संविधान संशोधन नभई चुनाव हुँदैन : पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

एमालेभित्र अहिले जस्तो किसिमको धार देखिएको छ त्यसले संविधान संशोधनलाई रोकिरहेको छ 

० संविधान संशोधन गर्नुभन्दा अगाडि चुनाव गराउने तयारी भइरहेको छ, यसलाई तपाईले कुन रूपमा लिनुभएको छ ?
— चुनावमा जानुपर्ने संवैधानिक व्यवस्था अनुसार नै दबाब थियो । तर, संविधान संशोधन गरेर अगाडि बढेको भए अझ सहज हुन्थ्यो । संविधान जारी भएको अवस्थादेखि अहिलेसम्म आउँदा मधेशी मोर्चा निरन्तर रूपमा यो संविधान विरूद्ध आन्दोलित छ र अहिलेसम्म त्यहाँबाट संविधानले अपनत्व पाएको छैन । निर्वाचन प्रक्रियामा जाँदा पनि मधेशमा संविधानले अपनत्व नपाईकन गयो भने भोलिको दिनमा एउटा क्षेत्र नै यो संविधानबाट असतुष्ट भएर बाहिर बस्न सक्छ । त्यसैले संविधान संशोधन गरेर निर्वाचनमा गएको भए सबैले संविधानमा अपनत्वको महसुस गर्ने थिए कि । भारतले पनि संविधान संशोधन प्रस्तावलाई स्वागत गरेको छ तर संविधानलाई स्वागत गरेको छैन । त्यसैले संविधान संशोधन गर्दा आफ्नो देश भित्रको समस्या पनि समाधान हुने र विश्वमा शक्तिशाली राष्ट्रको रूपमा उदाउँदै गरेको मित्रराष्ट्र भारतले पनि स्वागत गर्ने भएकाले उपयुक्त विकल्प संविधान संशोधन पछिको निर्वाचन नै हो ।


० संविधान संशोधन गर्ने आधारमा यो सरकारको गठन भएको थियो तर पछि आझेलमा पर्दै गयो यसको कारण के होला ?
— नेपालमा अहिले तीन किसिमको राजनीतिक धार बगिरहेको छ । एउटा धार मधेशको छ यो धारले संविधान संशोधनको माग गर्दै संविधानलाई आफ्नो अनुकुल बनाउन खोजिरहेको छ । नेपाली कांग्रेस मध्यमार्गी धारमा रहेको छ उ संविधान संशोधन गरेर अगाडि बढ्दै मधेशी मोर्चालाई पनि साथमा लिएर अगाडि बढ्नुपर्छ भन्छ । अर्को एमालेको उग्रराष्ट्रवादको धार उसले नेपालमा एउटा नयाँ ढंगको राष्ट्रियताको परिभाषा गरिरहेको छ, जसमा पहाडी राष्ट्रवाद जर्बजस्त किसिमले बोकिरहेको छ । यी तिनवटा धारको मुख्य बिन्दु अहिलेसम्म एकै ठाउँमा आउन सकेको छैन । माओवादी बिचको धारमा छ, राष्ट्रको मूलधारको पार्टी भएपनि उसले कांग्रेससँग मिलेर संविधान संशोधनको प्रस्तावलाई अगाडि त बढाईरहेको छ तर त्यसमा माओवादीको धेरै इमान्दारीता मैले देखेको छैन । एमालेभित्र अहिले जस्तो किसिमको धार देखिएको छ त्यसले संविधान संशोधनलाई रोकिरहेको छ । नेपालका राजनीतिक दलहरूको जुन चरित्र छ त्यसलाई हेर्दा संविधान संशोधन एउटा कठिन मोडमा पुगेको छ  ।


० तपाईले ठूला पार्टीलाई विभिन्न धार बोकोका भनिरहँदा मधेशी मोर्चाका नेताहरूले ठूला दलहरू सबै एकै किसिमका छन् कोही पनि संविधान संशोधन गर्न चाहँदैनन् भन्ने गरेका छन् नि ?
— मधेशी मोर्चा लामो समयदेखि संविधान संशोधनको लागि संघर्षरत छन् । सबै ठूला पार्टीका नेताहरू एकै किसिमको सोच भएका हुन सक्लान् । तर, पार्टीहरूको चरित्र सबै एकै खालको छैन यो कुरा मोर्चाले बुझिरहेको छैन । नेपाली कांग्रेसको उत्पति, विकास र उसको इतिहास हेर्दा उसले बोकेको सिद्धान्तहरू छुट्टै छन् भने माओवादी र एमालेको छुट्टै छ । मधेशी मोर्चा स्वयम् पनि संविधान संशोधनलाई प्राथमिकतामा राखेर सुरूदेखि नै त्यत्रो आन्दोलन गरिसकेपछि पछिल्लो समयमा धेरै ठाउँमा चुकेको छ । उपेन्द्र यादव, राजेन्द्र महतोको अभिव्यक्ति हेर्दा उनीहरू धेरै ठाउँमा चुकेको प्रष्ट देखिन्छ । मोर्चा भित्रकै विवादका कारणले पनि उनीहरूले सरकारलाई संविधान संशोधनका लागि यथोचित्त दबाब दिन सकिरहेको छैन ।


