संविधान संशोधनपछि मात्र चुनाव गराउनुपर्छ : मणि थापा, नेता, नेकपा माओवादी केन्द्र

अहिलेकै एजेण्डाबाट मधेशका सम्पूर्ण समस्या समाधान हुन्छ भनेर भन्न सकिँदैन 

० अहिलेको राजनीतिक गतिरोध अन्त्य हुन नसक्नुको कारण के देख्नुहुन्छ ?
— अहिलेको राजनीति गतिरोध अन्त्य हुन नसक्नुको मुख्य कारण नेकपा एमाले हो । संविधान संशोधन हुनुपर्ने मधेशी मोर्चाको दृष्टिकोण ठिक छ । किन भने समग्र राष्ट्रलाई एकताबद्ध नगरिकन संविधान कार्यान्वयन हुने अवस्था छैन । सरकारले पनि आफ्नो ठाउँबाट सबैलाई समेटेर लैजान प्रयत्न गरिरहेको छ । तर, नेकपा एमालेको अडानका कारण केही काम रोकिएका छन् । त्यसकारण सबै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुको विकल्प छैन । जनयुद्धको धार, जनआन्दोलनको धार, मधेश आन्दोलनको धार यी तीनवटै मुख्य धारहरू मिलेर अघि बढ्नुपर्छ । यी तीनवटै धार सहमतिमा आउने र संविधान संशोधन गर्दै अगाडि बढ्नुपर्छ ।


० नेकपा एमाले नै बाधक हो ?
— मुख्य बाधक नै नेकपा एमाले हो । नेकपा एमाले दोश्रो ठूलो दल हो । नेकपा एमालेको मधेशप्रतिको दृष्टिकोण राम्रो देखिएको छैन । यसका साथै संविधान संशोधनलाई पनि अस्वीकार गरिरहेको छ । मधेशलाई अस्वीकार गरेको छ । जनजातिलाई पनि अस्वीकार गरेको हुनाले यो सम्पूर्ण प्रक्रियाको अवरोधका कारण एमाले रहेको प्रष्ट देखिएको छ नि ।


० सरकार पछिल्लो समय चुनावलाई किन प्राथमिकतामा राखेको छ ?
— सरकारसँग आफ्नै किसिमका समस्या हुने गर्छ । जसरी फास्ट ट्रयाकमा अघि बढ्नुपर्ने थियो, त्यसअनुसार सरकार पनि अगाडि बढ्न सकेको छैन । यसमा सरकारको आन्तरिक कारणहरू पनि हुन सक्छन् । आफूले भनेको कुरा मधेशकेन्द्रित दलले मानिदिँदा राम्रो हुन्थ्यो भन्ने सरकारको मनोभावना छ ।


० संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारलाई कसैले रोकेको छैन नि ?
— त्यो त पक्का हो । सरकारले नै यसको पहलकदमी लिनुपर्दथ्यो । यसमा पनि अलिकति ढिलाइ भएको छ । यसमा सरकारभित्र पनि कुरा नमिलिरहेको देखिन्छ ।


० संविधान संशोधनभन्दा चुनावले चर्चा पाउनुलाई मधेशकेन्द्रित दलले षड्यन्त्रका रूपमा हेरिरहेका छन् नि ?
— संविधान संशोधन गर्नुपर्ने कुरामा सरकार र नेकपा माओवादी केन्द्र प्रष्ट छ । संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने कुरामा पनि हामी प्रष्ट छौं । तर, यो सरकारमा नेपालको ठूलो दल नेपाली कांग्रेस पनि छ । मलाई लाग्छ, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमा केही तालमेल मिलिरहेको छैन ।


० पछिल्लो समय नेपाली कांग्रेसका शीर्ष नेताहरूले पनि पहिला चुनाव गर्नुपर्ने भनेर अभिव्यक्ति दिन थालेका छन् । के भन्नुहुन्छ ?
— हो । त्यसकारण पनि सरकारलाई अप्ठयारो परेको हुन सक्छ । सत्तारूढ दलबीच तालमेल मिलिरहेको देखिएन ।


० सत्तासाझेदार दलहरूबीच ठूलै मतभेद पाउनुहुन्छ ?
— होइन । ठूलो मतभेद छैन । जुन गतिमा अगाडि बढ्नुपर्ने थियो, त्यसअनुसार बढ्न नसकेको हो । पहिला संविधान संशोधन गरेर चुनावमा जानुपर्ने कुरामा माओवादी दृढ छ । तर, नेपाली कांग्रेसका केही नेताले संविधान संशोधनभन्दा चुनावलाई प्राथमिकतामा राख्न चाहन्छन् । त्यसकारण कांग्रेस र नेकपा एमालेबीच पछिल्लो समय यस विषयमा केही समानता देखिन थालेको छ । यो कुराले प्रधानमन्त्रीलाई बाधा दिइरहेको छ ।


० तपाईंको विचारमा पहिला संविधान संशोधन कि चुनाव ?
— सिंगो मधेशलाई राष्ट्रिय राजनीतिको मूलप्रवाहमा ल्याउने प्रमुख उद्देश्य हुनुपर्छ । यो हाम्रो अहिलेको मुख्य एजेण्डा हो । संशोधनबिना मधेशवादी दलहरू मूलप्रवाहमा नआउने परिस्थिति बनेकाले पहिला संशोधन नै गरिनुपर्छ । संशोधनको प्रक्रिया सुरू गरिनुपर्छ । संशोधन प्रक्रिया पूरा भइसकेपछि मात्र चुनाव जानुपर्छ ।


० तर, सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी गर्न भनिसकेको छ नि ?
— सरकारले गर्ने काम विभिन्न किसिमबाट हुन्छ । तर, अहिलेसम्म पार्टीभित्र भएका छलफलको निष्कर्ष पहिले संविधान संशोधन नै हो ।


० मधेशी मोर्चाका माग सम्बोधनका लागि सरकारले ल्याएका एजेण्डा तपाईंलाई कस्तो लाग्यो ?
— अहिलेकै एजेण्डाबाट मधेशका सम्पूर्ण समस्या समाधान हुन्छ भनेर भन्न सकिँदैन । मधेशमा मध्यमार्ग कमजोर हुँदै गएको भन्ने विश्लेषणहरू आउन थालेका छन् । जसले गर्दा अतिवादीहरू आउने सम्भावना छ । त्यसकारण मूल मागहरू पूरा गर्नुपर्छ । बाँकी मागहरूलाई चुनावमा एजेण्डा बनाएर अघि बढ्दा हुन्छ ।


० तर, मधेशकेन्द्रित दलहरूले संविधान संशोधन विधेयकमा थप परिमार्जन खोजिरहेका छन् नि ?
— त्यसको बारेमा बसेर छलफल गर्नु नै उपयुक्त हुन्छ । परिमार्जनको आवश्यकता रह्यो । तर, के के परिमार्जन गर्ने कुरा अझै प्रष्ट रूपमा आउन सकेको छैन । अहिले जे संशोधन प्रस्ताव आएको छ, त्यो नै मिलनबिन्दु हुन सक्छ ।


० मधेशकेन्द्रित दलका मुख्य माग मधेशमा दुई प्रदेश हो नि त ?
— अहिले आएको प्रस्तावलाई स्वीकार गरेर अघि बढ्नु मधेशवादी दलका लागि हितकर हुन्छ । बाँकी मागहरूलाई चुनावमा एजेण्डा बनाएर अघि बढ्दा राम्रो हुन्छ ।


० नेकपा एमालेका नेताहरूले अहिलेको दुई नम्बर प्रदेशको सीमाङ्कन पनि सच्चाउनुपर्ने भनिरहेका छन् । यसलाई कुन रूपमा लिनुभएको छ ?
— एमालेले अति राष्ट्रवादी कुरा गर्दै छ । यो अहंकारवाद हो । नेकपा एमालेको दृष्टिकोण विभाजनकारी दृष्टिकोण नै हो जस्तो मलाई लाग्छ ।


० राष्ट्रवादको परिभाषा के हो ?
— राष्ट्रवाद भनेको जनताहरूको एकता हो । नेपालको बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक चरित्र रहेको छ । यो समग्र चरित्रको एकता नै अहिलेको राष्ट्रवाद हो ।


० तर, मधेशी मोर्चाले भनेजस्तो प्रदेश दिँदा राष्ट्रिय एकतामा खलल पुग्ने भनेर एमालेले भनिरहेको छ नि ?
— नेकपा एमालेले नेपालको इतिहासलाई बुझेका छैनन् । देश टुक्रिन्छ भनेर एमालेले हावा चलाउन खोज्नु भनेको समग्र नेपालको इतिहासमाथि नै विश्वास नगर्नु हो ।


० संशोधन प्रस्तावका एजेण्डालाई केही दलले राष्ट्रघाती माग भन्ने गरेका छन् । के भन्नुहुन्छ ?
— यो गलत दृष्टिकोण हो । एउटा भूगोल, क्षेत्र र समुदायमाथि एमालेले आरोप लगाउनु एकदमै गलत हो । हामीले जनताको मुक्तिको कुरा गर्ने गर्छौं । केही व्यक्ति राष्ट्रघाती वा दलाल हुन सक्छन्, तर, समग्र प्रदेश, समग्र क्षेत्र राष्ट्रघाती हुन सक्दैनन् । हिमाल, पहाड र मधेशमध्ये कुनै पनि क्षेत्रलाई समग्र रूपमा राष्ट्रघातीका रूपमा हेरिनु हुँदैन । जहाँ पनि दलालहरू छन्, जहाँ पनि इमान्दारहरू छन्, जहाँ पनि राष्ट्रवादी छन् । त्यसैले समग्र प्रदेशमाथि दोष लगाउनु भनेको नेपाललाई विखण्डन गराउने मनोविज्ञानबाट ग्रसित हुनु हो ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल माघ १० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com