मुखर्जी भ्रमणको समसामयिक बुझाई (बेलाको बोली)

रामसुकुल मण्डल

भारतका राष्ट्रपति प्रणवमुखर्जीको राजकीय भ्रमणको क्रममा अपनाइएको सुरक्षा व्यवस्था र उनको सम्मानमा प्रस्तुत गरिएको स्वागत अहिले फेसबुक र ट्विटरमा आलोचना र टिकाटिप्पणीको विषय बनाइएको छ । यस्ता टिकाटिप्पणीको पछाडि कथित राष्ट्रवादी समूहको मनसाय नेपाल भारतबीचको मैत्री सम्बन्धलाई बिथोल्ने रहेको छ । उनीहरूले यथार्थलाई स्वीकार गर्न नसक्दा यस्ता टिकाटिप्पणीमा व्यस्त रहेको सहज बुझ्ने विषय हो ।

यसको पछाडि उनीहरूले भारतको विरोधको नाममा बाँकी रहेको राष्ट्रिय अस्मितालाई पनि समाप्त पार्ने काममा लागेका छन् । नेपालमा भारतको विरोध अति भइरहेको छ । अनि अतिले अरूलाई होइन आफैलाई खति गर्ने मनसायको उपदेश वाक्य बिर्सेको जस्तो छ –अति सर्वत्र वर्जयेत् ।” आलु देखि भालुसम्म र नूनदेखि खूनसम्म जेसुकैमा भारतीय हस्तक्षेप र विस्तारवाद देख्ने मनरोग नेपाली समाजमा रहेका केही मनरोगविद्हरूको बुझाइ छ ।

यसलाई वयस्कमा देखिने बालहठ पनि भन्ने गरिन्छ । यो बालहठले कुतकुताएर केही मनरोगीहरूलाई भारतीय राष्ट्रपति मुखर्जीको राजकीय भ्रमण बिथोल्ने योजना नबनाइएको भने होइन । त्यो तुहिएपछि अब यसलाई विवादित बनाउने प्रयासमा ती बालहठ मनरोगीहरूको रोग बल्झाइएको जस्तो छ । यो वा त्यो नाउँमा भारतको विरोध त हुनै प¥यो नभए भारतीय राष्ट्रपतिको नेपाल भ्रमण सफल हुनै भएन । तर यस्ता क्रियाकलापहरूलाई नेपालको विकास नै ओझेलमा पर्ने विषयहरूलाई नजरअन्दाज गर्नेहरू राष्ट्रवादी हुन् कि भारतसँगको राम्रो सम्बन्ध बनाएर भोक र गरिबीमा पिल्सिएकाहरूको मुखमा कम्तीमा नियमित माँड लागोस भन्ने सोच बनाएकाहरू अराष्ट्रवादीहरू हुन् ।

“भूखे भजन न होए गोपाला लेलो अपनी कण्ठी माला” उक्त भनाइको अर्थ भनेको भोको पेट भगवानको भक्ति पनि सम्भव हुन सक्दैन भन्ने हो । अहिलेका विद्यमान विश्व साँघुरिएर गाउँ बन्दै गइरहेको छ । अर्थतन्त्र मात्रै होइन मानिस मानिसबीचका सबै सम्बन्धहरू अन्तर्सम्बन्धित भइरहेका छन् । देशहरू एकअर्कामाथि अन्तरनिर्भर भइरहेका छन् । शत्रुदेशहरूले सीमा शत्रुतालाई थाँती राखेर आर्थिक सम्बन्धको सुधारलाई विस्तार गर्न तल्लिन रहेका छन् । यसको उदाहरण अन्यत्र जानै पर्दैन पूर्णस्तरको युद्ध नै लडिसकेको नेपालका दुई छिमेकी चीन र भारतबीच आर्थिक सम्बन्ध निरन्तर विस्तार भइरहेको छ । यी दुईबीचका सीमा विवादहरूलाई थाँतिएका छन् । यो त्यसै भएको होइन । विश्वभरि समस्त सम्बन्धहरू बदलिँदो अवस्थामा रहेका छन् । अमेरिकी महादेशमा कुनै बेला कट्टर शत्रुता कायम रहेको अमेरिका र क्युबाबीचको कुटनीतिक सम्बन्ध पुनः बहाल भएका छन् ।

