विश्वका सर्वाधिक जोखिममा रहेका बालबालिकाको क्षेत्रमा अविश्रान्त युनिसेफका ७० वर्ष

न्यूयोर्क । युनिसेफ स्थापनाको ७०औं वार्षिकोत्सवको आजको अवसरमा विश्वभरका बालबालिकाका लागि ठूलो प्रगति भएकोमा खुशीको अवस्था छ । तथापि, विश्वभर जारी द्वन्द्व, संकट, गरिबी, असमानता र विभेदबाट जीवन र भविष्य नै खतरामा रहेका लाखौं बालबालिकालाई पनि समेट्न युनिसेफ आग्रह गर्दछ ।

“दोस्रो विश्वयुद्ध समाप्त भएलगत्तै जुनसुकै मुलुकमा रहेबसेका हुन् वा युद्धमा जेसुकै भूमिका निर्वाह गरेका हुन् जोखिममा रहेका वा जरुरतमा परेका सबै बालबालिकालाई मद्दत गर्ने उद्देश्य लिई युनिसेफको स्थापना भएको थियो । हाम्रो ध्येय आजपर्यन्त उत्तिकै जरुरी र विश्वव्यापी छ,” युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेक भन्नुहुन्छ । “विश्वभर जरुरतमा परेका बालबालिकाको संख्या अत्यधिक रहेको सन्दर्भमा हरेक बालबालिकालाई सकारात्मक परिणाम उपलब्ध गराउन हामी पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।”

संयुक्त राष्ट्रसंघको महासभाले युद्धपश्चात्को युरोप, चीन र मध्यपूर्वमा बालबालिकालाई मद्दत गर्नेगरी युनिसेफ स्थापना गरेको थियो । सरकारहरु, नागरिक समाज, निजी क्षेत्र र सरोकार भएका नागरिकहरुबाट स्वेच्छिक योगदानबाट मात्र सञ्चालित यो संस्थाले आफ्नो प्रभाव क्षेत्रलाई तीव्र गतिमा विस्तार गरेको थियो र सन् १९५५ सम्ममा विश्वका ९० भन्दा बढी मुलुकमा बालबालिकाका क्षेत्रमा कार्यरत रहेको थियो ।

आज, युनिसेफ विश्वकै सर्वाधिक ठूलो बाल संस्थाका रुपमा उभिएको छ, र विश्वका १९० मुलुक र क्षेत्रहरुमा साझेदारहरुसँग मिलेर कार्य गरिरहेको छ । हरेक बालबालिकासम्म पहुँच स्थापित गर्न हाल १३,००० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्मचारीहरु यस संस्थामा कार्यरत छन् ।

विश्वका सर्वाधिक कठिन स्थानहरुमा युनिसेफको अनवरत सहभागिताले हालैका दशकहरुमा बालबालिकाको उल्लेखनीय प्रगतिमा सघाउ पुर्याएको छ । पाँचौं जन्मदिन मनाउनुअघि नै मृत्यु हुने बालबालिकाको संख्यामा विगत २५ वर्षको अवधिमा आधाभन्दा कमी छ । लाखौं बालबालिका गरिबीको चक्रबाट बाहिर आएका छन् । सन् १९९० यता स्कुल नजाने प्राथमिक तहका स्कुले बालबालिकाको संख्या झण्डै ४० प्रतिशतले घटेको छ ।

· सन् १९४० को दशकमा, युनिसेफले युद्ध पश्चात्को युरोपमा बालबालिकाका लागि आपतकालीन पोषण सहायता, खासगरी दूधजन्य सामग्री, उपलब्ध गराएको थियो । सन् २०१५ मा युनिसेफ र यसका साझेदारहरुले विश्वभर अतिशीघ्र कुपोषण भएका २९ लाख बालबालिकाको उपचार गरेका थिए ।

· सन् १९५० को दशकमा, युनिसेफले क्षयरोग र अन्य महामारी रोग विरुद्ध पहिलो पटक खोप अभियानको नेतृत्व गरेको थियो । सन् २०१५ मा युनिसेफले २ अर्ब ८० करोड खोप (भ्याक्सिन) खरिद गर्नुका साथै साझेदारसँगको सहकार्यमा यसले विश्वभर विभिन्न किसिमका घातक रोगहरुबाट ५ वर्षमुनिका ४५ प्रतिशत बालबालिकालाई सुरक्षित गर्न मद्दत गरेको थियो ।

· सन् १९५३ मा युनिसेफले पहिलो पटक खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) आरम्भ गरेको थियो । सन् १९९० र २०१५ को बीचको अवधमिा २ अर्ब ६० करोड मानिसले सुधारिएको खानेपानीका स्रोतमा पहुँच हासिल गर्नुका साथै २ अर्ब १० करोडले सुधारिएको सरसफाइ सेवामा पहुँच प्राप्त गर्न सफल भएका थिए ।

· सन् १९६१ मा युनिसेफले आफ्ना कार्यक्रमहरुमा बालबालिकाको शिक्षामा ध्यान केन्द्रित गरेको थियो । सन् २०१५ मा युनिसेफ र यसका साझेदारहरुले ३ देखि १८ वर्ष उमेर समूहका ७५ लाख बालबालिकालाई औपचारिक वा अनौपचारिक आधारभूत शिक्षा उपलब्ध गराएका थिए ।

