संशोधन गर, निर्वाचनमा जाऊ

परिमार्जनसहितको संशोधन गरी निर्वाचनमा जानु एक उत्तम विकल्प हो 

मुलुक अहिले गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । नेपालको इतिहासमा पहिलोचोटि जनताका जनप्रतिनिधिहरूले बनाएका संविधान घोषणा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन हुने अवस्था छैन ।

जारी गरिएको नेपालको संविधान २०७२ प्रति नेपालका अधिकांश जनता असन्तुष्ट छन् । जसले गर्दा कार्यान्वयन हुनै नसक्ने स्थितिमा छ । नेपालमा अहिलेसम्म जति पनि उपलब्धिहरू प्राप्त भएको छ त्यो सबै आन्दोलन र संघर्षबाट नै हो । गणतन्त्र, लोकतन्त्र र संघीयताका लागि ठूलठूला आन्दोलनहरू भए, हजारौंले बलिदानी दिए तर, ती उपलब्धिहरू समाप्त हुनेतिर लागेका छन् । नेपालमा अहिलेसम्म राष्ट्रिय नेताको अभावकै कारणले नेपाली जनताको बलिदानी र संघर्षबाट प्राप्त उपलब्धिहरू गुम्ने संघारमा पुगेका छन् । नेपालको वर्तमान संविधान कार्यान्वयन नभएसम्म ती उपलब्धिहरू संस्थागत हुननसक्ने भएकोले संविधान कार्यान्वयनको पहिलो सर्त नै सबैको अपनत्व महसुस हुने गरी संशोधन गर्नु हो । संविधान एउटा गतिशील दस्तावेज हुन्छ ।

जसमा समय र जनताको मागअनुसार परिमार्जित गर्दै जानुपर्ने हुन्छ । अहिले संसद्मा टेबुल गरिएको संविधान संशोधन विधेयकलाई आवश्यक परिमार्जनसहित पारित गरेर मात्र लागू हुने देखिन्छ । संविधान जारी गर्ने मुख्य दलहरूले स्वीकार गरिसकेका छन् कि संविधान हजारमा जारी भएकोले त्यसमा त्रुटिहरू छन् । ती त्रुटिहरूलाई अविलम्ब सच्याई मुलुकलाई निकास दिनुपर्ने जिम्मेवारी ठूला दलका नेताहरूको छ ।

तर, राजनीतिक दलका नेताहरू सबै आआफ्नै अडान र सत्तामोहका कारण मुलुक अनिर्णयको बन्दी बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९० प्रतिशतले बनाएको संविधान भन्दै धाक देखाउँदै संविधान संशोधनलाई राष्ट्रघातको रूपमा विश्लेषण गर्दैछ । तर, संविधान जारी गर्ने प्रमुख दल कांग्रेसले यो संविधान संशोधन नगरिकन लागू हुन नसक्ने भन्दै संशोधन गर्नुपर्ने बताउँदै आएको छ । यता, संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गरेर आन्दोलनमा जाने चेतावनी आन्दोलनरत् मधेशी मोर्चाले दिँदै आएको छ । संविधान कानूनी दस्तावेज मात्रै नभएर सामाजिक स्वीकार्यताको विषय पनि हो ।

नागरिकले अपनत्व बोध नगरेको दस्तावेज कानूनीरूपमा जतिसुकै राम्रो भएपनि दीर्घजीबी हुनसक्दैन । संशोधनमा खोजिएका कुराहरूले मुलुकको अखण्डता, राष्ट्रियता र एकतामा असर पु¥याउँदैन भन्ने कुरा सबैलाई ज्ञात नै छ । त्यसैले, परिमार्जनसहितको संशोधन गरी निर्वाचनमा जानु एक उत्तम विकल्प हो । 

प्रकाशित मिति : २०७३ साल माघ १० गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com