मित्रराष्ट्र भारतलाई शुभकामना

‘गणतन्त्र दिवस’ भारतको एउटा राष्ट्रिय पर्व हो जुन प्रति वर्ष २६ जनवरीका दिन मनाइने गरिन्छ । २६ जनवरीकै दिन सन् १९५० मा भारत सरकार अधिनियम (एक्ट) (१९३५) लाई हटाएर भारतको संविधान लागू गरिएको थियो । भारत एक स्वतन्त्र गणराज्य बनाउन र देशमा कानूनी राज स्थापित गर्नका लागि संविधानको २६ नवम्बर १९४९ मा भारतीय संविधानसभाद्वारा अपनाइएको र २६ जनवरी १९५० मा यसलाई एक लोकतान्त्रिक सरकार प्रणालीका साथ लागू गरिएको थियो ।

२६ जनवरीको गणतन्त्र दिवस समारोहमा भारतीय राष्ट्रपतिद्वारा भारतीय राष्ट्रध्वज फहराई त्यसपश्चात् सामूहिक रूपमा राष्ट्रगान गाइन्छ । गणतन्त्र दिवसमा पूरै भारत र खासगरी भारतको राजधानी दिल्लीमा एकदम उत्साहका साथ मनाइन्छ । त्यसैगरी, विभिन्न देशहरूमा रहेका भारतीय राजदूतावासमा समेत भारतको गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै आएको छ । विश्वकै समृद्ध शक्तिराष्ट्रको रूपमा उदाउँदै गरेको छिमेकी मित्रराष्ट्र भारतले बिहीबार ६८औं गणतन्त्र दिवस मनाएको छ । भारतलाई विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको रूपमासमेत चिनिन्छ । बेलायती उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरी गणतन्त्र घोषणा गरिएको दिवसलाई गणतन्त्र दिवसको रूपमा मनाइने गरिएको छ ।

भारत आजभन्दा ६८ वर्ष पूर्व कस्तो थियो र आजको अवस्था कस्तो हो भन्ने कुराको अध्ययन गर्ने हो भने अहिले विश्वकै समृद्ध शक्तिराष्ट्रको रूपमा उदाउँदै गरेको छ । अमेरिका र चीनलाई समेत समृद्धिको दिशामा पन्छाउन खोज्दैछ भारतले । भारतको राजनीतिक संस्कार र जनताप्रति जनउत्तरदायित्व हुनुपर्ने कुराहरू नेपालका नेताहरूमा छैन । विश्वकै शक्तिशाली प्रधानमन्त्रीको रूपमा पहिचान बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाली नेताहरूले पाठ सिक्नुपर्ने हुन्छ । भारतलाई समृद्धितर्फ डो¥याउनका लागि जुन किसिमका नीति, नियम तथा अभियानहरू चलाइएको छ त्यो तुलनामा नेपाली नेताहरूमा केही पाइँदैन । नेपालमा केही नराम्रो भयो भने केही अन्धराष्ट्रवादीहरूले भारतले नै गरेको भन्ने अफवाह फैलाउँछन् तर, नेपालको समृद्धिका लागि भारतले गर्दै आएको सहयोगको मूल्यांकन गर्दैन । भारतले नेपालका हरेक क्षेत्रमा जस्तै, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत लगायतमा वर्षेनी अर्बौंको लगानी गर्ने गरेको तथ्यांक छ । विश्वकै अनुपम सम्बन्ध रहेको भारत र नेपालबीच सम्बन्धलाई अन्य मुलुकसँग दाँज्न मिल्दैन । भारतले नेपालको हरेक दुःख सुखमा साथ दिँदै आएको छ ।

छिमेकी मुलुक समृद्ध भए आफू पनि समृद्धिको बाटोमा जान सजिलो हुने मान्यता बोकेको छिमेकी मुलुक भारतले नेपालको समृद्धिका लागि काँधमा काँध मिलाएर अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा गरिएको सम्बोधनबाट प्रष्ट हुन्छ । चीनको उदय पछि विश्वमा उदीयमान अर्थशक्तिको रूपमा भारतलाई प्रक्षेपण गरिएको छ । चीनको अर्थतन्त्रमा देखिएको आर्थिक बृद्धिको सुस्तताले विश्वजमातलाई चिन्तित तुल्याइरहेको बेला भारतको उदाउँदो अर्थतन्त्रप्रति विश्वास बढदै गएको छ । विश्वका लागानीकर्ताहरूको रूचि भारतमा लगानी गर्नेतर्फ बढदै गएको छ । भारतले चुनौतीका बीच आफ्ना छिमेकीहरूसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिएआएको छ । अतः छिमेकी मित्रराष्ट्र भारतको ६८औं गणतन्त्र दिवसको अवसरमा समस्त भारतीय जनता हार्दिक बधाई तथा शुभकामना ।

प्रकाशित मिति : २०७३ साल माघ १४ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com