कांग्रेसका मधेशी नेताहरु बन्धुवा मजदूर मात्र हुन् (विचार)

ओमप्रकाश सर्राफ

नेपाली कांग्रेसको १३औ महाधिवेशनमा प्रदेश नम्बर २ अर्थात हालको मधेश प्रदेशबाट रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । दुबै नेतागण पहाडी मूलका व्यक्ति हुन् । यसबाट यो स्पष्ट भएको छ कि नेपाली कांग्रेसमा आज पनि कोहि मधेसी नेता बनिसकेको अवस्था छैन । नेपाली कांग्रेसमा लागेका मधेशीहरु सबै कि कार्यकर्ता हुन या बन्धुवा मजदूर हुन् ।

अहिलेसम्म नेपाली कांग्रेसले तराई मधेशलाई आफ्नो भोट बैंकको थलो मान्दै कथित मधेशीको हितैसी देखाउन प्रयास गर्ने गरेको छ । तर जमिनमा त्यो कुरा न अहिलेसम्मको नीति तथा कार्यक्रममा अभ्यास गरिएको छ न कुनै अधिवेशनबाट त्यस्तो नीति निर्माण तहमा मधेशी पुगेको अवस्था छ । मधेशी कोटाबाट मधेशीहरुलाई नै हराएर पाँच जना मधेशीहरु निर्वाचित भएका छन्, भने मुस्लिमलाई नै हराएर फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा मधेशीहरुलाई नै हराएर सीतादेवी निर्वाचित भएकी छिन् । छ जना महिलाको कोटा र पाँच जना दलित कोटामा एकजना पनि मधेशी निर्वाचित भएन भने खुलाको २५ कोटाबाट विमलेन्द्र निधि एक्लै विजेता हुन् भने कुल मिलाएर अहिलेसम्मका पदाधिकारीसहित ६४ जना केन्द्रीय सदस्यमध्ये सबै आरक्षण कोटा गरी जम्माजम्मी एक जना पदाधिकारीसहित आठ जना मधेशीहरु केन्द्रमा स्थान पाएका छन् । अब मनोनीत हुने एकाइस केन्द्रीय सदस्यको समावेशिता हेर्न बाँकी नै छ ।

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै मधेश नेपाली कांग्रेसको उद्गमस्थल र मतको उर्वर भूमिको रुपमा रह्यो तर कांग्रेसले मधेशलाई जहिले पनि उपेक्षा गरिरहे । राणा सासनको अन्त्यपछि सबभन्दा बढी सत्ता संचालकको रुपमा कांग्रेसकै सलतनत र उत्तराधिकारीहरुले शासनमा कब्जा जमाएर बसे । बहुदलीय व्यवस्थामा त नेपाली कांग्रेसले लगभग एकछत्र राज गरे तर जहिले पनि कहिले आन्तरिक द्वन्द्व त कहिले राजनीतिक अस्थिरताका कारण समग्र राष्ट्रलाई नै बन्धक बनाएर राखे । स्व. गिरिजाप्रसाद कोइरालालाई माओवादीसँग बृहत् शान्ति सम्झौताका श्रेय दिइन्छ तर नेपालमा माओवादीलाई जन्म दिने, हजारौं नेपालीको ज्यानै जाने गरी जनयुद्ध गराउने, अर्बौंको धनजनको क्षति गराउने गरी आन्तरिक युद्धको अवस्था सिर्जना गर्ने पक्षमध्ये नेपाली कांग्रेस पनि एउटा हो भने कुरा नकार्न सकिदैन ।

बहुदलीय ब्यवस्थापछि सबैभन्दा बढी अवसर नेपाली कांग्रेसले नै प्राप्त गरेको हुनाले नेपालको अहिलेसम्मको अवस्थाको जिम्मेवारी पनि नेपाली कांग्रेसले नै लिनु पर्ने हुन्छ ।

जहाँसम्म मधेश आन्दोलनको सन्दर्भ छ ,जुन नेपाली कांग्रेसका कार्यकर्ताहरु कांग्रेस सुप्रिमो सुशील कोइराला र देउवाको शव (पुतला दहन) यात्रामा सरिक हुँदै ‘जय मधेश’ भन्दै मधेशमा ब्लैक आउट र मानव साङ्लोमा सहभागी भएका थिए । त्यहीं कार्यकर्ताहरु वीर मधेशी शहीदको अपमान गर्दै पुनः गाउँ–गाउँमा नेपाली कांग्रेसको झण्डा बोक्न बाध्य भयो । आखिर यो कुन जन्जीरले बाँधिएको “दास्ताको जन्जिर हो” जसलाई तोड्नलाई हामी स्वाभिमानीको अस्त्र प्रयोग गर्न सकिरहेका छैनौं । जबसम्म मन मस्तिष्क गुलामीबाट स्वतन्त्र हुँदैन तबसम्म न गरिबीबाट मुक्त हुन सकिन्छ, न भ्रष्टाचारबाट, न अशिक्षाबाट, न बेरोजगारीबाट मुक्ति प्राप्ति हुन्छ ।
(लेखक ः युवा गठबन्धन पर्साका सल्लाहकार एवम् संयोजक मधेश अध्ययन केन्द्र नारायणी जोन)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com