विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाइहाल्नुपर्ने अवस्था थिएन – एम के माझी, सप्तरी घटनाका प्रत्यक्षदर्शी तथा पत्रकार

आमसभा गर्ने स्थान परिवर्तन एमालेको कारणले भएको होइन

० सप्तरी घटना कसरी घट्यो ?
— नेकपा एमालेको मेची–महाकाली अभियानको विषयलाई लिएर विगत एक सातादेखि सप्तरीमा तनावको अवस्था सिर्जना भइसकेको थियो । खास गरेर मधेश आन्दोलनका क्रममा एमाले अध्यक्ष केपी ओलीजीको जुन अभिव्यक्तिहरू आइरहेको थियो त्यो अभिव्यक्तिलाई लिएर मधेशवादी दल र स्थानीय जनता पनि आक्रोशित थिए । उनीहरूले एमालेको मेची–महाकाली अभियानलाई सप्तरी प्रवेश गर्न दिँदैनौं भनेर विगत एकसातादेखि चरणवद्ध रूपमा विरोधका कार्यक्रम शान्तिपूर्ण रूपले गर्दै आएका थिए । त्यो कार्यक्रम सप्तरी प्रवेश गर्दा हुनसक्ने अनिष्ठ र अप्रिय घटना बारे स्थानीय प्रशासनलाई पनि जानकारी थियो । विगतमा ओलीको जुन अभिव्यक्तिहरू आयो मधेशको सन्दर्भमा त्यसले गर्दा मधेशका जनता अहिलेसम्म पनि आक्रोशित छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली मधेश विरोधी नेता हुन् भनेर चित्रण गर्ने गरेका छन् । सप्तरीमा एकदम अशान्त माहौल भइरहेको अवस्थामा एमालेको अभियान प्रवेश गर्दा झडप हुन्छ भन्ने लगभग पक्का जस्तै थियो । यस स्थानीय प्रशासनले अलि विचार पु¥याउनु पर्ने थियो त्यसमा स्थानीय प्रशासन चुकेको देखिन्छ ।


० एमालेले पहिले राजविराजको राज रंगशालामा आफ्नो कार्यक्रम राखेको थियो तर पछि त्यहाँ कार्यक्रम गर्दा तनावको स्थिति आउन सक्छ भनेर मलेठ गाविसको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने निर्णय ग¥यो यो दुई ठाउँको स्थितिमा के भिन्नता थियो ?
— आमसभा गर्ने स्थान परिवर्तन एमालेको कारणले भएको होइन स्थानीय प्रशासनले राजविराजमा बढी जनघनत्व छ कुनै घटना घट्यो भने बढी क्षति होला भनेर मलेठ सारेको थियो । यदि स्थानीय प्रशासनले विचार गरेर एमालेको आमसभालाई राजमार्गतिर सारिदिएको भए न्यून क्षति हुने अवस्था थियो । स्थानीय प्रशासनलाई अवस्था गम्भीर छ भनेर जानकारी हुँदाहुँदै पनि एमालेको हठका कारण मलेठमा कार्यक्रम स्थल राखिएको हो ।


० ३ किलोमिटर टाढा कार्यक्रम स्थल परिवर्तन किन गरियो त ?
— राज रंगशालामा भन्दा मलेठमा मधेशी मोर्चाको प्रभाव अलि कम छ भन्ने स्थानीय प्रशासनको अनुमान होला तर त्यो अनुमान विलकुलै गलत थियो । मधेशी मोर्चाको मात्र होइन स्थानीय जनता स्वतः स्फूर्त रूपमा एमालेको अभियानको विरूद्धमा विगत सात दिनदेखि निरन्तर चरणबद्ध रूपमा सडकमा ओर्लिएको अवस्था थियो । मधेशी दल वा मधेशी जनताको प्रभाव त पुरै सप्तरीमा छ नि । ३ किलोमिटरको फरकले उनीहरूलाई खासै फरक पार्दैन ।


० एमालेले कार्यक्रम गर्ने र मधेशी मोर्चाले कार्यक्रम गर्न नदिने भन्ने अडान पहिलेदेखि कै हो त्यहाँ झडपको सम्भावना छ भनेर एकसातादेखि नै त्यहाँका प्रहरी प्रशासनले तयारी गरिरहेको थियो त्यहाँ कत्तिको संख्यामा एमालेका कार्यकर्ता थिए ?
— म कार्यक्रम स्थलमा दिनभरी नै थिएँ । सप्तरीको कार्यक्रम स्थलमा एमालेको स्थानीय कार्यकर्ता दुई÷तीन सय जना थिए । एमालेको झापाबाट आएको अभियान सप्तरी प्रवेश गर्दा १२२ वटा गाडीमा एमालेका शिर्ष नेतादेखि कार्यकर्ताहरू आएका थिए । झापाबाट ५४० वटा गाडी निस्केको भन्ने जानकारी थियो । सप्तरीमा तनावको स्थिति छ भन्ने थाहा भएपछि गाडीको संख्या घट्दै सप्तरी आइपुगेको बुझ्न सकिन्छ ।


० सप्तरीको मलेठमा जसरी घटना घट्यो त्यो ठाउँ कस्तो छ ?
— मलेठ गाविसमा जनसंख्या सात हजार दुई सय रहेको छ । यो गाम्रीण क्षेत्रमा पर्छ । बजार क्षेत्र अलि कम छ । दुई÷चार वटा सानो चिया पसल छ खासै बाक्लो बस्ती पनि छैन अलि एकान्त स्थल छ ।


