एमालेको विरूद्धमा सशक्त आन्दोलन गर्नुपर्छ : अमनलाल मोदी , नेता, नेकपा (माओवादी केन्द्र)

अबको आन्दोलनले विद्रोहको रूप लिने सम्भावना छ

० ठूला तीन दलले मधेशी मोर्चाको मागप्रति ध्यान दिन छाडेर चुनावलाई अलि बढी प्राथमिकता दिए भनेर आरोप लाग्न थालेको छ नि ?
— पछिल्लो चरणमा जुन रूपमा राजनीति अगाडि बढिरहेको छ । मधेशी, जनजाति, थारूको मागहरूलाई सम्बोधन गरेर मात्र चुनावको मिति घोषणा गर्दा सबैको सहमति हुन्थ्यो । सबै राजनीति दलको एजेन्डालाई सम्बोधन गर्दा अगाडि बढ्न सजिलो पर्दथ्यो । अहिलेको समयमा नेकपा एमाले मधेशी, जनजाति, थारू, दलित विरोधी भएर नश्लवादी पार्टीको रूपमा देखा परेको छ । नेकपा एमाले दोस्रो ठूलो दल भएर प्रतिपक्षमा छ । मधेशी, दलित, थारूहरूको माग सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता रहेको छ भने प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले चुनावको मिति घोषणा गर्नका निम्ति दबाब दिईरहेको छ । माओवादी पार्टी कहिले पनि नेकपा एमालेको पिक्षलगु बन्न सक्दैन । मधेशको माग सम्बोधन नगरीकन त्यहाँ रहेका थारूहरूको माग सम्बोधन नगरीकन, पहाडमा रहेका मगरहरूको माग सम्बोधन नगरीकन नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारले चुनावको मिति घोषणा गर्दैन ।


० माओवादी पार्टी के चाहन्छ ? संविधान संशोधन कि चुनाव ?
— माओवादी त यो देशमा उत्पीडनमा परेका जातजाति, वर्ग, समुदाय, लिंग सबैलाई अधिकारको प्रत्याभूति हुनेगरी संविधान संशोधन हुनुपर्छ भन्ने चाहन्छ ।


० यही कुरामा मधेशी मोर्चासँग सहमति भएको थियो तर अहिले यो कुरालाई पछाडि धकेलेर चुनावको कुरालाई अगाडि ल्याइयो नि किन ?
— माओवादीले १० वर्षे जनयुद्ध लड्दा जनजाति, मधेशी, मुस्लिम, थारूको बारेमा धेरै सवालहरू उठायो । संविधानसभाको, समानुपातिक, समावेशीताको एजेन्डा माओवादीले नै उठाएको हो । माओवादीले सीमांकनमा पहिचान संहितको संघीयता हुनुपर्छ भन्दा दोस्रो संविधानसभामा जनताले भोट दिएनन् । एकातिर मधेशीहरू सबैभन्दा नश्लवादी पार्र्टी एमाले र कांग्रेस हो भन्छन् तर भोट माओवादीलाई घटाएर एमाले, कांग्रेसलाई नै दिन्छन् अर्कोतिर पहाडेहरू पनि माओवादी त मधेशीको पार्टी हो भनेर हामीलाई भोट दिँदैनन् । जसको एजेण्डालाई माओवादीले नेतृत्व गरिरहेको छ जनताले त्यसलाई समर्थन गर्नुपर्छ यदि त्यस्तो गर्ने सकिएन भने अर्को पक्षले फकाईफुल्याई गरेर भोटको राजनीति गर्र्छ ।


० यदि माओवादीले उत्पीडित समुदायको प्रतिनिधित्व गर्छ भने आफ्नो नेतृत्वको सरकार भएको समयमा संविधान संशोधनलाई प्राथमिकतामा राख्नुपर्ने होइन र ?
— अधिकारको सवाल माओवादीले उठायो भोटजति सबै कांग्रेस र एमालेलाई दिइयो । हाम्रो सिट ८४ वटा छ हामीले चाहेर मात्र संविधान संशोधन हुने होइन । माओवादीले संविधान संशोधनलाई प्राथमिकता नदिएको भन्न मिल्दैन एमालेको चाहना नभएर संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नसकेको हो ।


