हरेक समुदायको प्रधिनिधित्व र पहुँचका लागि प्रयास गर्छौं : सुवास खतिवडा – अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ

० सामुदायिक रेडियो प्रशारक संघले के काम गर्छ ?
— यो संघ नेपालमा रहेका सामुदायिक रेडियोहरूको छाता संगठन हो । सामुदायिक रेडियोको हकहितका लागि आवाज उठाउने संस्था हो । यसका साथै सामुदायिक रेडियोको क्षमता अभिवृद्धि, सञ्चालकहरूको हकहितका लागि यो संस्थाले काम गर्छ । नेपालमा सूचनाको हक, सामाजिक जागरण, सामाजिक रूपान्तरणका निम्ति सामुदायिक रेडियो प्रशारक संघ काम गर्छ ।


० कस्तो रेडियोलाई सामुदायिक रेडियो भन्ने ?
— नेपालमा तीन किसिमका रेडियोहरू छन् । एउटा सरकारबाट सञ्चालित रेडियो, नाफा कमाउने उद्देश्यले सञ्चालित व्यावसायिक रेडियो र अर्को नाफा आर्जन नगर्ने तर सञ्चालनका लागि आम्दानी गर्ने सामुदायिक रेडियो हो । यो रेडियो सामुदायको स्वामित्व, सामुदायको प्रत्यक्ष संलग्नता, समुदायको सक्रियतामा सञ्चालन भएका हुन्छन् । यस्ता रेडियोले समुदायको सशक्तीकरण, समुदायको सूचनाका लागि काम गर्छन् । तर, आर्जन भएको आम्दानीलाई समग्र समुदायको हित, रेडियोको दीगो विकासका निम्ति लगानी गरिरहेका हुन्छन् ।


० सामुदायिक रेडियोको संख्या कत्ति छ ?
— सामुदायिक रेडियो प्रशारक संघमा आबद्ध सामुदायिक रेडियोको संख्या तीन सय पुगेको छ । केही चाहीं सदस्य बन्ने प्रक्रियामा छन् ।


० नेपालमा अहिले कत्ति रेडियो सञ्चालनमा छन् ?
— करिब ६ सय रेडियो छन् । त्यसमध्ये आधाभन्दा बढी सामुदायिक रेडियो छन् । त्यसमध्ये पनि केही रेडियो विभिन्न कारणले नियमित प्रशारण भइरहेका छैनन् । केही बन्द हुन पुगेका छन् । बन्द भएका रेडियो सञ्चालनका लागि हामी प्रयासरत छौं ।


० सामुदायिक रेडियो किन आवश्यक छ ?
— सूचनाबाट वञ्चित भएकालाई सूचना पु¥याउने काम सामुदायिक रेडियो गर्छन् । जहाँ अरू सञ्चारमाध्यमको पहुँच छैन, ती ठाउँमा यस्ता रेडियोको उपयोगिता बढ्न जान्छ । विद्युत् पहुँच नभएका स्थानमा, टेलिभिजन नभएका स्थानमा सूचनाका लागि रेडियो सशक्त माध्यम हुने गर्छ । यसका साथै केन्द्रमा रहेका रेडियोले स्थानीयस्तरका भाषामा कार्यक्रम चलाउन सक्दैनन् । तर, सामुदायिक रेडियोले सानो ठाउँलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हुन्छन् । उनीहरूको श्रोताहरू पनि निश्चित वर्ग र समुदाय हुन्छन् । त्यसकारण स्थानीय भाषामा नै कार्यक्रमहरू बनाइन्छ । त्यहीको लवजमा सूचनाहरू प्रशारण गरिन्छ । त्यहीको लवजमा स्थानीयवासी बोल्न पाउँछन् । आफ्नो संस्कृति, संस्कार, हक अधिकारका विषयमा बोल्न पाइन्छ । समुदायको रूचिका सरोकारका विषयमा बोल्न पाइन्छ । त्यसकारण समुदायको सशक्तीकरणमा पनि सामुदायिक रेडियो निकै योगदान पु¥याएको छ । हामी सामुदायिक रेडियोलाई अझै प्रभावकारी बनाउनका निम्ति अझै मिहिनेत गरिरहेका छौं ।


