शासकीय अहंकार हटाऊ

संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरेयता प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना सहयोगी दलहरूको सहयोगमा मंसिर १६ देखि हालसम्म ६ पटक संसद अवरूद्ध गरिसकेको छ । एमालेले संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेको छ । एमालेले नेपाली कांग्रेसको सरकारमा सहभागी भएका बेला तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग प्रदेशसम्बन्धी एक खाकामा हस्ताक्षर गरे अनुरूपकै खाका अनुसार संशोधन प्रस्ताव सदनमा दर्ता गराइएको छ ।

आफू सरकारमा भएको बेला र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूसँग भएका ३६ पटकको छलफलमा पनि यी नै विषयमा छलफल भएको थियो । कैयौं विषयमा सहमति भइसकेका विषयका आधारमा समेत संशोधन प्रस्ताव दर्ता गराइएको छ । यो संशोधन प्रस्ताव आन्दोलनकारी संघीय गठबन्धन र मधेशी मोर्चाले माग गरेअनुसार पूर्णरूपमा नआएको भनी असन्तुष्टि व्यक्त गरेका छन् । तर पनि मोर्चाले समर्थन गर्ने जनाएको अवस्थामा संविधान घोषणा गर्ने एमालेले विरोध गर्नुको तुक देखिँदैन । एमालेको राष्ट्रवादको हावा अरूले ती दल भित्रकै नेताहरूले खुस्काइ दिएका छन् । एमालेका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल र नारायण ढकाललगायतले राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध नामक शीर्षकको पुस्तिका निकालेका थिए ।

माधव नेपाल, केपी शर्मा ओली र भीम रावललगायत अहिले राष्ट्रवादी श्लोक पाठमा व्यस्त भएका नेताहरूलाई राष्ट्रघाती भनिएको छ । आरोप खेप्ने र आरोप लगाउने नेताहरू एकै ठाममा बसेर अहिले संशोधन प्रस्तावलाई राष्ट्रघातको बिल्ला भिराउने गरी लगाइएको राग अब “गदर्भ राग” साबित भइसकेको छ । यो शासकीय अहंकारको संरक्षणका लागि गरिएको कसरत मात्र हो । यसबाट देशलाई कुनै हित नहुने तथ्य एमालेले बेलैमा बुझनु पर्छ । अनि एमालेले आफू भित्र रहेको शासकीय अहंकार हटाएर देशलाई भावनात्मक र वास्तविक एकीकरणको महायज्ञको पूर्णाहुतिमा ध्यानकेन्द्रित गर्नुपर्छ ।

प्रकाशित मिति : २०७३ साल पुस ८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com