० पछिल्लो समयमा संविधान संशोधनको विषयमा एमाले लचक भएको हो ?
— लचक हुनुपर्ने एमालेको बाध्यता हो । राष्ट्रिय पार्टी हो भोलि मधेशमा पनि उसले राजनीति गर्नुछ । मोर्चा पनि केही लचक भएर सबै मूलधारका राजनीतिक पार्टीहरूले सहमति गर्दैै अगाडि बढ्नुपर्छ । चुनावबाट हामी भाग्दैनौं तर चुनावभन्दा पहिले संविधानको केही बुँदाहरू संशोधन हुनुपर्छ यो तिमीहरूको जिम्मेवारी हो हाम्रो जिम्मेवारी चुनावमा जाने हो भनेर मधेशी मोर्चा भन्न सक्नुपर्छ । चुनावमा गयो भने भोलिको दिनमा मधेशी मोर्चा यो भन्दा धेरै शक्तिशाली हुन्छ ।


० संविधान संशोधन राष्ट्रघाती हो भन्ने पनि गरिन्छ नि ?
— राष्ट्रघाती त नेपालमा कसले कसलाई भनेको छैन र । नेपालको राजनीतिमा आफ्नो अनुकुल नभएपछि राष्ट्रघाती भन्ने गरेकै छन् । २००७ देखिको नेपालको राजनीति हेर्दैछु त्यहाँ कसैले कसैलाई केही भन्न बाँकी राखेका छैनन् । त्यसैले हाम्रो देशको यो हालत भएको हो नि । बोलिमा लगाम छैन, आफ्नो पार्टीको कस्तो मूल्य बोकेको छ त्यसमा चिन्तन छैन, त्यही भएर पनि नेपालमा कुनै पार्टी राष्ट्रिय पार्टी बन्न सकेको छैन ।


० मधेश केन्द्रित दलहरूले उठाउने विभिन्न मुद्दाहरूलाई किन राष्ट्रघातीको आरोप लाग्ने गरेको छ ?
— काठमाडौंको धेरै ठूलो समुदाय आज पनि तराईलाई भारतकै भाग भनेर हेर्छन् । तराईमा बस्ने मान्छेहरूलाई उनीहरूले भारतकै अंगको रूपमा हेर्छन् । काठमाडौं बाहिर पनि नेपाल छ भन्ने यहाँका रैथानेहरूले भुलिसकेका छन् । उनीहरूले नै मधेशको मागहरूलार्ई राष्ट्रघाती भन्ने गर्छन् ।


० मधेशी नेपाली हो भन्ने कुराको विश्वास नभएर नै हो त यस्ता विषयहरू उठ्ने गरेको नेपालमा ?
— नेपालमा भनेर त म भन्दिन तर काठमाडौंमा एउटा तप्का छ जसले मधेशीहरूलाई यिनीहरू भारतकै हुन् भनेर सोच्ने गर्छ । मान्छेलाई मात्र होइन भुगोललाई पनि भारतकै अंश हो भनेर सोच्ने गर्दछन् । दुर्भाग्य कम्युनिष्ट आन्दोलनबाट आएको एमालेको धेरै ठूलो तप्कामा यो विचार हाबी रहेको छ । अहिले पनि मधेशीहरूले पहिचानको लागि आन्दोलन गरेको उनीहरूलाई चित्त बुझ्दैन मधेशीहरूलाई हेपेर राख्नुपर्छ भन्ने उनीहरूको भावनामा परिवर्तन आउन सकेको छैन । विकासका दृष्किोणले हेर्दा पनि मध्य पहाडी लोकमार्ग कत्ति छिट्टै बन्दैछ तर हुलाकी राजमार्ग आज ५० औं वर्षदेखि यत्तिकै छ त्यसमा कसैको ध्यान किन जाँदैन । हुलाकी राजमार्गलाई भारतको जिम्मा लगाएको छ नि त्यो भनेको त्यहाँको भुगोल त्यहाँको जनतालाई पनि भारतको जिम्मा लगाएको हो, मानसिकता त्यस्तो हो । मधेशको उत्पादन, त्यहाँको स्रोत र साधन प्रयोग गरिरहने तर त्यो भुगोल र त्यहाँ बस्ने मानिससँग काठमाडौंले छुवाछुतको व्यवहार हिजो जर्बजस्ती गथ्र्यो, मधेश आन्दोलन पछि केही कम भएको छ ।


