दायित्वको आन्दोलन गरौं

“प्रतिनिधित्व र सम्मान नै मूल विषय”

मधेशको समस्या मधेशी मात्रको समस्या होइन । दुवै समुदायका जनताबीच द्वेष र घृणा बढाएर मुलुकलाई जातीयम सफायाको राजनीतितर्फ धकेल्ने कार्य अपराध हो । नेपालका सम्पूर्ण सचेत नागरिकले आआफ्नो स्थानबाट गर्न सकिने दायित्व निर्वाह गर्न जरूरी छ । राज्यले वा अन्य पक्षले मधेशीसँग रंगभेद गरिरहँदा मौन बस्ने वा ती सूचीमा आफ्नो नाम राख्ने प्रवृत्तिका कारण राज्यमाथि अविश्वास, संचालकमाथि घृणा, शासक समुदायप्रति रिस र आफ्नो सामुदायिक नेताप्रति आक्रोश बढ्दै गएको हो ।
“समानता र समन्याय” नै आन्दोलनको मूल ध्येय हो । प्रतिनिधित्व र सम्मान नै दीर्घकालीन समाधान हो । नेपालभित्रका प्रत्येक नागरिकले नेपाली भएकोमा गर्वको अनुभूति गर्न सकून् । त्यसका निमित्त सबै सचेत वर्ग विभेदका विरूद्ध एकजुट हुनुपर्छ । विभेद, घृणा, विकास र साझापना एकैसाथ आउन सक्दैन ।

सञ्चार जगत र बुद्धिजीबीहरू आआफ्नो समुदायभन्दा माथि उठेर समस्या समाधानतर्फ लाग्नुपर्छ । नेतृत्वलाई सकारात्मक सुझाव र दायित्वको आन्दोलनलाई अगाडि बढाउने हो भने नेपाल साझा र विकसित हुन बेर लाग्दैन । नेपालको एउटा भागमा अशान्ति, हत्या, घृणा र रंगभेद कायम राखेर संविधानको सर्वस्वीकारोक्ति गणतन्त्रको सफलता वा विकासको परिकल्पना गर्नु मुर्खता मात्र हो । सम्मान बिनाको लगानीले अर्थ राख्दैन । ठूला दलहरू पनि मधेशको सवालमा प्रष्ट धारणा, कार्यरूप, संरचनागत सुधार लगायतका पक्षहरू सामूहिक रूपमा सार्वजनिक गर्न जरूरी छ ।
जनतालाई ढाँटेर, ठगेर, विचारलाई थुनेर वा दमन गरेर सत्ता लम्ब्याउन सकिएला तर साझापना आउन सक्दैन । देशलाई साझा र विकसित बनाउन विभेदका विरूद्ध सक्रिय हुन, जनतालाई सहमतिमा ल्याउन आवश्यक छ । राष्ट्र निर्माणको जिम्मा हामी सबैको हो । नेताजन दोषी र बौद्धिक वर्ग निर्दोष हुने होइन । देश र जनतालाई केन्द्रमा राखेर समानता, सद्भाव र सहकार्यता केन्द्रित दायित्वको आन्दोलनमा होमिनुको विकल्प छैन ।

प्रकाशित मिति : २०७३ साल चैत्र ४ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com