भारतद्वारा २०० नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान

समाचार

       

काठमाडौं, ३० फागुन । काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुलेMBBS, BDS, BE, BSc, BBA, BCom लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे । नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हाँसिल गर्न सल्लाह दिए । उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउनेछ उनले भने ।

सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो । यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ ।

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत MBBS/ BDS को विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेरु ४०००/- BE को विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु ४०००/- र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेरु ३०००/- प्राप्त गर्नेछन् । हाल सम्म नेपालका ७७ जिल्लाका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया