रंगभेदमुक्त नेपाल निर्माण गर

नेपाल दुवै समुदायका साझा र समृद्ध राष्ट्र बनोस् 

नेपालको व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र पत्रकारिता क्षेत्रको सन्तुलित विकास तथा साझापनको अभावमा मधेशी समुदायका नागरिकहरू राज्यबाट उपेक्षित भएको अनुभव गर्दैआएका छन् । समानता र समन्यायका निम्ति आफ्नै मुलुक तथा आफ्नै सरकारसँग संघर्ष गर्दै, सहादत दिँदै, असन्तुष्टि पोख्दै र आक्रोशित हुँदै सहेर बसेको वर्षौं भयो । राजनीतिक संघर्षको इतिहासलाई मात्र हेर्ने हो भने मधेशीहरू वि.सं. २००८ तराई कांग्रेसदेखि आजसम्म संघर्षरत् नै छन् । मधेशीसँग विभेद भएको र त्यसलाई अन्त्य गरिने गरी पहिलोपटक नेपाल सरकारले २०५० साल पुस ५ गते तत्कालीन नेपाल सद्भावना पार्टीसँग चारबुँदे सम्झौता गरेको थियो । सरकारले आफ्नै नागरिकसँग धोकाको राजनीति गरेको २३ वर्ष पूरा भएको छ ।

सिंगो नेपालको संचालन र संरचनामा एकल समुदायको वर्चस्व कायम राख्न देशी÷विदेशी शक्ति, गैरमधेशीहरूको वर्चस्व भएको राजनीतिक दल, गैरमधेशी नागरिक समाज र नश्लवादी बौद्धिक जमातको सामूहिक देन हो । मधेश चाहिने तर मधेशी नचाहिने विचारलाई अन्तरमनमा राखेर सांकेतिक वा अर्थहीन उपस्थिति राख्दै साझापनको नारा लगाउनेहरू मूलरूपमा देशद्रोहीहरू हुन् । रंगभेद र अखण्डता सँगसँगै जान सक्दैन भन्ने कुराको जानकारी राखेर भएपनि आफ्नो संगठन, सरकार, सञ्चारमाध्यम, बौद्धिक समूह र नागरिक समाज लगायत जस्ता अधिकारवादी मञ्चहरूलाई एकल नश्लीय वर्चस्वमा संचालन गरिराख्नु पीडाको विषय हो । मधेशका नागरिकहरूसँग रंगभेदको राजनीति गरेर उल्टै उनकै अधिकारवादीहरूलाई विखण्डनकारीको संज्ञा दिन खोज्नु बौद्धिक दिवालियापनको पराकाष्ठा हो । देश सबैको साझा हो भन्ने कुरा नारामा मात्रै सीमित राखिनु हुँदैन । देशभरिको नागरिकलाई साझापनको अनुभूति गर्न र गराउन हरेक तप्का उत्तिकै सक्रिय र जिम्मेवार हुनुपर्छ ।

नश्लवादी पार्टीमा बसेर साझा नेपालको अभिव्यक्ति दिनु, रंगभेदी संरचनाको समर्थन गर्नु र रंगभेदको विरोध गर्नेहरूलाई अलग्याउन खोज्नु राष्ट्रहितको पक्षमा होइन । मधेशका नागरिकहरूसँग हुँदै आएको रंगभेदको अन्त्य होस् । नश्लीय पार्टी, सरकार र संगठनहरूमा सुधार आओस् । समानताका लागि ६५ वर्षदेखि लडिरहेका मधेशीहरूको आन्दोलनले विश्राम पाउने गरी संविधानको संशोधन होस् । नेपाल दुवै समुदायका साझा र समृद्ध राष्ट्र बनोस् । त्यसका निम्ति नेपाल रंगभेदमुक्त बनोस् ।


प्रकाशित मिति : २०७३ साल मंसिर १० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com