मधेशीहरूको बलिदानी खेर गएको छैन : राजलाल यादव – अध्यक्ष , शहीद रमेशकुमार महतो स्मृति प्रतिष्ठान

शहीदले जति सम्मान पाउनुपर्ने हो, त्यसमा कञ्जुस्याईं भएको छ 

० शहीद रमेश महतोलाई कसरी सम्झिनुहुन्छ ?
— रमेश महतो कर्मठ यौद्धा हुनुहुन्थ्यो । कक्षा ९ मा पढिरहेका छात्र रमेश महतोले मधेशका लागि बलिदानी दिनुभयो । उहाँकै सदीक्षा पूरा गर्नका लागि हामीले शहीद रमेशकुमार महतो स्मृति प्रतिष्ठान स्थापना गरेका छौं । यो प्रतिष्ठानमार्फत हामीले विभिन्न किसिमका कार्यक्रमहरू गरेका छौं ।


० एक दशकमा तीन पटक मधेश आन्दोलन भइसक्यो । वास्तवमा उपलब्धि के भयो त ?
— धेरै उपलब्धि हासिल भएको छ । नेपालमा संघीयता आएको नै मधेश आन्दोलनबाट हो ।े विगतमा बलिदानी दिएका शहीदहरूको मनोकांक्षा पूरा गर्नकै लागि अहिले मधेशीहरू संघर्षमा छन् । तर, केही तत्व शहीदहरूको सदीक्षाविपरीतका क्रियाकलाप गरिरहेका छन् । केही खराब तत्वका कारण हामीलाई अलि अप्ठ्यारो परिरहेको छ । विभिन्न समस्याका बाबजुद जति उपलब्धि हासिल भएको छ, त्यो शहीदहरूकै देन हो ।


० क्षति धेरै र उपलब्धि कम भयो भनेर पनि भनिन्छ । तपाईंलाई के लाग्छ ?
— अरू देशको आन्दोलनको उदाहरण हेर्ने हो भने हाम्रो देशमा धेरै कम क्षति भएको छ । क्षतिको हिसाबले यहाँ उपलब्धि धेरै भएको छ । राजतन्त्रको अन्त्य भएर गणतन्त्र आइसकेको छ । संघीयता आइसकेको छ । यसका साथै धेरै उपलिब्धहरू हासिल भएका छन् । हो, केही अधिकार लिन बाँकी छ । त्यसका लागि संघर्ष भइरहेको छ । जति क्षति भएको छ, त्योभन्दा धेरै उपलब्धि हासिल भएको छ । उपलब्धि भएन भन्नु गलत हो । पहिला अन्तरिम संविधान लागू हुँदा गणतन्त्र थिएन । संघीयता थिएन । तर, आन्दोलन भइसकेकोपछि यी उपलब्धिहरू हासिल भएका छन् । त्यसकारण मधेश आन्दोलनमा मधेशीहरूले दिएको बलिदानी खेर गएको छैन ।


० शहीदका परिवारको अवस्था कस्तो पाउनुभएको छ ?
— शहीदले जति सम्मान पाउनुपर्ने हो, त्यसमा कञ्जुस्याईं भएको छ । म मधेशका सबै शहीदको घर–घरमा गएर दृश्य खिचेको छु । शहीदहरूको सम्झनामा गर्नुपर्ने कामहरू हामी गरिरहेका छौं । यसका लागि हामी चिन्तित छौं । सिरहामा सात जनाले शहादत दिएका थिए । हामीले सातै जनाका नाममा विद्यालय स्थापना गरिएको छ । यसका साथै सबै विद्यालयमा शहीदको शालिक निर्माण हुनुपर्छ भन्ने मेरो भावना छ । केही विद्यालयमा शालिक निर्माण भइसकेको छ, केहीमा निर्माणको क्रम छ । यसका साथै सिरहाका सातै जना शहीद परिवारका सदस्यलाई जागिर लगाउन सफल भएका छौं । यसका साथै शहीदका सन्तानको अध्ययनका लागि छात्रवृतिलगायको व्यवस्था गरेका छौ् ।


० पहिलो र दोश्रो मधेश आन्दोलनका अन्य शहीदका परिवारको अवस्था कस्तो पाउनुभएको छ ?
— सिरहा बाहेक अन्य क्षेत्रका शहीदका परिवारको अवस्था दुखद छ । ५३ जनाले शहादत दिएका थिए, तर ४१ जनालाई मात्र शहीद घोषणा गरिएको छ । १२ जनालाई अझै शहीद घोषणा गरिएको छैन । १२ जनालाई शहीद घोषणा गराउन मैले धेरै प्रयास गरे पनि हुन सकेको छैन । त्यतिबेला गृहमन्त्री विजय गच्छदार हुनुहुन्थ्यो । शहीद घोषणका लागि उहाँलाई मैले पटक–पटक आग्रह गरे । तर, उहाँले कुनै सुनुवाइ गर्नुभएन । उहाँले १२ जनालाई शहीद घोषणा गर्नका लागि प्रस्तावसमेत पेश गर्नुभएन ।


