नेपाल र भारतबीचको सम्बन्ध अनुपम छ : राधा कायस्थ, उपाध्यक्ष (नेपाल–भारत महिला मैत्री समाज)

जनताबीचमा कुनै किसिमको सम्बन्ध बिग्रिएको छैन ।

० नेपाल–भारत महिला मैत्री समाज संगठनले के काम गर्छ ?
— यो संगठनको मुख्य उद्देश्य नेपाल र भारतबीच परापूर्वकालदेखिको सम्बन्धलाई प्रगाढ बनाउने नै हो । यसका साथै दुई देशको महिलाको अवस्था हेर्ने हो भने करिब–करिब धेरै समानता छ । दुवै देशका ग्रामिण क्षेत्रको महिलाको अवस्थामा अझै सुधार आउन सकेको छैन । त्यही भएर दुवै देशका महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो संगठन बनाएका हौं  । यसका साथै दुवै देशका महिलाको प्रगति होस् भन्ने हामीले उद्देश्य लिएका छौं ।


० यो संगठनले अहिलेसम्म के–कस्ता काम गरिसक्यो त ?
— हालसम्म यो संगठनले ३१ वटा कार्यक्रम गरिसकेको छ । हामीले केही दिनअघि भारतीय दूतावासको सहयोग जनकपुरमा पनि एउटा कार्यक्रम गरेका थियौं । नेपाल र भारतका कलाकारहरूले सांस्कृतिक कार्यक्रम गरेका थिए । यसका साथै दुवै देशका विभिन्न क्षेत्रमा हामीले काम गरिरहेका छौं । गत वर्ष हामीले नेपालबाट नेताहरूको टोलीलाई लिएर दिल्ली गएका थियौं । त्यहाँ दुवै देशका राजनीतिक अनुभव आदानप्रदानको काम भयो । एक महिनाअघि भक्तपुरमा हामीले महिलासँग सम्बन्धित कार्यक्रम गरेका थियौं । हामीले भक्तपुरमा सिलाइ कटाइको कार्यक्रम गरेका थियौं । त्यसमा ५० जना महिला सहभागी भएका थिए ।


० यो संगठनको अबका योजनाहरू के–के छन् ?
— नेपाल भारतको सम्बन्धमा बीचबीचका समस्या पनि आउने गरेको छ । यस्ता समस्याको निराकरणका साथै दुवै देशको सम्बन्ध प्रगाढ पार्नु यो संगठनको काम हो । यसका साथै महिलाहरूको संस्था भएकाले दुवै देशका महिलाको उन्नतिका लागि काम गरिँदैछ । महिलाहरूलाई सामाजिक र आर्थिक रूपमा सशक्त पार्न विभिन्न कार्यक्रम गर्ने हाम्रो योजना छ । यसका साथै समाजमा व्यापक कुरीतिहरूको अन्त्यका लागि पनि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौं ।


० भारतीय दूतावासको आयोजनामा नेपाल र भारतका कलाकारबाट केही दिनअघि जनकपुरमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । यस्तो किसिमको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतको सम्बन्ध मजबुत पार्न कत्तिको सहयोग गर्छ ?
— पक्कै पनि यस्ता कार्यक्रमले नेपाल र भारतको सम्बन्ध मजबुत पार्न एकदमै सहयोग गर्छ । जनकपुरमा भएको कार्यक्रम पूर्वोत्तर भारत मणिपुरीका कलाकारहरू जनकपुर आएका थिए । यसका साथै जनकपुरमा रहेको मिथिला नाट्य परिषद्का कलाकारहरूले पनि सांस्कृतिक कार्यक्रम गरेका थिए । यो कार्यक्रम हेर्न हल नै भरिएको थियो । यस्तो कार्यक्रमले हाम्रो मिथिलाको संस्कृतिबारे उनीहरूले जान्न पाए । यसका साथै जनकपुरबासीले मणिपुरी संस्कृतिको बारेमा पनि अवगत हुन पाए ।


० नेपालका कलाकारहरूलाई पनि भारत लगेर कार्यक्रम गर्ने कुनै योजना छ ?
— योजना छ । हामीले कलाकारिता क्षेत्रका साथै अन्य क्षेत्रमा पनि अनुभव आदान प्रदानका कार्यक्रम गर्दै आएका छौं । साहित्य, राजनीतिका साथै महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेका छौं ।


० महिलाहरूको उत्थानका लागि अबका दिनमा कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ । विशेष गरी मधेशी महिलाका लागि के कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?
— सर्वप्रथम त हामीहरूलाई आर्थिक रूपमा सबल बनाउन चाहन्छौं । आर्थिक रूपमा सबल नभएसम्म कुनै पनि क्षेत्रमा अगाडि बढ्न गाह्रो हुन्छ । यसका लागि हामीले मधेशमा पनि सिपमुलक तालिमको योजना लिएर जाने सोचेका छौं । यसका साथै महिलाहरूमा राजनीतिक चेतना अभिवृद्धिका लागि पनि कार्यक्रम गर्ने योजना बनाएका छौं ।