० त्यसोभए चुनावको विषयलाई अगाडि ल्याउनु माओवादीको बाध्यता हो ?
— बाध्यता होइन अहिलेको आवश्यकता पनि होला । तर, मेरो व्यक्तिगत धारणा संविधान संशोधन गरेर जबसम्म थारू, मधेशी, आदिवासीको माग सम्बोधन गर्नुहुन्न तबसम्म चुनावको घोषणा गर्नुभयो भने त्यो असफल हुन्छ । जुन विषयमा मधेशी र थारूसँग सहमति भएर यो सरकारको निर्माण भएको छ त्यसलाई बेवास्ता गर्दै चुनावको विषयमा अगाडि बढ्न थालियो भने सरकार माथि प्रश्न उठ्न थाल्छ । यदि संविधान संशोधन नगरी चुनाव घोषणा गर्नुभयो भने पार्टीको निर्देशन मानेर म त चुनावमा सहभागि हुँला तर लाखौं मधेशी, थारू, आदिवासी र उत्पीडनमा परेका जातजातिहरूले चुनावलाई बहिष्कार गर्न सक्छन्, आन्दोलन हुनसक्छ र यो आन्दोलनले विद्रोहको रूप लिने सम्भावना रहन्छ ।


० तपाईले पार्टीभित्र पनि यो विषयमा दबाब दिइराख्नुभएको होला । प्रधानमन्त्रीले तपाईहरूको दबाब कत्तिको सुन्नुहुन्छ ?
— प्रधानमन्त्रीले त हाम्रो कुरा नसुन्ने भन्ने हुँदै हुँदैन । कांग्रेस र एमालेले सबै कुरा बिगारे । हिजोसम्म शासनसत्ताको बागडोर समालिरहेका राजनीतिक दलका नेताहरू उत्पीडनमा परेका जातजातिहरूलाई अधिकार नै दिन चाहाँदैनन् । यो वा त्यो बहानामा अनेक षड्यन्त्र, जालझेल गरिरहेका छन् अधिकार आफूले मात्र लिइरहुँ र अरू सधैं पछाडि नै परिरहँुन् भन्ने सोचले ग्रस्त भएकाहरूसँग मागेर अधिकार पाइदैंन । त्यसको नीति खबरदारी, संघर्ष र आन्दोलनको विकल्प छैन ।


० एमालेले त संविधान संशोधनको विरोध गरिरहेकै छ, कांग्रेस र माओवादी पनि किन अगाडि बढ्न सकेन ?
— कांग्रेस कस्तो पार्टी हो इतिहास बताउन नपर्ला । कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि सानातिना कुरामा अल्झिरहेको छ देशमा आएको समस्याको नेतृ वगर्ने क्षमता कांग्रेसमा छैन । माओवादीले अधिकारका लागि यति ठुलो संघर्ष गरेको छ त्यसैले माओवादी एमाले र कांग्रेस जस्तो पुरानै अवस्थामा रहन सक्दैन । माओवादीको पनि केही विषयमा कमजोरी रह्यो होला हामी त्यसको समीक्षा गर्छौं जनताले पनि समीक्षा गर्नुप¥यो र अर्को चुनावमा माओवादीलाई दुई तिहाई बहुमतद्वारा विजयी गराउनु पर्छ त्यसपछि उत्पीडनमा परेका समुदाय राज्यको मूल प्रवाहमा आउन सक्छन् ।


० मधेशी मोर्चाले त चुनाव नै हुन दिँदैनौं भनिरहेको छ के गर्नुहुन्छ ?
— उहाँहरूको जायज मागलाई सम्बोधन गर्नुपर्छ भनेर त सधैं भनिरहेकै छु । संविधान संशोधन पनि गरौं यता चुनाव पनि घोषणा गरौं भनेर प्रधानमन्त्रीले भनिराख्नुभएको छ । त्यसैले त बालुवाटारमा बारम्बार मधेशी मोर्चाका साथीहरूलाई छलफलमा बोलाइराख्नुभएको छ । सरकार यस्तो चुनौतीको बिचमा उभिएको छ संविधान संशोधन गरौं आफूले भनेजस्तो भएन भनेर मधेशी, थारूहरू आन्दोलन गर्नेवाला छन् । अर्कोतिर एमालेले संविधान संशोधन गर्नुुहँदैन चुनावको मिति घोषणा गर्नुप¥यो भन्छन्, यदि सरकारले चुनाव घोषणा ग¥यो भनेपनि मधेशी मोर्चाले मान्नेवाला छैन यस्तो दोधारको बिचमा एउटै विकल्प भनेको सरकारले थारू र मधेशीको अधिकारको केही मागहरूलाई सम्बोधन गरेर चुनाव मिति घोषणा ग¥यो भने सरकार सफल हुन्छ ।