· सन् १९८९ मा संयुक्त राष्ट्रसंघ महासभाले बाल अधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको थियो जसमा सबै बालबालिकाको जन्मदर्ता गर्ने प्रावधान समेटिएको थियो । यो महासन्धिले सबै बालबालिकाको पहिचान र अधिकार सुरक्षित गरेको छ । सन् २०१५ मा युनिसेफले ५४ देशमा ९७ लाख भन्दा बढी बालबालिकाको जन्मदर्ता गर्न मद्दत गरेको थियो ।

· सन् १९९८ मा युनिसेफ औलोरोगको उपचार र अनुसन्धानमा मद्दत गर्नेगरी स्थापित रोलब्याक मलेरिया पार्टनरसीप ९च्यिि द्यबअप ःबबिचष्ब एबचतलभचकजष्उ० को संस्थापक सदस्य बनेको थियो । सन् २०१५ मा युनिसेफले ३० वटा मुलुकमा बालबालिका र परिवारको सुरक्षाका लागि २ करोड २३ लाख झूल खरिद गरेको थियो ।

· स्थापनाकालदेखि युनिसेफले प्रभावित बालबालिकाका निम्ति हजारौं मानवीय आपतकालीन सहायता कार्यक्रमहरु सञ्चालन गरेको छ । सन् २०१५ मा युनिसेफ र यसका साझेदारहरुले संकटबाट प्रभावित मुलुकहरुमा १ करोड १३ लाख बालबालिकालाई दादुराको खोप दिएका छन्, आपतकालीलन स्थितिमा रहेका ४० लाख बालबालिकालाई औपचारिक वा अनौपचारिक आधारभूत शिक्षामा पहुँच उपलब्ध गराएको छ, तथा द्वन्द्व र प्राकृतिक विपद्मा रहेका २० लाख बालबालिकालाई मनोसामाजिक सहायता प्रदान गरेको छ ।

यो प्रगतिका बाबजूद लाखौं बालबालिका अद्यापि पछि परिरहेका छन् किनभने उनीहरु अद्यापी गरिबीमा बाँच्न विवश छन् वा पहुँचका दृष्टिबाट उनीहरु ज्यादै दुर्गम, कठिन बस्तीहरुमा छन् । लैंगिक, जातीय, धार्मिक, अल्पसंख्यक समूह वा अपाङ्गता भएका बालबालिका पनि पिछडिएको अवस्थामा छन् । द्वन्द्वबाट प्रभावित मुलुकहरुमा झण्डै २५ करोड बालबालिका संकटपूर्ण अवस्थामा छन् र करिब ५ करोड बालबालिका घरपरिवारबाट अलग्ग बनाइएका छन् ।

“युनिसेफको आगामी ७० वर्षको ध्येय नै विश्वमा हाम्रो कार्य आवश्यक नपरोेस् भन्ने हो –– यस्तो विश्व जहाँ हरेक बालबालिका स्वस्थ, सुरक्षित, शिक्षित, स्याहार प्राप्त गरेका र सुरक्षित हुनेछन् ... एवं सबै बालबालिकाले आफ्नो क्षमताको पूर्ण उपयोग गर्न सक्नेछन्,” लेकले भन्नुभयो । “यो गर्नैपर्ने उपयुक्त कार्य हो, र हामी सबैका लागि राम्रो भविष्यको असल मार्ग पनि यही हो ।”


काठमाण्डु :
· सन् १९६४ मा युनिसेफले भारतको नयाँदिल्ली कार्यालय मार्फत नेपालमा आफ्ना कार्यक्रम आरम्भ गरेको थियो । सन् १९६८ मा काठमाडौंमा सम्पर्क (लियाजन) कार्यालय अनि १९७२ मा पहिलो र्पूर्ण कार्यालय स्थापना गरिएको थियो ।

· नेपालमा, युनिसेफले पाँच दशक कार्य गरिसकेको इतिहास छ र विकासका हरेक क्षेत्रमा युनिसेफले योगदान गरिरहेको छ, खासगरी सन् १९६० र ७० को दशकमा आधारभूत सेवा तथा खोप उपलब्ध गराएको छ, सन् १९८० को दशकमा प्रारम्भिक बाल अधिकार, शिक्षा र सुरक्षा प्रदान गरेको छ, सन् १९९० को दशकमा समुदायको आत्मनिर्भरता, खासगरी महिला स्वावलम्बन, कार्यक्रम सञ्चालनमा योगदान गरेको छ । सन् २००० को दशकको द्वन्द्वकालीन स्थितिमा सुरक्षाका कार्यक्रममा सहयोग गरेको थियो भने त्यो बेला देखि अहिले सम्म समतामा आधारित सबै बालबालिकालाई समेट्न प्रयत्नरत छ । सुरुका दिनहरुमा बालबचाउ र खानेपानी तथा सरसफाइका पूर्वाधारमा सुधार गर्ने कार्यमा समर्पित युनिसेफले पछिल्ला वर्षहरुमा आमाको गर्भ देखि १८ वर्ष हुँदासम्म सामान्य बिकास वा आपतकालीन अवस्थामा बालबालिकाको स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, बाल सुरक्षा तथा सामाजिक सुरक्षाका क्षेत्रमा बृहत रुपमा कार्यक्रम गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com