० अब नेपालको राजनीति कसरी अगाडि बढ्ला त ?
— संविधान संशोधन नभइ चुनाव हुँदैन । वैशाख ३१ गते घोषणा गरिएको चुनाव नहुने चुनाव हो कि जस्तो लाग्दैछ । यो राजा ज्ञानेन्द्रले गरेको चुनाव जस्तो भईदियो भने त्यो हास्यास्पद हुन्छ ।


० यो केन्द्रले गर्ने चुनाव होइन प्रान्तले गराउने चुनाव हो अहिले प्रान्त नै बनिसकेको छैन अनि कसरी चुनाव गराउन सकिन्छ भन्ने पनि भनाई आइरहेको छ नि ?
— सैद्धान्तिक रूपमा स्थानीय तहको निर्वाचन गराउनु पर्ने प्रदेशले नै हो । प्रदेश नै अहिलेसम्म बनेको छैन । हामीले बिर्सनु हुँदैन हामी अहिले संक्रणकालिन अवस्थामा छौं । संविधान त जारी भयो तर मुलुक संक्रमणकालबाट माथि जान सकेको छैन त्यसैले संक्रमणकालिन अवस्थामा टेकेर संविधान कार्यान्वयन गर्ने पहिलो प्रारम्भिक चरणमा स्थानिय चणको निर्वाचन केन्द्रबाट गर्न खोजिएको हो नि । चुनाव कुन अगाडि गर्ने कुन पछाडि गर्ने भन्ने धेरै ठूलो महत्वको विषय त होइन तर प्रदेशको सीमांकन प्रष्ट हुनुपर्दथ्यो प्रदेशले स्थानीय तहको निर्वाचन गराउनु पर्दथ्यो ती सबै कुराहरू संसारमा चलेका विषयहरू हुन् ।


० मधेशी मोर्चाको एउटा माग नै सीमांकनसँग जोडिएका छ ?
— संविधान जारी गर्दा राजनीतिक रूपले हामी जहाँ थियौं त्यो भन्दा अगाडि हामी एक चरण पनि अगाडि बढेका छैनौं । संविधान संशोधन गरेर मधेशवादी दलहरूलाई मिलाउने, भारतको चित्त बुझाउने जनसंख्याको आधारमा सबै कामकारवाही अगाडि बढाउने यी कुराहरूमा जहाँको त्यही छौं । अहिले एकैचोटि चुनावमा जाने भनेर चुनाव गर्न सकिएला मलाई त्यता पो शंका लागिरहेको छ । जहाँ आन्दोलनको केन्द्र हो २ नम्बर प्रदेश त्यसलाई अहिले छोडेर अगाडि बढौं भन्दा पनि त्यो क्षेत्र आज मात्र छुट्ने हुन् कि कश्मीर जसरी नेपालबाट दिर्घकालिन रूपमा छुट्ने हो त्यो विचार गर्नुपर्छ । जुन ठाउँमा अहिले आन्दोलन चलिरहेको छ जहाँका नेताहरूले संशोधनको कुरा गरिरहेका छन् त्यो भाग छुटियो भने त त्यसले काठमाडौंलाई ठूलो समस्यामा पार्छ नि । त्यो भाग देशके मेरूदण्डको रूपमा रहेको छ । देशको एउटा भागमा क्यान्सर लाग्न दिएर चुनावमा जान्छन् जस्तो लाग्दैन नेताहरू । संविधान संशोधन प्रक्रियालाई पनि अगाडि बढाउँछन् र संशोधनको प्रक्रियामा मधेशी मोर्चा अलि लचिलो भएर लेनदेनमा गयो भने चुनावभन्दा अगाडि संविधान संशोधन हुनसक्छ । मजोर ठान्नु हुँदैन । मधेशी मोर्चाले आन्दोलनकारीको मूल्य तोक्यो, त्यसविरूद्ध म सदनमा पनि बोलेको थिएँ । जीवन अमूल्य हुन्छ । जनतालाई बोल्न नदिएर ठेकेदारले मात्र बोलेर राजनीति हुँदैन । म चार वर्षका लागि अनुमोदित भएको छु, मलाई दश वर्ष जागिर खुवाउने ? पटकपटक जनताले अनुमोदन गर्न पाउनुपर्छ । त्यसैले निकास आन्दोलनबाट होइन जनादेशबाट आउँछ । त्यसैले सबै चुनावमा जाऔं ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल फागुन २० गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com