देशलाई निकास देऊ

संविधान कार्यान्वयनको चुनौती यतिबेला देशको सामु उपस्थित छ । घोषित संविधानको प्रावधान अनुसार २०७४ माघ ७ गतेसम्म देशमा ३ वटै चुनाव सम्पन्न भइसक्नुपर्छ । अन्यथा यो संविधान कार्यान्वयन नभएको मानिने भनेर संविधान बनाउने शीर्ष नेताहरूकै अभिव्यक्ति सार्वजनिक हुँदै आएका छन् । संविधान कार्यान्वयन भएन भने सरकारमा बसेका दल मात्रै होइन संविधान बनाएर प्रतिपक्षमा बसेका दलहरूको हैसियत समाप्त मात्रै होइन देश भड्खालोमा फँस्ने आंशका बढ्दै गएको छ । केही नेताहरूले सार्वजनिक गरेका अभिव्यक्ति अनुसार भारत र चीन एसिया महादेशका जुम्ल्याहा शक्तिशाली अर्थतन्त्र भएको देशको रूपमा उदाउन लागेको बेला यी दुईका अहित चाहने तत्वहरूको प्रतिस्पर्धा नेपालमा गतिशील हुन थालेको छ । भारत विरोधीहरूले भारतको विरोधमा जेसुकै गर्न सक्ने आँकलन गर्न थालिएको छ ।

नेपालमा हुने अवाञ्छित गतिविधिको असर चीनको भन्दा भारतलाई बढी पर्नेमा कुनै शंका छैन । नेपाल भारतको खुला सिमाना भएकोले अवाञ्छित गतिविधिमा संलग्नहरूलाई भारतीय भूमिको उपयोग गर्न सहज हुन्छ भन्नेमा कसैको शंका छैन । भारतले पहिलो पटक मधेशको हितलाई राजनीतिक प्राथमिकतामा राखेर आन्दोलन गरेका दलहरूको आन्दोलनलाई सदभाव व्यक्त गरे यता नेपालका राजनीतिक दलहरूले आन्दोलनलाई भारतसञ्चालित र ती राजनीतिक दललाई भारतीय दलालका आरोप व्यक्त गरिएका छन् । मधेशमा ५ दर्जन मधेशीहरूको गोलीले ज्यान लिँइरहँदा कयौंका लागि पाकेको आप खसेको ख्याल ठट्टा बन्न पुगेको धेरै टाढाको विगत होइन । अहिले आन्दोलनकारी दलहरूसँग ३ बुँदे सम्झौता गरिएको छ । त्यसअनुरूप संविधान संशोधन गरिने वचन दिइएको छ । यो वचन सत्तारूढ दलको प्रयासबाट मात्रै पूरा हुने होइन । सत्तापक्ष र प्रतिपक्ष दुबैको सहयोगबाट संविधान संशोधन सम्भव छ । यो सत्तामा मधेशी आदिवासी जनजातिलगायतका पहिचानहीनहरूको अधिकारलाई सुनिश्चित गराउँछ ।

यो एक अवसर हो । आआफ्ना राजनीतिक दाउपेच चल्दा भए गरेका कमीकमजोरीलाई सच्याएर मधेशीहरूको यो भूमिमा समान अधिकारलाई व्यवहारमा उतार्न चाहिएको संविधान संशोधनलाई सुनिश्चित गरी देशलाई निकास दिनुपर्छ । निसन्देह यसले देशका सबै द्वन्द्वलाई समाप्त गरिहाल्छ भन्ने छैन । तर संविधानसभामा सहभागी दलहरूको सबै दलको समर्थन प्राप्त गर्न सम्भव हुन्छ । जसको आडमा देशलाई आर्थिक विकास र समृद्धिको दिशामा डो¥याउन सहज हुने देखिएको छ । त्यसैले संविधन बनाउनेहरू देशलाई निकास देऊ ।

प्रकाशित मिति : २०७३ साल असोज १४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com