छठको भाखा होइन सबैको संविधान बनाऔं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठको भाखा पनि तुहाउने सम्भावना बढ्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग यो सरकार बनाउन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डद्वारा ३ बुँदे सम्झौता गरिएको थियो । मोर्चा र संघीय गठबन्धनमा आबद्ध व्यवस्थापिका संसदमा उपस्थिति जनाउने ९ राजनीतिक दलका नेताहरू र कांग्रेस र माओवादी केन्द्रका नेताहरूले हस्ताक्षर गरेको ३ बुँदे सम्झौता अनुसार प्रधानमन्त्री भएपछि संविधान संशोधन गरी मोर्चा र गठबन्धनका ११ एवं २६ बुँदे मागलाई संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने प्रचण्डको प्रतिबद्धता थियो ।

मोर्चाका नेताहरूले ३ बुँदे सम्झौता अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई मतदान पूरा गरेर आफ्नो भाखा पूरा गरिसकेका छन् । मोर्चाका नेताहरूले सार्वजनिक अभिव्यक्ति दिँदै आएअनुसार प्रचण्डद्वारा एकपछि अर्को गरी सरकार बनेको एक साता पछि, भारत भ्रमण अघि, भारत भ्रमण पछि, दशैं अघिका वाचा पूरा नगरिएको र अब छठ लगतै संविधान संशोधनको प्रस्ताव दर्ता गराउने सार्वजनिक वाचा गरिएको छ । यसैबीच भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीनदिने औपचारिक राजकीय भ्रमणका क्रममा संविधानमा सबैलाई समेटेर लानुपर्ने भारतको पुरानो अडानलाई दोहो¥याएर फर्किएको अवस्था छ । अर्कोतर्फ कांग्रेसका सभापति देउवा भारतको भ्रमण सकेर फर्किन लाग्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेंटपछि त्यहाँबाट भारतको त्यही अडान लिएर फर्किएको अवस्था छ । संविधान घोषणा गर्न अन्तिम समयमा मोदीका विशेषदूत भएर आएका विदेश सचिव एस जयशंकरको नेपाल भ्रमणदेखि यता मुखर्जीको नेपाल भ्रमणपछि भएको देउवाको भारत भ्रमणसम्मको अवस्थामा भारतले नेपालमा संविधानमा अधिकतम् सहमतिको स्थिति नेपालमा भएको हेर्न चाहेको देखिएको छ । नेपालसँग खुला सिमाना भएको र नेपालसँग भारतको सुरक्षा हितको सवाल गाँसिएर रहेको अवस्थामा उसका चासोलाई मित्रवत्रूपमा लिनुपर्ने आवश्यकता छ ।

त्यसमा पनि आन्दोलनकारीहरूलाई सन्तुष्ट पार्ने संविधान संशोधन गरी संविधानमा सबैको अपनत्वको बोध गराउने स्थिति सिर्जना गर्नु नेपालको दायित्व हो । नेपालले सो दायित्वबोधलाई मूर्तिकरण गर्नुपर्ने आवश्यकता छ । यसमा अनावश्यक ढिलाई गरी देशको आथिक विकासलाई थप समस्यामा पार्दै जानु बुद्धिमानी हुनेछैन । त्यसैले छठको भाखा कटाउनु भन्दा पनि संशोधन सुनिश्चित गरी देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता सत्तामा साझेदारी गर्ने दल र प्रतिपक्ष दुबैको बोध जरूरी छ । छठको भाखा भन्दा पनि सबैको संविधान बनाउने तर्फ ध्यान दिनु आवश्यक हुन्छ । त्यसमा ध्यान दिऔं ।
प्रकाशित मिति : २०७३ साल कात्तिक २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com