धैर्य गुम्न नदिऊँ

मधेशमा हिंसा भड्कियो भने यो त्यसको रापले समगरमाथाको हिमशिखर समेत पग्लिन सक्छ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूलाई संविधान संशोधन विधेयक दर्ता गराउने विषयमा पटक–पटक ढाँट्दै आएको समाचार सार्वजनिक मात्रै भएको छैन सत्तारूढ नेपाली कांग्रेसका सांसद फरमुल्लाह मंसुरले संविधान संशोधन गरी मधेशीहरूको माग सम्बोधन नगरिए पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै नेपालबाट मधेश टुक्रिन सक्ने बताएका छन् । सांसद मंसुरले कुनै कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छैनन् ।

उनले व्यवस्थापिका संसदमा समय लिएर यो शब्द बोलेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूको बोलीमा सत्तारूढ र सदनको सबैभन्दा ठूलो दलका सांसदका रूपमा मंसुरले यस्तो बोलेका हुन् । उनले भनेका छन् मधेशमा भएको आन्दोलनमा मोर्चा मात्रै थिएन आम मधेशीहरूको सहभागिता थियो । त्यसमा कांग्रेसका मधेशी कार्यकर्ताहरू पनि थिए ।

आफूहरूले आफ्ना नेताबाट मधेशको माग सम्बोधन हुन्छ भनी पाएको आश्वासनमा विश्वास गरी संविधानलाई अहिलेसम्म समर्थन गरिरहेको विषयलाई मंसुरले सदनलाई प्रस्टरूपमा जनाएका छन् । कुनै दलका नेता विशेषले मधेशको समस्या समाधान भइसकेको छ संशोधनको औचित्य छैन भन्नु मंसुरले भनेजस्तै पृथकतावादी संकल्पलाई महायज्ञमा घ्यूको होम दिनु हुनेछ ।

मधेशीहरू नेपालमा बस्न चाहन्छन् । मंसुरको अभिव्यक्तिले आम मधेशीहरूको धैर्यको सीमा समाप्त हुने विन्दुतिर गइरहेको छ । यसलाई समयमै बुझ्नु राम्रो हुनेछ । मधेशमा हिंसा भड्कियो भने यो मधेश मात्रैलाई जलाउने छैन त्यसको रापले समगरमाथाको हिमशिखर समेत पग्लिन सक्छ । यो अवस्थालाई बेलैमा सोच्नु भनेको मंसुरलगायत मधेशका नेताहरूको चिन्ताको समयमा बुझेर तदनुरूप कार्य गर्नु बुद्धिमानी हुनेछ । त्यो भनेको मधेश र मधेशीहरूको धैर्यलाई गुम्न नदिउँ ।


प्रकाशित मिति :२०७३ साल कार्तिक ५ गते शुक्रबार ।

 

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com