संविधान कार्यान्वयनका चुनौती [सम्पादकीय]

संक्रमणकालमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई एउटा बिन्दूमा टेकाएर अगाडि बढाउनु पर्ने आवश्यकता आम मानिसको बुझाइ हो । देशभित्रका आफ्ना भीर पाखा र खेतबारी बाँझो राखेर अरूको खेतबारी हरियो बनाउन रोजगारी अवसरको खोजीमा दैनिक हजारौं विदेशिने क्रम रोकिएको छैन । विदेशिन नसक्नेहरूलाई बरालिएर हिँडनुपर्ने अवस्था गम्भीर बन्दै गएको छ ।

राजनीतिक परिवर्तनबाट प्रणालीलाई ठीक पारेर देशलाई अगाडि बढाउन सकिने भाषण ठोक्दै आएका राजनीतिक दलका नेताहरूले विवादित संविधान बनाएर त्यसलाई कार्यान्वयनको चुनौती थपिएदिएका छन् । आन्दोलनकारीहरूले ठूला दलका ठूला नेताहरूले आफ्नो चुनाव क्षेत्र नभाँडियोस् भनेर आफ्ना हित अनुकूल मनलाग्दी प्रान्तहरूको विवादित सीमाना कोरिदिएका छन् ।

पहिलो संविधान सभामा बनेको राज्य पुनर्र्संरचना आयोगले राज्यको पुनर्संरचनामा दुई विकल्प खुलाएर दिएको थियो । राजनीतिक दलको तर्फबाट पठाइएको आधारमा निर्माण भएको त्यो राज्य पुनर्संरचना आयोगले गरेको दुई विकल्प दिएका थिए । दोस्रो संविधान सभाको निर्वाचनको क्रममा पहिलोमा भएका कामहरूको स्वामित्व ग्रहण गर्नेगरी प्रतिबद्धता व्यक्त गरिएको थियो ।

ठूला राजनीतिक दलहरूको आकार फेरिने बित्तिकै ती वाचाहरू पनि फेरिए र अहिले विवादित संविधानलाई कार्यान्वयनको चुनौती थपिएको छ । यो चुनौती मधेशी, थारू, आदिवासी जनजाति, महिला मुस्लिमलगायतका अधिकारविहीन र पहिचानविहीन समुदायहरूबाट गरिएको आन्दोलन हो । सो आन्दोलनको क्रममा ६० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

शान्तिकालमा नयाँ संविधान घोषणा भएको क्रममा ६० जनाले शहादत पाउनु आफैंमा सानातिना झिना मसिना कुरा होइनन् । यो गम्भीर विषय हो । आन्दोलनकारीहरू अहिले ३ बुँदे सम्झौतामा बाँधिएका छन् । सरकारले सो सम्झौता अनुरूप गरेको वाचा अनुरूप संशोधन विधेयक दर्ता गराउन समय फेर्दै आएको छ । यसमा ती ठूला दलका नेताहरू फेरि सरकार बनाउने कसरतमा जुटेका छन् ।

१२–१४ महिनाको समय संविधान कार्यान्वयनका लागि बाँकी रहेका छन् । यसभित्र ३ चुनाव गराउनुपर्ने छ । यसबाट संविधान कार्यान्वयनको पहिलो चुनौती पूरा हुनेछ । अब सरकार बनाउने खेल खतरनाक हुन्छ । संविधान कार्यान्वयनलाई खतरामा पार्नु भनेको देशलाई गहिरो संकटमा जाकिनु ठहर्ने नेताहरूकै भनाइ छ । यस्तोमा देशका लागि गर्नुपर्ने सर्वाधिक महत्वपूर्ण काम पूरा गर्ने संकल्प नेताहरूले गर्नुपर्छ । अन्यत्र ध्यान दिन हुँदैन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com