पहल हुन जरूरी देखिन्छ । प्रदेश २ लाई अवसरको रूपमा प्रयोग गर्न सकेमा प्रशस्त सम्भावना रहेको छ भने राजनीतिक नेतृत्वले सही नीति ल्याउन नसकेको खण्डमा अहिलेभन्दा कमजोर अवस्थामा पुग्न सक्छ प्रदेश नम्बर २ । कृषि उत्पादन वृद्धि, गुणस्तरीयता, प्रशोधन र बजारीकरणका आधारहरू खडा गर्न सकिन्छ । किसानहरूलाई अधिकारसम्पन्न र व्यावसायिक बनाउन सके अन्न, तरकारी, फलफूल, जडिबुटीको उत्पादन बढ्न सक्छ, जसले सिंगो मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सक्छ ।
हुलाकी राजमार्ग यो प्रदेशको मात्रै नभएर समग्र तराई(मधेशको आधारभूत सडक र लाइफलाइन समेत हो । पूर्व पश्चिम हुलाकी मार्ग र उत्तर दक्षिण जोड्ने सहायक मार्गहरूले मधेशको समग्र विकास र समृद्धिको लागि बहुआयामिक महत्व राख्दछ । यसको निर्माण प्रक्रियामा देखिएको ढिलासुस्तीलाई हल गरी तीव्रता दिँदा मधेशमा विकासका अन्य कार्यहरू अगाडि बढाउन सजिलो हुन्छ ।

मधेशको विकासमा अर्को सम्भावना जनकपुर–जयनगरमा निर्माणाधीन रेलमार्ग पनि हो । यो रेल मार्ग सम्पन्न भएसँगै भारतीय पर्यटकको संख्यामा स्वत वृद्धि हुन्छ भने मधेशमा रहेका पर्यटकीय स्थानहरूको अन्तर्राष्ट्रिय समूदायमा चर्चा परिचर्चा बढ्दै जान्छ । । जनकपुर, लुम्बिनी, सिम्रौनगढ जस्ता महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलहरू प्रदेश २ मा नै छ । सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापारिक नाका पनि प्रदेश २ मै छ । मुलुकको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत कारोबार र औद्योगिक लगानीको ७० प्रतिशत हिस्सा वीरगन्जले नै ओगटेको छ । यो नाकाले मुलुकको कुल राजस्वमा ५४ प्रतिशत योगदान दिँदै आएको छ । सम्भावनाहरूलाई पहिचान गर्दै अगाडि बढ्ने हो भने प्रदेश २ अन्य प्रदेशभन्दा कमजोर छैन ।

तर यहाँ भएका सम्भावनाहरूलाई केल्याएर कार्यान्वयनमा लैजान यो प्रदेशबाट निर्वाचित भएका प्रतिनिधिहरूको पहिलो दायित्व हो । नेपाललाई अतिकम विकसित मुलुकबाट सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सरकारकोे छ । तर, झण्डै एक चौथाइ जनता गरीबीको रेखामुनि रहेको, पूर्वाधार विकास न्यून रहेको, मुलुकको कुल गार्हस्थ्य उत्पादनको आकार सानो रहेको र त्यसमा पनि आर्थिक वृद्धि दर अत्यन्त कमजोर रहेको अवस्थामा सरकारको लक्ष्य अत्यन्त महत्वाकांक्षी भन्ने धेरैको बुझाइ छ । उक्त लक्ष्य पूरा गर्न भए पनि प्रदेश २ को आर्थिक विकास र समृद्धि आवश्यक छ । यसका लागि सम्बन्धित सबै पक्षबीच उच्चस्तरको समन्वय, सहकार्य र एकता हुनै पर्छ । यस कार्यमा मुख्यतया राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरू जिम्मेवार बन्नुपर्छ । स्थायी सरकार मानिने कर्मचारी प्रशासनले पनि मुलुकको दिगो विकास र समृद्धिका लागि ठोस कार्ययोजना र कार्यक्रम बनाई, त्यसको प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि राजनीतिक स्थायित्व र सरकारले स्पष्ट आर्थिक दृष्टिकोण अगाडि ल्याउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया