प्रेस काउन्सिललाई बदनाम नगराऊ

“संचारमा नश्लवाद, न्याय र काउन्सिलभित्रको समानता÷समन्यायबारे छलफल हुन जरूरी”

नेपालमा मधेशीले न्याय नपाउनु र रंगभेदको अनुभूति गर्नुमा प्रमुख पक्ष नेपाली संचार जगत पनि छ । केही संचार माध्यम वा संचारकर्मीबाहेक अधिकांश साम्प्रदायिक, विखण्डनकारी र रंगभेदी छन् । राज्यले मधेशीसँग रंगभेद गर्दा मौन बस्ने, विभेदकारी संरचना भएको संस्थामा प्रतिनिधित्व गर्ने वा सहकार्य गर्ने, मधेशीले आन्दोलन गर्दा दमनकर्तालाई सघाउने कार्य अधिकांश नेपाली मिडियाले गर्दै आएको छ । मधेश र मधेशीलाई गालीगलौज गर्ने संचार माध्यमलाई सहजै स्वीकार गर्ने तर त्यसको प्रतिकार गर्नेलाई पत्राचार गरी कारबाहीको धम्की दिने कार्य रोकिनुपर्छ । पत्रकारको अधिकारका निम्ति खुलेका संगठन, वैचारिक समूह र संचार संस्थाहरू “संरचनात्मक र कार्यगत” रूपमा मधेश विरोधी चरित्र अंगीकार गर्दै आएका छन् । मधेशको समानताको आन्दोलनलाई बदनाम गराउने, राज्यलाई रंगभेद गर्न उचाल्ने, राज्यका अंगहरूमा पदासीन भएर मधेशी जनता र मधेशका मुद्दालाई अपमान गर्ने कार्यमा सहकार्य गर्ने नेपाली मिडिया वास्तवमै विखण्डनकारीहरूको कब्जामा छ । संचारसँग सम्बन्धित अधिकांश संस्था कब्जा गरेर रंगभेदमाथि मौन बस्ने, विभेदकारीलाई प्रोत्साहन दिने, मधेशीलाई अपमान गर्ने र मधेशीको पीडालाई आनन्दको विषय ठान्ने कार्य गर्दै आएको छ ।
लोकलाजको विषय त के हो भने आफ्नो सम्पूर्ण प्रकाशन÷प्रसारणमा एक प्रतिशत पनि मधेशलाई स्थान नदिने साम्प्रदायिक संचार माध्यमलाई प्रेस काउन्सिलले वर्गीकरण गरेर उच्च स्थान दिन्छ । प्रेस काउन्सिलको संरचना, कार्यशैली, परिणाम र असर मधेश विरोधी तथा नश्लीय रहेको कुरा मधेशी मोर्चाले प्रेस विज्ञप्तिमार्फत् नै सार्वजनिक गरी सक्दा पनि सुधार नहुनुले पनि काउन्सिल साम्प्रदायिक सोच भएका विखण्डनकारीहरूको कब्जामा छ भन्ने कुरातर्फ संकेत गर्छ । प्रेस काउन्सिलको निगरानी, व्यक्ति चयन र साझा दृष्टिकोणमा कमी रहेकै कारण काउन्सिल बदनाम हुन थालेको छ । दलीय लठैत र नश्लवादीहरूको साम्प्रदायिक सोचमा आधारित कुनै पनि कार्य गर्नु÷गराउनु उचित हुन्न भन्ने सामान्य ज्ञान काउन्सिलका जिम्मेवार व्यक्तिहरूले राख्नुपर्छ । समुदाय वा पदको आधारमा कोही दाता र कोही भिखारी नरहेको कुरा सबैलाई थाहै छ । पद र प्रतिष्ठा फरक विषय हो ।
प्रेस काउन्सिल साझा र सम्मानित बन्न सक्नुपर्दछ । समुदायको आधारमा व्यवहार गर्न÷गराउनु हुन्न । मुलुकका दुई समुदायमध्ये एउटा समुदाय (गैरमधेशी)का निमित्त मात्रै काम गर्नेलाई एकथरि र अर्को समुदाय (मधेशी)का निमित्त काम गर्नेलाई अर्कोथरि व्यवहार गर्नु हुन्न । प्रेस काउन्सिलको शैली नश्लवादी, साम्प्रदायिक र विखण्डनकारी देखिएको आरोप लाग्दैछ । काउन्सिल नेतृत्वले यस्तो कुरामा गम्भीर हुनुपर्दछ । दलीय लठैतहरूको दबाबमा नेतृत्व परिचालित हुनु हुँदैन । प्रेस काउन्सिल सबै संचार माध्यमको साझा बन्नुपर्छ र समानतामा आधारित व्यवहार÷परिणाम देखिनुपर्छ । साझा संस्थाको संरचना, कार्यशैली र परिणाम पनि साझा हुनैपर्छ । मधेशप्रति दोषपूर्ण वा दूरासययुक्त सोचका साथ कदापि व्यवहार हुनु हुँदैन । आफ्नो समुदायले गरेको सबै ठीक अर्को वा मन नपरेको समुदायले गरेको सबै बेठिक भन्ने सोच त्याग्न जरूरी छ । संचारमा नश्लवादको अन्त्य हुनुपर्दछ । मुलुकको आधाभन्दा बढी जनसंख्याका बारेमा चर्चा नगर्ने संचार माध्यमहरू साम्प्रदायिक हुन् । यिनीहरूलाई वर्गविहीन बनाएर कारबाही गर्नुको साटो पुरस्कृत गर्ने कार्य काउन्सिल जस्तो गरिमामय संस्थाले गर्दै आएको छ, जुन आफैमा साम्प्रदायिक र निन्दनीय कार्य हो । काउन्सिलको भूमिका देशकेन्द्रित र समानतामा आधारित बनाउन सकिएन भने सामुदायिक दूरीसहितको रंगभेदले मुलुकलाई थप पीडा दिन सक्छ ।
प्रकाशित मिति  : २०७३ साल फागुन ६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com