० सुरक्षाकर्मीको उपस्थिति कत्तिको देखिन्थ्यो कार्यक्रम स्थलमा ?
— झापाबाट सप्तरी अभियान लिएर आउने एमालेका नेता÷कार्यकर्ताहरू जब सप्तरी आइपुगे त्यतिबेला १ हजारको हाराहारीमा कार्यक्रम स्थलमा सहभागीहरू थिए भने झण्डै चार हजारको संख्यामा सुरक्षाकर्मीहरू रहेका थिए । परैबाट हेर्दा पनि कार्यक्रम स्थलमा एमालेको कार्यकर्ताभन्दा सुरक्षाकर्मी नै बढी देखिन्थ्यो ।


० आमसभा कतिबेला सुरू भयो र झडपको स्थिति कसरी पैदा भयो ?
— पूर्वनिर्धारित समय अनुसार ११ बजे कार्यक्रम सुरू हुने भनिएको थियो । तर झापाबाट सप्तरी आउँदा भारदह र अन्य केही ठाउँहरूमा अवरोध भएपछि आउन ढिला भयो र ३.१० मा मात्र कार्यक्रम सुरू भयो । कार्यक्रम सुरू भए लगत्तै बाहिर उल्लेख मात्रामा मोर्चाका कार्यकर्ताहरू आएर कालो झण्डा देखाउने, नाराबाजी गरिरहेको अवस्था थियो । त्यो आवाज जब एमालेको कार्यक्रम भइरहेको मञ्च तर्फ आउन थाल्यो त्यसपछि मोर्चाको कार्यकर्ता कार्यक्रम स्थलमा नै आउने हो कि केही नराम्रो घटना घट्ने हो नि भन्ने आशंका बढ्न थाल्यो । सुरक्षाकर्मीहरू बाहिर निस्केर नाराबाजी गर्ने प्रदर्शनकारीहरूलाई लाठी प्रहार गरेर लखेट्न थाले । त्यसपछि फेरि कार्यक्रम अगाडि बढ्यो । स्थिति अशान्त भइरहेको छ भन्ने जानकारी भएपछि जम्मा तीनजना वक्ताहरूले बोल्ने कार्यक्रम राखियो लालबाबु यादवले १० मिनेट, माधव नेपालले ५ मिनेट भाषण गर्नुभएको थियो । त्यसपछि सुरक्षाकर्मीले मञ्चमा गएर कार्यक्रम छोट्याउनु प¥यो, बाहिर स्थिति तनावग्रस्त बन्दैछ भनेपछि तेस्रो र अन्तिम वक्ताको रूपमा नेकपा एमालेका अध्यक्ष केपी ओलीजीले चार मिनेट आफ्नो अभिव्यक्ति राख्नुभयो । मञ्चमा ओलीजीको भाषण चलिरहँदा नै औद्योगिक क्षेत्रभित्र रहेका एमालेका कार्यकर्ता र बाहिर रहेका मोर्चाका कार्यकर्ताहरू बिचमा दुंगामुढा सुरू भयो । त्यति बेलासम्म सबैजना मुकदर्शन बनिरहेको अवस्था थियो । त्यसैबेला एक्कासी प्रहरीबाट लगभग २०० राउड अश्रुग्याँस प्रहार भयो । अश्रुग्याँस प्रहार भएलगत्तै मोर्चाका कार्यकर्ताहरू हट्नुपर्ने अवस्था थियो तर आश्चर्यजनक ढंगबाट मोर्चाका कार्यकर्ताहरू त्यहाँ थपिदैं गयो । राजविराजबाट पनि ठूलो संख्यामा मोटसाईकल र पैदल गरेर कार्यकर्ताहरू भेला हुने क्रम बढ्दै गयो र दुईतर्फबाट ढुंगामुढा र नाराबाजी भइरह्यो । यसैक्रममा प्रहरीले गोली प्रहार ग¥यो र घटना घट्न गयो ।


० मोर्चाका कार्यकर्ताहरूबाट पेट्रोल बम प्रहार गरियो त्यसपछि प्रहरीले गोली चलाएको भनेर पनि संचारमाध्यमहरूमा समाचार आइरहेको छ नि ?
— यो कुरा विल्कुलै गलत हो । त्यस्तो कुनै किसिमको पेट्रोल बम वा अन्य कुनै विस्फोटक पदार्थ मोर्चाको कार्यकर्ताबाट प्रहार भएको छैन । मर्यादित रूपमा नै कालो झण्डा प्रदर्शन गरी नाराबाजी गरिरहेको अवस्था थियो । त्यसरी गोली चलाईहाल्नु पर्ने अवस्था थिएन । कार्यक्रमको दिन सप्तरीमा सुरक्षाकर्मी झण्डै दश हजारको हाराहारीमा थिए होला भने प्रदर्शनकारीहरूको पनि संख्या लगभग २० हजार पुगिसकेको थियो । एकातिर कार्यक्रम स्थलमा झडप भइरहेको थियो भने चोकचोकमा जुलुस, नाराबाजी र विरोध सभा गर्ने कार्यक्रम पनि चलिरहेको थियो । जब एमालेको कार्यक्रम स्थलमा गोली चल्यो भन्ने खबर सबैतिर फैलियो त्यसपछि सबैजना आफ्नो कार्यक्रम स्थगित गरेर त्यही स्थानमा पुगे, त्यतिबेलासम्म एमालेले आफ्नो कार्यक्रम टुङ्ग्याइसकेको थियो ।


० अहिलेसम्म यो घटनामा परेर मृत्यु हुनेको संख्या कति पुग्यो ?
— अहिलेसम्म यो घटनामा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । सञ्जन मेहता, पित्ताम्बर मण्डल र आनन्द साहको त्यही दिन मृत्यु भयो भने वीरेन्द्र महतोको उपचारको क्रममा दुई दिनपछि मृत्यु भयो । अन्य गोली लागेकाहरूको उपचार जारी छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७३ साल फागुन २७ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com