० यी विभिन्न चुनौतीको बिचमा सरकार कसरी अगाडि बढ्नुपर्ला ?
— मधेशी मोर्चा र नेकपा एमालेसँग छलफल गदै संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर केही कुराहरूमा परिमार्जन गरेर अगाडि बढ्दै चुनावको मिति घोषणा गर्नु उपयुक्त होला ।


० समय पनि बित्दै गइरहेको छ यो सरकारको समय त अब तीन महिना मात्र बाँकी छ नि ?
— कुन दस्तावेजमा लेखेको छ । यही सरकार २÷३ वर्षसम्म जान्छ । कांग्रेससँग सहमति त भएको होला तर पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा प्रचण्ड बिनाको सरकार कसैले कल्पना गर्छ भने यो देशमा उत्पन्न भएको कुनै समस्याको समाधान हुनेवाला छैन ।


० प्रचण्ड नेतृत्वको सरकारले चुनावको मिति घोषणा गर्ने देउवाले चुनाव गराउने भन्ने सहमति थियो नि ?
— यो सहमतिको म साक्षी होइन । अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । देशमा उत्पन्न भएका सबै समस्याहरूको समाधान जहिलेसम्म निस्कदैन त्यतिबेलासम्म यही सरकार रहन्छ ।


० मधेशी मोर्चाको मागलाई एमाले राष्ट्रघाती भन्छ, एमालेलाई मधेशी मोर्चा मधेश विरोधी पार्टी भन्दैछ अब कसरी अगाडि बढ्न सकिएला ?
– नेकपा एमालेको विरूद्धमा तराईमा सशक्त आन्दोलन गर्नुपर्छ । किनकी एमाले नश्लवादी पार्टी हो । संविधान संशोधन सहितको चुनावको घोषणा गर्नु अहिलेको समस्याको एक मात्र समाधान हो । सबै राजनीतिक दलहरूले आफ्नो पार्टी भन्दा माथि उठेर देशको बारेमा सोच्नुपर्छ । राष्ट्रप्रति चिन्ता गरौं अनि मात्र समस्याहरू समाधान गरेर देशलाई अगाडि बढाउन सकिन्छ ।


० नेपालको राजनीतिक घटनाक्रममा भारतको प्रभाव छ भनेर विभिन्न आरोपहरू लाग्ने गरेको छ । यस्ता आरोपहरूले गर्दा नेपाल र भारतको सम्बन्धमा कस्तो असर पर्ने गर्छ ?
— यो दुर्भाग्य हो । एउटा छिमेकी मुलुकसँग जुन व्यवहार नेकपा एमालेले देखाइरहेको छ हिजोसम्म भारतकै नुन खाएर भारतको दलाल भएर हिंड्ने नेकपा एमालेकै नेताहरू हुन् । अहिले पछिल्लो समयमा खोक्रो राष्ट्रवादको नारा दिएर नेकपा एमालेले छिमेकी मुलुकहरूसँग सम्बन्ध बिगार्ने काम गरिरहेको छ । राष्ट्रवादको नाममा त्यसले भविष्यमा धेरै असर गर्नेवाला छ । संविधान संशोधन, चुनावको घोषणा यी सबै विषयहरू नेपालको आन्तरिक मामिलाहरू हुन् यसमा भारतको कुनै सम्बन्ध छैन । हामीले एक असल छिमेकीको रूपमा भारतलाई लिनुपर्छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश) प्रकाशित मिति :  २०७३ साल माघ २१ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com