० अहिलेसम्म महिलाकेन्द्रित के–कस्ता कार्यक्रम भइसकेका छन् ?
— हामीले मधेश आन्दोलनअघि चेलिबेटी बेचविखन रोक्नका लागि कार्यक्रम गरेका थियौं । पछिल्लो समय चेलिबेटी बेचविखनको समस्या मधेशमा पनि देखिन थालेको छ । यसका साथै हामी महिला हिंसासँग सम्बन्धित कार्यक्रम पनि गरेका थियौं । महिला हिंसा मधेशमा विकराल समस्याका रूपमा देखिएको छ ।


० नेपाल–भारत महिला मैत्री समाज नामक संगठनको आवश्यकता किन प¥यो त ?
— अहिलेसम्म नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने प्रयास पुरूषबाटै भएको छ । यसका साथै नेपालको राजनीतिक, सामाजिक, आर्थिकलगायत हरेक क्षेत्रमा पुरूषको हालीमुहाली रहेको छ । दुवै देशमा पुरूषकै वर्चस्व रहेको छ । त्यही भएर हामीले दुवै देशमा महिलाको पहुँच बढाउन हामीले यो संगठनको स्थापना गरेका हौं ।


० नेपाल–भारतका सीमा क्षेत्रका महिलाहरूका के कस्ता समान समस्याहरू पाउनुभएको छ ?
— सीमा क्षेत्रका दुवै देशका महिलाहरूमा समान समस्या रहेको छ । हाम्रो संस्कृति, भाषा, भेषभूषा एउटै छ । विशेष गरी सामाजिक कुरीति, अन्धविश्वास, दाइजोप्रथालगायत समस्या यस क्षेत्रमा बढी देखिन्छ । यसका साथै महिलामा चेतनाको अभाव, महिला हिंसालगायत समस्या दुवै देशमा छ ।


० नेपाल र भारतबीचको सम्बन्ध सुधारमा तपाईंहरूको संगठनले कस्तो भूमिका निर्वाह गर्छ ?
— हाम्रो संगठनले राम्रो प्रयास गरिरहेको छ । हामीले नेपाल र भारतबीचको सम्बन्ध अझै सुदृढ गर्न जनस्तरमा कार्यक्रमहरू गर्दै आएका छौं । हामीले केही दिनअघि जितियाको कार्यक्रम गरेका थियौं । त्यसबेला भारतका महिलाहरूलाई पनि बोलाएका थियौं । तल्लोस्तरबाट दुवै देशका विचारको आदान प्रदानको प्लेटफर्मको रूपमा पनि यो संगठन रहेको छ ।


० तपाईंहरूको संगठनले भारत पनि गएर कुनै कार्यक्रम गर्ने सोच बनाएको छ ?
— हामीहरूले यताका कलाकारहरूलाई लिएर भारतमा कार्यक्रम गर्नका लागि योजना बनाइरहेका छौं ।


० नेपाल र भारतको सम्बन्ध अहिले कस्तो छ ?
— नेपाल र भारतको सम्बन्धमा सुधार आइरहेको छ । हुन त केही व्यक्तिमा भारतप्रति नकारात्मक दृष्टिकोण देखिएको छ । यो समस्याको निदान विस्तारै हुँदै जान्छ ।


० यस्तो दृष्टिकोण किन आएको होला ?
— यो राजनीतिक कारणले मात्र हो । राजनीतिक स्वार्थका कारण केहीले भारतलाई बद्नाम गर्ने प्रयास गरिरहेका हुन्छन् ।


० नेपाल र भारतबीच खुला सिमाना छ । खुला सिमानाका फाइदाहरू के–के छन् ?
— नेपाल र भारतबीच विश्वकै अनुपम सम्बन्ध छ । नेपाल र भारतबीच रगतको नाता छ । खुला सिमाना हामी नेपाली र भारतीयका लागि पनि राम्रो हो । यो सम्बन्धलाई कायम राख्नुपर्छ । दुवै देशका एकअर्काका आफन्तहरू छन् । गाउँघरतिर नुन र चिनी किन्न पनि भारतमै जाने एक किसिमको परम्परा नै छ ।


० वैदेशिक रोजगारीका भारत जानेहरूले पनि अब अनुमति लिनुपर्ने प्रावधान सरकारले ल्याउँदैछ । के भन्नुहुन्छ ?
— यो उचित होइन । खास गरी मधेशीलाई दुःख दिनका लागि यो प्रावधान ल्याइँदैछ । किन भने भारतसँग मधेशीकै सम्बन्ध बढी छ । भारतमा सबभन्दा बढी आवतजावत मधेशीकै छ । गाउँघरका मानिस जो दिल्ली, पञ्जाव कमाई गर्न जान्छन्, उनीहरूलाई त समस्या हुन्छ नि । यो निर्णयविरूद्ध हामीले आवाज उठाउँछौं ।


० नेपाल र भारतबीचको सम्बन्ध अझै प्रगाढ बनाउन के गर्नुपर्ला ?
— जनताबीचमा कुनै किसिमको सम्बन्ध बिग्रिएको छैन । केही व्यक्ति चाहीं सम्बन्ध विगार्न उद्यत देखिन्छन् । दुवै तर्फबाट सम्बन्ध सुधारका लागि प्रयास आवश्यक छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल माघ १४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com