संशोधनको पक्षमा सक्रिय होऊ

सबै कुरा पाउन खोज्दा केही पनि नपाइएला भन्ने सामान्य ज्ञान राखेर नेतृत्व अघि बढ्न जरूरी छ ।

संविधानसभाको गणितीय समीकरणमा मधेशी दलको उपस्थितिको संख्या न्यून रहेको र पृष्ठभूमि पनि कमजोर रहेको कारण विचार पु¥याएर अघि बढ्न जरूरी छ । वर्तमान संविधान संशोधनको प्रस्तावमा पाएका उपलब्धिहरूलाई संस्था गर्ने र थप उपलब्धिका निम्ति संघर्ष गर्ने कार्य गर्न सके मोर्चाले केही उपलब्धि हात पार्न सक्ला । न्यून शक्ति भएका मोर्चाले अत्यधिक हठ प्रयोग गर्दा पाएका कुरा पनि गुम्ने र नयाँ कुरा पनि नपाइने अवस्थाको निर्माण नहोस् । सुधार एक क्रमिक प्रक्रिया हो । त्यसैले जेजति अवस्थामा पाइएको छ त्यसैलाई लिपिबद्ध गर्दै जाने र थप संशोधनका निम्ति थप शक्ति आर्जन गर्न नयाँ किसिमले संघर्ष गर्नु वा चुनावमा जानु राम्रो विकल्प हुन सक्छ । आफूले खोजेजस्तै हुबहु पाउनका निम्ति दुई तिहाईभन्दा बढी मत हुनैपर्ने बाध्यात्मक अवस्थाको जानकारी हुँदाहुँदै मोर्चाले गरेको विरोधबाट असहज परिस्थितिको निर्माण हुन सक्छ । सबै कुरा पाउन खोज्दा केही पनि नपाइएला भन्ने सामान्य ज्ञान राखेर नेतृत्व अघि बढ्न जरूरी छ ।

अहिलेको अवस्थामा मधेशको सवालमा एमालेले गर्दै आएको घातलाई जनताको माझमा लाने र मधेशबाट प्रतिनिधित्व गर्ने एमालेका नेताहरूलाई मधेशको सवालमा प्रष्ट्याउने काम पनि सँगसँगै थालिनुपर्दछ । अहिले ठूला तीन दलका नेताहरूले सरकारले ल्याएको संविधान संशोधन विधेयक विरूद्ध विरोध जनाउँदै सडकमा टायर बाल्न आआफ्ना समर्थकलाई उक्साइरहेका छन् । त्यसको अगुवाइ प्रमुख प्रतिपक्षी एमालेले गरिरहेको छ । विरोधका स्वर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले पनि निकालिरहेको छ । सदनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले सदनमा संशोधन विधेयक दर्ता गरेदेखि ५ नम्बर प्रदेशमा सडक अवरूद्ध छ । विरोधमा टायर बालिएका छन् । जीवन अस्तव्यस्त छ । यसो गर्नुको कारण ५ नम्बर प्रदेशलाई किन टुक्राउने भनिएको छ । ५ नम्बर प्रदेशमा पहाडी मधेशी सबै मिलेर बसेका थिए । कसैको केही गुनासो थिएन । अनि संशोधन विधेयकले यसलाई टुक्राउन खोजिएको छ । संशोधन विधेयकमा पाल्पा, गुल्मी र अर्घाखाँची लगायतका जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा गाभ्ने गरी नवलपरासीको बर्धघाटदेखि बर्दियासम्मको प्रदेश बनाउने गरी ५ नम्बर प्रदेश बनाइने प्रस्ताव संशोधनमा गरिएको छ । प्रतिपक्षी एमालेका नेताहरूको अगुवाइलाई सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले साथ दिइरहेका छन् । उनीहरूले गरेको तराईबाट पहाड किन हटाइदै छ भन्ने हो ।

अन्य कुनै प्रदेशमा यस्तो गरिएन यहाँ किन गरियो भने उनीहरूको कथन छ । तर उनीहरूले मधेश, थरूहटलगायतका समुदायको विरोध र आन्दोलनलाई अनदेखा गरिरहेका छन् । पश्चिमका दुई जिल्ला कैलाली कञ्चनपुर र पूर्वका झापा मोरङ सुनसरीलाई मधेशका दुई प्रदेशमा राख्नु पर्ने माग मधेशी र थारूहरूको रहीआएको विषयलाई उनीहरूले सम्बोधन गर्न नचाहेको आशयलाई घुमाउरोपाराले पुष्टि गरिरहेका छन् । त्यतिमात्रै होइन संघीयताको मूल मर्मलाई उनीहरूले बिर्सेर राजनीतिक दलका नेताहरूले आफ्नो चुनाव क्षेत्र नटुक्रियोस् भनी राजनीति गरिएको विषय अब नांगिसकेको छ । समस्याको तत्कालीन र दीर्घकालीन उपायबाट वर्तमानको गतिरोध हटाएर मात्र संविधानको कार्यान्वयन हुनेछ । आफै बोक्सी र आफैं झांक्रीको नौटंकी अब राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उदाङ्गो भइरहेको छ । तत्कालीन समाधानको रूपमा विधेयकमा परिमार्जन गरी कार्यान्वयनको विषयलाई सहजरूपमा स्वीकार गरी अगाडि बढनुपर्ने देखिन्छ । अथवा पहिलो संविधान सभाको राज्य पुनर्सरचनाले दिएको दुई मोडल मध्ये कुनै एकलाई अंगीकार गरी जानुपर्ने हुन्छ । यस्तो नभए देश अगाडि बढ्दैन । त्यसैले ठूला पार्टीहरूले गरिरहेको नंगा नाचको नौटंकी बन्द गरी संविधान कार्यान्वयन सुनिश्चित गर्नेतर्फ ध्यान दिओस् ।

प्रकाशित मिति : २०७३ साल मंसिर २४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com