उनीहरूबीच
आर्थिक सम्बन्ध विस्तार बढदै गएको छ । तर दुर्भाग्य भनेको नेपाल भारतबीचको खुला तथा मैत्री सम्बन्धमा असमझदारका पर्खालहरू यो वा त्यो नाममा उभिएको देखिएका छन् । ती कथित राष्ट्रवादीहरूकै कुरो मान्ने हो भने नेपालले भारतबाट ३ पटकको नाकाबन्दी बेहोरिसकेको छ । यसमा मात्र भारतकै दोष होला र ? यो पत्याउन गाह्रो छ । भनिन्छ झगडा एक्लो हुँदैन र ताली पनि एक्लो हातले बज्दैन । नेपालका लागि चीन र भारत दुबै हात्ती नै हो । त्यसमा पनि खुला बाटोमा उभिएको हात्ती नै हो । त्यसलाई अनावश्यक जिस्काएर न त अंकुश लगाउन सकिन्छ न त प्रेम एवं सौहार्दताको अनुभव गराउन सकिन्छ । यो विषयको हेक्का राख्नुपर्छ । यसको अर्थ भनेको भारतसँग भएका मतभेदलाई ठीक ढंगले बुझ्नु र त्यसको हल गर्नु हो ।

भारतसँग नेपालको बारेमा भएको अविश्वासलाई झन् विस्तार गरेर वा गहि¥याएर नेपाललाई हित हुन सक्दैन । अहिलेको अवस्था यो झन् बढेर गएको छ । चीन विश्वको शक्ति सम्पन्न राष्ट्रको रूपमा उदाइरहेको छ । अर्कोतर्फ भारतले त्यसलाई पछ्याइरहेको छ । विश्वको शक्तिसम्पन्न राष्ट्रहरूको दृष्टिकोण चीन र भारतप्रति डोरिएको अवस्था छ । त्यसमा पनि केही वर्षयता देखि चीनको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) सुस्त भइरहेको अवस्थामा विश्वको ध्यान भारततर्फ ढल्किएको छ ।



चीनकै पनि लगानी भारतमा बढदै गएको छ । यस्तो अवस्थामा नेपालको सम्बन्ध भारतसँग हुनुपर्ने विश्वासिला आधारहरूको आवश्यकता बढी हुनुपर्ने ज्ञान ती कथित राष्ट्रवादीहरूलाई हुनुपर्ने हो । कुनै पनि बेला नेपालको उत्पादित बाली निर्यात गरिन्छ तर अहिले कृषि क्षेत्रको कुनै पनि वस्तुमा नेपाल आत्मनिर्भर भएको कुरो विश्वसनीय हुन गाह्रो छ । यस्तो अवस्थामा छौं हामी । अधिकांश नेपालीहरूका लागि भारतीय बजार अहिले बढीमा २४ देखि ४८ घन्टासम्मको होला । अझ निर्माणाधिन सडकसञ्जाल समयमा पूरा हुने हो भने यो समयावधि अझ घटेर जाने सम्भावना त्यतिकै छ ।

यस्तोमा हाम्रो आर्थिक समृद्धिको सहजता, सरलता र सबलताका सम्भव अवसरहरू भारतसँग पुग्ने देखिन्छ । यसमा विज्ञान एवं प्रविधिमा भइरहेको द्रुतगतिको विकासको सम्भावनालाई जोडिदिने हो भने व्यवापरिक प्रयोजनले हुने सम्पर्क सम्बन्धलाई अझ नजिक पु¥याउनेछ । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्धलाई अवलोकन गर्नुपर्ने अवस्था छ नकि शास्त्रीय दृष्टिकोणको मान्यताको आधारमा स्थापित राष्ट्रियताको आधारमा हेर्नुपर्छ ।