० बन्द भएका रेडियो सञ्चालनका लागि तपाईंहरूले कस्तो प्रयास गरिरहनुभएको छ ?
— सामुदायिक भनेर राज्यले कानुनी मान्यता दिनुप¥यो । अहिलेसम्म समुदायको हकहित, समुदायको विकास, समुदायको रूपान्तरण जसरी काम गरिरहेका छन्, त्यसलाई सरकारको तर्फबाट कुनै मान्यता दिइएको छैन । अहिले सामुदायिक रेडियोले पाउने सुविधा र अन्य रेडियोले पाउने सुविधा बराबर छ । कम्पनीअन्तर्गत चलेका रेडियो र सामुदायिक रेडियोले पाउने सुविधामा कुनै अन्तर छैन । त्यसैले सामुदायिक रेडियोतर्फ सरकारले ध्यान दिनुपर्छ । राज्य आफैं अग्रसर भएर सूचना नदिएको ठाउँमा सामुदायले गरेको योगदानको कदर हुनुपर्छ । राज्यले गर्न नसकेको काम समुदायले आफ्नो गाँस काटेर, आफ्नो आम्दानीबाट पैसा छुट्याएर, छरिएर रहेका पूँजीलाई एकीकृत गरेर समुदायका लागि आवाज उठाएका छन् । यसमा राज्यले पनि सहयोग गर्नुप¥यो नि त । राज्यले सहयोग ग¥यो भने सामुदायिक रेडियो अझै अगाडि बढ्न सक्थ्यो । यसका लागि सामुदायिक रेडियो प्रशारक संघले विगतदेखि नै आवाज उठाइरहेको छ ।


० सामुदायिक रेडियो भनेर दर्ता गराउने तर, व्यावसायिक स्वरूपमा सञ्चालन गर्ने काम पनि हुने गरेको छ । यसलाई कसरी रोक्न सकिन्छ ?
— सामुदायिक रेडियो हुनका लागि आवश्यक मापदण्ड र सूचकका विषयमा हामी अझै छलफल र बहसमा छौं । राज्यले लाइसेन्स दिँदा त्यस्तो कुनै सूचक तय गरेको छैन । सरकारले सञ्चालन गरेको सामुदायिक हुने, सहकारीले सञ्चालन गरेको सामुदायिक हुने, नाफामूलक संस्थाले सञ्चालन गरेको सामुदायिक हुने, स्थानीयस्तरमा सञ्चालन गरिए त्यो पनि सामुदायिक हुने अवस्था अहिले छ । त्यसैले सामुदायिक रेडियोलाई राज्यबाट प्रष्ट रूपमा परिभाषित गर्नुपर्छ । हामीले चाहीं सामुदायिक रेडियोको स्पष्ट परिभाषा गरेका छौं । यसबारे एउटा ड्राफ्ट सरकारलाई पनि बुझाइसकेका छौं । तर, सरकारले यो कुरालाई अहिलेसम्म अगाडि बढाउन सकेको छैन । सरकारले हालै आमसञ्चार नीति ल्याएको छ । त्यसमा भने कुन रेडियोलाई व्यावसायिक र कुन रेडियोलाई सामुदायिक भन्ने कुराको सामान्य रूपमा परिभाषित गर्न खोजिएको छ । अब विस्तारै यसको विस्तृतीकरण गर्नु आवश्यक छ । समुदायको सहभागिता, प्रतिनिधित्व, पहुँच, भाषाभाषीका कुरा, स्थानीय विषयवस्तुको कार्यक्रम प्रशारण गर्नेलगायत कुरा अधिकत्वम रूपमा हामी उठाउँछौं । रेडियो समुदायसँग कत्ति जोडिएको छ, समुदायको प्रतिनिधित्व गर्छ कि गर्दैनलगायत पक्ष पनि यसमा हेरिन्छ ।