० यसको कारण के होला ?
— उहाँहरूको शहीदप्रति श्रद्धा नभएर होला । किन भने शान्ति समितिले १२ जनाको नाम छुटेको कुरा स्वीकार ग¥यो । १२ जनालाई शहीद घोषणा गर्नुपर्छ भनेर समितिले निर्णय गरेर पाससमेत गरेको थियो । निर्णयको प्रतिलिपि लिएर तत्कालीन गृहमन्त्री कहाँ धाएँ । तर, उहाँहरूले बास्तै गरेनन् । म सिरहाको मानिस हुँ । सिरहा जिल्लाका शहीदहरूका लागि सक्ने जति गरिहेको छु । तर, अन्य ठाउँका शहीदका लागि धेरै काम गर्न सकिएको छैन । अर्को कुरा के छ भने, अन्य जिल्लाका साथीहरूले पनि कुनै चासो देखाएका छैनन् ।


० १२ जनालाई शहीद घोषणाका लागि तत्कालीन गृहमन्त्रीले चासो देखाएनन् । अरू मधेशकेन्द्रित दलले चाहीं कत्तिको प्रयास गरे त ?
— यो विषयमा म प्रष्ट भन्न सक्दिनँ । तपाईंहरूलाई नै थाहा छ । सबैलाई यो कुरा थाहा छ ।


० मधेशकेन्द्रित दलले पनि साथ दिएनन् ?
— यसको जवाफ दिन म असमर्थ छु । जवाफ त्यही हुन्छ ।


० तपाईं पनि फोरम नेपालका नेता हुनुहुन्छ नि ?
— म पनि छु । म के भनूँ । यसका साथै भन्नु नपर्ने कुराहरू छन् । मैले धेरै प्रयास गरेँ । तर, मेरो प्रयास सफल भएन । मेरो आर्थिक स्थिति पनि त्यति मजबुत छैन । मैले प्रयास गर्दा गर्दै थाकेँ । सिरहा जिल्लाका लागि मात्र मैले गरिरहेको छु । तर, दुःख त लाग्छ ।


० प्रतिष्ठानले अहिलेसम्म के–के ग¥यो ?
— मधेश आन्दोलनमा शहादत प्राप्त गरेकाको व्यवस्थापन गर्ने हाम्रो काम हो । मैले हरेक शहीदका नाममा विद्यालय हुनुपर्ने प्रस्ताव गरेको थिएँ । स्कूलका लागि १०–१० हजार दिने सम्झौता तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भएको थियो । यसअनुसार यो रकमको सदुपयोग सिरहामा भयो । सात जना शहीदका नाम विद्यालयको नामाकरण गरिएको छ । तर, अन्य ठाउँको थाहा छैन ।


० सबै शहीद परिवारका सदस्यलाई जागिर लगाउनुभयो ?
— सबैका लागि गर्न सकिएन । सिरहा जिल्लाको मैले गरेँ । अरू ठाउँमा मेरो प्रयास जारी थियो । सिरहाका साथै धनुषामा पनि चार वटा स्कूलको नामाकरण शहीदको नामबाट भएको छ । सप्तरीमा मैले धेरै प्रयास गरेँ, तर हुन सकेन ।
० प्रतिष्ठानले अबका योजना के–के बनाएको छ ?

— धेरै काम बाँकी छ । श्रोत साधन छैन । नेताहरूलाई गुहारिरहेको छु ।

० पहिलो मधेश आन्दोलनकै उचित व्यवस्थापन हुन सकेको छैन ?
छैन । सिरहा बाहेक कुनै जिल्लामा शहीदका परिवारको उचित व्यवस्थापन हुन सकेको छैन ।


० अरू ठाउँमा किन हुन सकेन त ?
— साथीहरूबाट सहयोग पाएनौं । कसैले चासो दिएनन् । म मन्त्री हुँदा आफ्नो हिसाबले काम गरेँ । तर, अरूले साथ दिएनन् । जेजति काम भयो, त्यहि बेला भएको हो ।


० अन्त्यमा, अहिलेसम्मको मधेश आन्दोलनको मूल्यांकन कसरी गर्नुहुन्छ ?
— मधेशकेन्द्रित दलको आह्वानमा आन्दोलन भएको हो । र, आन्दोलनमा शहादत दिने व्यक्ति र तिनका परिवारको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी मधेशकेन्द्रित दलको हो । त्यसअनुसार मधेशकेन्द्रित दलले काम गरेका छन् कि छैनन् भन्ने कुरा सबैलाई थाहा छ । म आफ्नो तवरबाट अझैं प्रयासरत छु ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल माघ ७ गते शुक्रबार ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com