सम्भवतः यसैलाई बुझेर होला भारतका राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा त्यस अनुरूपको सम्बोधन गरे । मुखर्जीले भने “भारत र नेपाल युगौं पुरानो ऐतिहासिक र सभ्यतासम्बन्धी सम्बन्धहरूको साझेदारी गर्छन् । हाम्रा जनता सदैव मैत्री र सहयोगको निकट सम्बन्धहरूलाई व्यवस्थित गरिआएका छन् । हाम्रा दुई देशहरूबीच सामाजिक आर्थिक, सांस्कृतिक तथा जनता –जनताबीचका सम्बन्धहरूले हाम्रा दुई सरकारबीचका सम्बन्धहरूका न्यानो सम्बन्ध एवं आपसी समझदारीलाई सुदृढ गर्छन् । भारत नेपाली मैत्रीको हृदयमा यी विशिष्ट जोडहरू छन् । उनीहरू हाम्रा साझेदारीका वास्तविक चालकहरू छन् , उनीहरूले हाम्रा अद्वितीय, आइपरेको बेला परीक्षण गरिएको एवं बहुआयामिक सम्बन्धहरूलाई शक्ति र गतिशीलता प्रदान गर्छन् । राष्ट्रपति महोदया, म विश्वास गर्छु कि हाम्रा दुई देशहरूका गन्तव्यहरू अन्तर्सम्बन्धित छन् । एक अर्काको हरेक कल्याण एवं समृद्धिमा हाम्रो एक महत्वपूर्ण बाजी छ ।”

आर्थिक सहयोग र अवसरका बारेमा थप स्पस्ट पार्दै उनले भने “राष्ट्रपति महोदया, महामहिम, महिला एवं सज्जनवृन्द, भारतमा ग्रहण गरिरहेको तीव्रगतिको आर्थिक रूपान्तरणले नेपालका जनताका लागि अभूतपूर्व अवसरहरू उपलब्ध गराउँछ । हामी उनीहरूलाई भारतको बृद्धिकथाको सहभागी हुन आमन्त्रण गर्छौं । सदैव विस्तार भइरहेको पारस्परिक लाभमुखी सहयोगको पूर्ण क्षमतालाई हामीले मिलेर प्राप्त गर्न सक्छौ र हामीले मिलेर गर्नैपर्छ । हामीले हाम्रा साझा हितका केही क्षेत्रलाई मिलेर प्राथमिकतामा ल्याएका छौ जसमा व्यापार, पारस्परिक लगानी, प्रतिरक्षा एवं सुरक्षा, कृषि, जलविद्युत, पूर्वाधानर विकास र सम्पर्कीयताका परियोजनाहरू छन् । भारत नेपालको जनता र सरकारका आवश्यकताहरूको अनुकूल हुने सबै सम्भव सयोग विस्तार गर्न तयार छ ।”

भारतका राष्ट्रपतिको सम्बोधनबाट व्यक्त आर्थिक समृद्धिका विषयहरूलाई ठोसरूपमा मूर्तिकरण गर्नुपर्ने आवश्यकता नेपाली नेतृत्वको होइन । त्यसका लागि नेपाली नेतृत्वले पहल गर्ने हो कि होइन । नेपालीहरूले भारतको आर्थिक बृद्धिको कथमा योगदानमा हिस्सेदारी राख्नु हुन्छ कि हुँदैन । यसो गरिरहने नेपाली नेतृत्व र नेपाली जनता राष्ट्रवादी हुने कि गैरराष्ट्रवादी त्यसको निक्र्यौल कसले गर्ने ? त्यसले नेपाल र भारतको सम्बन्धका आयामहरूको खोजी चीन र भारतको उदाउँदो वर्तमान परिपेक्ष्य र विश्वको बदलिँदो अवस्थामा खोज्नुपर्ने होइन र ? कि खाली राष्ट्रवादी रटानमा मात्रै रमिरहने र त्यसको रमिते भइरहने हो सोच्ने बेला भएको छैन् र ? अमेरिकाबाट सिक्न गाह्रो भए छिमेकी चीन र भारतबीचको बढदो आर्थिक सम्बन्ध विस्तारबाट पाठ सिक्दा भने हुन्छ । यो विषय यथार्थ बुझन खोज्नेहरूका लागि हो बुझ पचाएर बसेकाहरूका लागि भने होइन । राष्ट्रपति मुखर्जीको भ्रमणको बेला दिइएको बिदा, सुरक्षा व्यवस्था, स्वागतसत्कारलाई त्यही रूपमा बुझ्दा समय सापेक्ष ठहरिने छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com