मधेशमा दुई प्रदेश मान्न तयार नहुनेहरू राष्ट्रघाती हुन् : डा.सुबोध कुमार पोखरेल, सांसद्, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

मधेशकेन्द्रित दलहरू फुट्नु हाम्रो लागि नै समस्या भएको छ 

० संविधान संशोधनका विषयमा तपाईंको पार्टीको धारणा स्पष्ट छैन नि ?
— यो विषयमा फोरम लोकतान्त्रिक चुप लागेर बसेको छैन । फोरम लोकतान्त्रिकको राजनीति गर्ने शैली मात्र फरक हो । हाम्रो पार्टी मधेशी जनताहरूको सही र उनीहरूको वास्तविक हितका लागि राजनीति गर्ने पार्टी हो । संविधान संशोधन विधयेक परिमार्जन हुनुपर्छ र परिमार्जन सहितको विधयेकलाई मात्र हामी स्वीकार गछौं भनेर हामीले निर्णय गरिसकेका छौं ।


० तपाईहरूले भन्नुभएकोे परिमार्जन र मधेशी मोर्चाले भनेको परिमार्जनमा भिन्नता छ ?
— मधेशी मोर्चाले पश्चिम तराईको मात्र कुरा गरेको छ मधेशको गरेको छैन । नाम मात्र मधेशी मोर्चा हो तर काम मधेशको हितमा गरेको छैन । हामी मधेशको पनि कुरा गर्दैछौं । मधेशमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर सहितको आठौं प्रदेश बन्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ र आठ बुँदे सहमति हुँदा हामीले जे भनेका थियौं त्यसमा हामी अडिग छौं । १६ बुँदे सम्झौताको मर्म त्यसको आधारमा संविधानको जग बस्यो र ८ बुँदे सहमति जुन केपी ओली सरकारसँग हाम्रो पार्टीको भएको थियो त्यसकै आधारमा हामी अगाडि बढिरहेका छौं । एउटै अडानमा हामी टिकिरहेका छौं । जबकी मधेशी मोर्चाको अडान तलमाथि दायाँबायाँ भइरहेको देखिन्छ । प्रष्ट अडान आएको अवस्था देखिँदैन । केही अगाडि मधेशी मोर्चाले यो अवस्थालाई अगाडि बढाए हुन्छ भनेको थियो । हामी परिमार्जनको कुरा गरिरहेका छौं । हामी ८ प्रदेशको अडानमा छौं । पश्चिममा कंचनपुरदेखि नवलपरासीसम्मको एउटा प्रदेश र पूर्वमा पर्सादेखि झापा सम्मको प्रदेश । यसमा यदी कुरा मिल्दैन भनेदेखि धनुषादेखि पर्सासम्मको एउटा प्रदेश र सप्तरी, सिरहा, उदयपुर, मोरङ, सुनसरी र झापा गरी अर्को प्रदेश बनाउन सकिन्छ ।

० एउटा मधेशी मोर्चाले भनेजस्तो दुई प्रदेश र अर्को तपाईहरूले भनेजस्तो तीन प्रदेशको खाँका जसमा केही पहाडका जिल्लाहरू पनि होस् । भनेपछि तपाईंहरू दुईवटा विकल्प लिएर गइराख्नुभएको हो ?
— मधेश एउटा भूगोल हो त्यहाँ पहाडी मुलको मधेशीहरू पनि बस्दछन् । पहाडमा आफ्नो थाँतथलो छोडिसकेका र अहिले मधेशमा बसेको र मधेशी भावना र विचारको प्रतिनिधित्व गर्ने मधेशी मनसँग मनलाई जोडिसकेका पहाडीहरू पनि बस्दछन् त्यहाँ ।


० सीमांकनमा तपाईंहरूको प्रष्ट धारणा बताइदिनुस् न ? मधेशी मोर्चाले भने अनुरूपको दुई प्रदेश मान्य छ तपाईहरूलाई ?
— दुई प्रदेश हामीलाई मान्य छ । यदि दुई प्रदेश सम्भव भएन भने मधेशमा विकल्पमा तीन प्रदेश हुनसक्छ । हाम्रो प्राथमिकतामा पहिले मधेशमा दुई प्रदेश नै हो ।


० अन्य विषय भाषा, नागरिकता, राष्ट्रिय सभाका विषयहरूमा तपाईंहरूको मत के छ ?
— यी विषयहरूमा हामी मधेशी मोर्चासँग सहमत छौं ।


० तपाईंहरू र मधेशी मोर्चाको एजेन्डामा खासै भिन्नता देखिएन त ?
— उहाँहरूले नबुझेको मात्र हो खासै भिन्नता पहिलेदेखि नै थिएन । शक्ति सन्तुलनमा फरक परेको छ । मधेशकेन्द्रित दलहरू फुट्नु हाम्रो लागि नै समस्या भएको छ । मधेशकेन्द्रित दलहरू फुटेर टुक्रा टुक्रामा विभाजन भएको हुनाले नै आज यो स्थिति आएको हो ।


० एजेन्डा मिल्दा पनि तपाईंहरू मधेशी मोर्चामा किन समाहित हुन सक्नुभएको छैन ?
— प्रत्येक पार्टीमा यति टुटफुटको श्रृखंला मधेशको मुद्दामा भयो कि मधेशको मुद्दा त मुद्दा नै होइन भन्ने काठमाडौंका शासक वर्गहरूले सोच्न थाले । म मधेशमा जन्मे, हुर्केर र पढेको मान्छे हुँ । मधेशप्रति कति विभेद भएको छ भन्ने कुरा मैले मधेशीले जत्तिकै बुझ्दछु ।


० तपाई मधेशमा जन्मनु भएको गैरमधेशी हुनुहुन्छ । मधेशमा दुई प्रदेश चाहिन्छ भनिराख्नुभएको छ । तर एमाले लगायतका अन्य केही दलका नेताहरूले मधेशमा दुई प्रदेशको मुद्दालाई राष्ट्रघाती, विखण्डनकारीको माग भनेर आरोप लगाउने गर्छन् नि ?
— मधेशमा दुई प्रदेश मान्न तयार नहुने दलहरू राष्ट्रघाती हुन् । किनकी उनीहरूले यो देशलाई आफ्नै पेवा मात्र भन्न ठानेका छन् । म त एकदम दुई प्रदेशको पक्षमा छु । तर सम्झौता गर्नुपर्ने अवस्थामा शक्ति सन्तुलनको हिसाबले हामी मधेशमा कमजोर छौं । त्यसैले तीन प्रदेशसम्ममा सहमत हन सकिन्छ ।


० संविधान संशोधनको विधयेक टेबुल भइसकेको अवस्थामा अब भोटिङको प्रक्रियामा गयो भने तपाईंहरू कता भोट हाल्नुहुन्छ ?
— हामी परिमार्जनको पक्षमा भोट हाल्छौं ।


० पछिल्लो समयमा एमालेले फोरम लोकतान्त्रिक लगायत अन्य दलहरूसँग कार्यगत एकता गर्दैछ । यो संविधान संशोधनको विपक्षमा भोट हाल्नका लागि भनेर पनि हल्ला छ नि ?
— कुनै पनि दलको अर्को दलसँग छलफल हुन्छ । यो कुनै अनौठो विषय होइन । आन्तरिक छलफलहरू हुनु लोकतान्त्रिक अभ्यास नै हो । अहिलेसम्मको अवस्थामा हामी संविधान संशोधनको विपक्षमा भोट हाल्ने पक्षमा छैनौं ।


० तपाईंहरू संविधान संशोधनको पक्षमा भोट हाल्नुहुन्छ ?
— अहिलेकै विधेयकमा हामी कुनैपनि हालतमा भोट हाल्दैनौं । परिमार्जन सहित संविधान संशोधनको विधयेक आयो भने भोट हाल्छौं । हामी मधेशी मोर्चा जस्तो समय सयमा अडान परिवर्तन गर्दनौं । संविधान संशोधन विधेयक परिमार्जन नभएसम्म हाम्रो भोट आउँदैन ।


० अहिलेकै विधेयकमा त एमाले लगायत अन्य केही दलहरूले विरोध जनाइराखेका छन् अब परिमार्जन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
— राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका जहिले पनि समन्वयनकारी हुन्छ । अहिले तीन ठूला दल यो देशलाई गलत बाटोतर्फ लैजान बराबर जिम्मेवार छन् । कोही तलमाथि छैनन् । कांग्रेस, एमाले र माओवादी केन्द्र यिनीहरू कसैको दोष कसैको भन्दा कम छैन । अर्कोतर्फ हामी मधेश केन्द्रित दलहरू एकजुट हुन नसक्नु हाम्रो कमजोरी रह्यो ।


० एजेन्डा मिल्छ, अन्य सबै राजनीतिक विचारहरू लगभग मिल्छ भने तपाईहरू किन मोर्चामा आबद्ध हुन सक्नुहुन्न ?
— हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारज्यूले मोर्चा बनाउनका लागि प्रत्यनशील हुनुहुन्छ । मोर्चा आफैं हामीबाट टाढा भागेको हो हामी मोर्चाबाट टाढा भागेका छैनौं ।


० मोर्चाले पहल ग¥यो भने तपाईहरू मोर्चामा जान तयार हुनुहुन्छ ?
— हामी मोर्चालाई आफूसँग लिन तयार छौंं ।


० मधेशको सवालमा तपाईंहरूबीच एकता कत्तिको अपरिहार्य छ ?
— हामीबीच एकता हुन नसक्दा नै दोस्रो मधेश आन्दोलनमा ६० जनताले शहादत दिएपनि खासै राजनीतिक उपलब्धि मधेशको पक्षमा हुन सकेन ।


० मधेशी मोर्चा लगायत मधेशी जनताको हक हितका लागि लडिरहेका सबै दल सबै संगठनहरू एकजुट हुने सम्भावना छ ?
— यो अहिलेको अवाश्यकता हो ।


० नेपाल र भारतको सम्बन्धको कस्तो देख्नुहुन्छ ?
— नेपाल र भारत बीचको सम्बन्ध भनेको रोटीबेटीको सम्बन्ध हो । जनता जनताबीच मन मिलेको सम्बन्ध हो त्यो सम्बन्धलाई जत्ति नकार्न खोजेपनि नकार्न सक्दैन । इतिहास, भुगोल, संस्कृति र राजनीतिसँग जोडिएको सम्बन्ध हो हाम्रो । यो सम्बन्ध भन्दा बाहिर गएर कसैले केही परिकल्पना गर्छ भने त्यसको मिथ्या मात्र हुनेछ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशिति मिति : २०७३ साल पुस २९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com