पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाम आउँदै, मधेशकेन्द्रित देशको राजनीति

राजनीति

       

जनकपुरधाम, २९ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आउन लागेका छन् ।

उनी बुधबार साँझ जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको बताइएको छ । उनी बुधबार जनकपुरमा बास बसेर बिहीबार सर्लाहीको मलङ्गवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने र जनकपुरमै बास बस्न फर्किने भ्रमण तालिका रहेको छ ।

त्यस्तै उहाँले चैत १ गते जानकी मन्दिरमा, २ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिर र ३ गते सप्तरीको सखडा भगवतीको मन्दिरमा पुजापाठ एवं दर्शन गर्ने कार्यक्रम रहेको स्रोत बताएको छ ।

डा.सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिपछि मधेशमा राजनीतिक शक्तिहरुको क्रियाकलाप बाक्लिएको छ ।

डा.राउतसँग सम्झौता भएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टीले रौतहटमा आमसभाको आयोजना गरेको थियो ।

यस्तै, पूर्वपत्रकार रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले मधेश मन्थनको नाममा मधेशमा अभियान चलाउँदैछ भने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि मधेश दौडाहामै छन् ।

एकपछि अर्को राजनीतिक घटनाक्रमले देशका सम्पूर्ण राजनीतिक शक्ति मधेशकेन्द्रित हुँदै गएको देखिएको छ । पूर्वराजाको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया