शक्ति–समृद्धि–बुद्धिदायिनी देवीले सुबुद्धि दिऊन्

शान्तिले शक्तिलाई समृद्धि पार्छ

पञ्चायतको पतनयता निरन्तर उथलपुथल र युद्धबाट अद्योगति तर्फ ओर्लिएको नेपाली अर्थतन्त्रलाई नउकासिकन शक्ति र समृद्धिको स्थापना देशभित्र हुन्छ भन्नु बुद्धिभ्रष्ट हुनु हो । शान्ति र स्थिरता अर्थतन्त्रका चालक शक्ति उद्योगी व्यवसायीहरूका लागि अनिवार्य शर्त हुन् । उद्योग व्यवसायको निरन्तर सञ्चालन नभए अर्थतन्त्र उभो लाग्नेबारे सोच्नु भनेको दिउँसै चहकिलो घाममा तारा खोज्ने काम गर्नु हो । देशले लामो राजनीतिक परिवर्तनको बाटोलाई टेको दिने गरी विवादित भएपनि संविधान पाएको छ । संविधान कालो, सेतो, रातो, पहेलो, हरियो जेभएपनि देशमा बनेको छ ।

संविधानका बारेमा अधिकार विपन्न समुदायको तर्फबाट असन्तुष्टि व्यक्त मात्रै भएका छैनन् । ५ दर्जन बढी मानिसको शहादत समेत भइसकेको छ । तर पनि राजनीतिक दलका नेताहरूका अभिव्यक्ति मगज बिग्रेकाहरूको जस्तो सार्वजनिक भइरहेका छन् । तिनका अनुयायीहरूले पनि नेताको बोलीमा लोली मिलाउने काम गरे स्थिति झन् बिगार्ने काममा लागेका छन् । मूलरूपमा एमाले नेतृत्वमा भएका राजनीतिक दलले मधेशीहरू बाह्य शक्तिबाट उचालिएर आन्दोलन गरेको मात्र हो ।

वास्तवमा सबै अधिकार दिइसकिएको छ । मधेशीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक सत्ताभित्र मधेशीहरूले पाउने समानता, समावेशी र समन्यायमा आधारित अधिकार प्राप्त नगरेको बताउँछन् । एमाले एन्ड कम्पनीले यसलाई अस्वीकार गर्छन् । तर यसलाई विवादित बनाएर लाने काम गरिएको छ । यो देश र जनताका लागि अहितकर हुनेछ । राज्यसँग आफ्नो टेलिभिजन र रेडियो छ । टेलिभिजन र रेडियोमा सबै दलका नेताहरूलाई संविधानमाथि क्रिटिकल भएर आआफ्ना असन्तुष्टि जाहेर गर्न लगाई राज्यले समस्याको निकास खोज्न सक्छ । सके देशमा बिदा नै दिएर यो कार्यक्रम गराउन सक्छन् ।

त्यसो गर्न नसके जसरी पनि यो दशैंको विदामा नेताहरूले आग्रह पूर्वाग्रह छाडेर समस्याको समाधान गर्न मधेशीहरूलाई वास्तविक नेपाली राष्ट्रियताको मूलधारमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा समावेश गर्ने जुक्ति झिक्नुपर्छ । यसले शान्ति निर्माण गर्छ । शान्तिले शक्तिलाई समृद्धि पार्छ । यो समृद्धिले अर्थतन्त्रलाई बलियो पार्छ । यसका लागि शक्ति–समृद्धि–बुद्धिकी देवीले सबैलाई सुबुद्धि दिऊन् । दशैंमा सबैलाई शुभकामना ।
प्रकाशित मिति : २०७३ साल असोज २१ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com