० अहिले सञ्चालनमा रहेका सामुदायिक रेडियोले वास्तवमा मापदण्ड पूरा गरेको जस्तो लाग्छ ?
— म सन्तुष्ट छु । नागरिकले आफ्नो लगानीमा समुदायलाई सूचना दिन, समुदायको अभिव्यक्तिका निम्ति, समुदायको जागरणका निम्ति, समुदायको रूपान्तरणका निम्ति काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । तर, केही कमि कमजोरी होलान् । धेरै आलोचना गरेर पनि हुँदैन । त्यसैले दुई–चार मानिसले मात्र होइन यसमा धेरै मानिसको लगानी हुनुपर्छ । समुदायका धेरै मानिसलाई संलग्न गराउनुपर्छ । के–के प्रशारण गर्ने भन्ने कुराको छिनोफोनो त्यहीको समितिले निर्णय गरोस् । सामुदायिक हुन के–के गर्नुपर्छ भन्ने कुराको गुणात्मक विकासतर्फ हामी जानुपर्छ । सबै नराम्रो भन्न मिल्दैन । धेरै रेडियोले राम्रो काम गरेका छन् । प्रेरणादायी काम गरेका छन् । उनीहरूलाई धन्यवाद दिनुपर्छ ।


० समुदायका विषयवस्तु उठान नगर्ने तर, राष्ट्रीयस्तरका विषयवस्तु उठान गर्ने अवस्था पनि देखिन्छ नि ?
— विगतका कमिकमजोरीलाई हामी केलाउँदैछौं । समीक्षा गर्दैछौं । सामुदायिक रेडियो प्रशारक संघले मध्यस्तताको काम मात्र गर्न सक्छ । यसले सामान्य आचारसंहिता लागू गर्ने मात्र हो । रेडियोहरूलाई नैतिक सदाचारको बाटोमा हिडाउन प्रयास मात्र गर्ने हो । तर, खासमा रेडियोहरू स्वायत्त छन् । के कस्ता विषयवस्तु प्रशारण गर्ने, क–कसलाई संलग्न गराउने भन्ने कुरामा उनीहरू स्वतन्त्र छन् । तर, हामीले उनीहरूलाई विश्वव्यापी परिपाटीमा हिंडाउने, पत्रकारिताको सिद्धान्तमा हिंडाउने, सामुदायका लागि काम गर्नुपर्छ भनेर प्रेरित गर्ने काम गर्छौं । समुदायका रूचि एकातिर, प्रशारित विषयवस्तु अर्कोतिर भयो भने यो दीगो हुन सक्दैन । त्यो वास्तविक सामुदायिक पनि हुन सक्दैन । समुदायको रूचि, चाहना र सरोकारलाई हामी सम्बोधन गर्न सकेनौं भने त्यस्ता रेडियो टिक्न पनि सक्दैन ।


० सामुदायिक रेडियोको मधेशमा कस्तो पहुँच छ ?
— मधेशमा राम्रो पहुँच छ । दुई नम्बर प्रदेशमा मात्रै ४० वटा रेडियो सञ्चालनमा छन् । मधेशमा भाषा, जातीयलगायत विविधता छ । त्यो विविधतालाई एकताबद्ध गर्नका लागि, सद्भाव बढाउनका लागि, मेलमिलाप बढाउन सामुदायिक रेडियोले धेरै राम्रो भूमिका निर्वाह गरिरहेका छन् । साक्षरताका हिसाबले मधेश धेरै पछाडि छ । नेपाली भाषा नबोल्ने मैथिली भोजपुरीलगायत भाषा बोल्ने समुदाय छन् । उनीहरूका निम्ति पनि रेडियो निकै ठूलो साथी भएका छन् ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशिति मिति : २०७३ साल पुस २९ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com