मुद्दाकेन्द्रित होऊ

मधेशकेन्द्रित दलका लागि लोकमान प्रकरण चासोको विषय होइन


मधेश आन्दोलनका मुख्य एजेन्डा संविधान संशोधनमार्फत् मधेशी जनताको हक अधिकार सुनिश्चित गराउने रहेको छ । कांग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चासँग गरेको तीन बुँदे सहमतिको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि संशोधनबारे अहिलेसम्म खासै प्रगति भएको छैन । अहिले संविधान संशोधन गरेर कार्यान्वयनतर्फ लाग्नुपर्ने बेलामा मुख्य तीन दलले अनावश्यक मुद्दाहरू उठान गरेर संशोधनलाई ओझेलमा पार्ने षड्यन्त्रमा लागेको देखिएको छ ।

तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्र मधेश मुद्दाप्रति कहिल्यै पनि इमान्दार देखिएन । मधेशको हक अधिकार दिने सवालमा तीनै दल तीन ठाउँमा उभिन्छन् । यसैगरी, अहिले अख्तियार प्रमुखलाई महाअभियोग लगाउने सवालमा तीनै दल एक ठाउँमा उभिएका छन् तर, संविधान संशोधनका विषयमा तीनै दल एकले अर्कामाथि आरोप–प्रत्यारोप लगाइ पन्छिने गरेका छन् । अहिले लोकमान प्रकरणले गर्दा संशोधन प्रक्रिया ओझेलमा पर्दै गइरहेकोले मधेशकेन्द्रित दलहरू त्यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । मधेशकेन्द्रित दलका लागि लोकमान प्रकरण चासोको विषय होइन । त्यसैले, यस विषयमा अनावश्यक टिकाटिप्पणी गरिरहनु मधेशको हितमा छैन । मधेशी मोर्चाको सहयोगमा बनेको सरकारले गर्ने क्रियाकलापलाई निगरानी गर्नुपर्ने आवश्यकता छ । मधेशी मोर्चा सरकारमा नभए पनि सत्तापक्षकै हैसियतमा रहेकोले सरकारले गर्ने नियुक्ति, अवसरको बाँडफाँड लगायतका विषयमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार छ कि छैन भन्ने कुरामा निगरानी राख्नुपर्ने हो । मात्र राजनीतिक मुद्दा र आफू मन्त्री बन्ने कुरामा केन्द्रित हुनु भएन । चुनावका बेला मधेशकेन्द्रित नेताहरूले मधेशमा गएर गरेका बाचाहरू पूरा गर्नुपर्ने हुन्छ ।

मधेशी आयोग गठन, सेनामा मधेशीको सामूहिक प्रवेश, राज्यको हरेक अंगमा जनसंख्याको आधारमा पहुँच हुनुपर्ने लगायतका मुद्दाहरू मधेशी नेताका लागि बहसको विषय हुनुपर्ने हो । मुद्दाबाट बाहिर गएर टिकाटिप्पणी गर्नु भनेको मधेशसँग बेइमानी गर्नु हो । अहिले संविधान कार्यान्वयनको समय रहेकोले संविधान संशोधन गराइकन मधेशका विषयवस्तुहरू कसरी समावेश गराउने भन्ने कुरामा मधेशकेन्द्रित दलहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ ।
प्रकाशित मिति : २०७३ साल कार्तिक १२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com