आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेता आउनु आवश्यक छ : विजय महासेठ, राजनीतिक विश्लेषक

अब आन्दोलनको विकल्प छैन 

० मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मोर्चाले सरकारलाई ६ महिनाभन्दा बढी समय दिएको समर्थनको उपलब्धि के रह्यो ?
— सरकारले ललिपप देखाएर मधेशी मोर्चाको समर्थन लिएको थियो । सरकारले यो दिन्छु, त्यो दिन्छु भनेर ललिपप देखाउने काम मात्र ग¥यो । मधेशी मोर्चा दूरगामी सोच नराखी तत्कालीन सोच राखेर सरकारलाई समर्थन दिएको थियो । मोर्चाले सरकारलाई समर्थन दिएर काठमाडौंमा बसिरहेको थियो । मोर्चाले जनतालाई जन्तुका रूपमा हेरिरहेको छ । मन लागेका बेला जन्तुलाई चराउन लैजान र मन नलागेका बेला गोठमा राख्ने प्रवृति देखिएको छ । तर, यसपाली सप्तरीका जनताले नेतृत्वविहीन अवस्थामा पनि आन्दोलन गर्न सक्ने प्रमाणित गरेका छन् । अहिले चलिरहेको आन्दोलनको कुरा गर्ने हो भने जनता स्वतःस्फूर्त आन्दोलित छन् । हो, यो संयोगको हो कि आन्दोलनको श्रेय नेताहरूलाई गइहाल्छ । २०६३ को आन्दोलनमा पनि त्यही भयो । त्यो आन्दोलनको श्रेय उपेन्द्र यादवलाई भेटेको थियो । अहिलेको आन्दोलनमा पनि कुनै न कुनै नेताले यसलाई क्यास गराउन सफल भइरहेका हुन्छन् । अहिलेको अवस्थामा जनता आन्दोलित छन् । तर, नेताले आन्दोलनलाई सेलाउने अर्थात पानी छर्किने काम मात्र गरिरहेका छन् । त्यसैले दूरदर्शी ेनेताको अभाव भयो ।


० नेतृत्व नहुनु र योजनावद्ध ढंगले आन्दोलन नभएकाले पनि सप्तरी घटना भएको हो ?
एकदम । हाम्रा जनता एकदमै निहत्था र आन्दोलित छन् । निहत्था यस हिसाबले कि सप्तरीका जनता सुनियोजित हिसाबले विरोध प्रदर्शन गरिरहेका थिएनन् । सुनियोजित भएको भए एकतर्फी मात्र क्षति हुने थिएन । जनतालाई के लाग्यो भने विरोध प्रदर्शन गर्नु प्रजातान्त्रिक मूल्य मान्यता हो । तर, त्यो प्रदर्शनमा दम्भी नेता केपी ओलीका तलुवाकार दिवेश लोहनीले आफ्नो आकालाई खुश गर्न सप्तरी हत्याकाण्ड गराए । अहिले ओलीलाई खुश गरेपछि भविष्यमा संगठनको प्रमुख पदमा सहजै पुग्न सकिने मनसायबाट हत्याकाण्ड गराइएको हो । निहत्था जनतामाथि गोली चलाउने काम गरियो । जनताको कुरा गर्ने हो भने, जनता मन, हृदय र सक्रियताले एकदमै आन्दोलित छन् ।


० पछिल्लो दश वर्षमा तीन पटक मधेश आन्दोलन भइसक्दा पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नुका कारण छ ?
— राज्यको निरंकुशता, बेइमानी र चलाखी हो । हालै प्रधानमन्त्रीले मधेशी मोर्चालाई फेरि ललिपप देखाएको छ । सीमाङ्कन बाहेक सबै माग संविधान संशोधन गराएर पूरा गर्न तयार रहेको प्रधानमन्त्रीको प्रस्ताव आयो । यदि यी कुरा सम्बोधन गर्न लायक कुरा हुन् भने मोर्चासँग बार्गेनिङ गर्नुपर्ने आवश्यकता नै थिएन । खासमा प्रधानमन्त्रीले चलाखी गरिरहेका छन् । झिनामसिना कुरामा बार्गेनिङ गर्ने र मुख्य मुद्दामा नआउने सोच देखियो । मुख्य कुरा सीमाङ्कन हो । सीमाङ्कनको माग सम्बोधन नभएसम्म अरू सबै ललिपप मात्र हुन् । अहिलेको सरकार राणा र राजाभन्दा पनि बढी निरंकुश छ । जनताको धैर्यका सीमा नटुटोस् भन्नेतर्फ राज्यले ध्यान दिनु आवश्यक छ ।


० मधेशकेन्द्रित दलले अधिकारको प्राप्ति नभएसम्म आन्दोलन चलिरहने बताइरहेका छन् । तपाईंलाई के लाग्छ ? वास्तवमा आन्दोलन कहिलेसम्म ?
— यो कुरामा मेरो सहमति छ । खोजेको कुरा पूरा नभएसम्म आन्दोलन भइरहनु सर्वमान्य सिद्धान्त हो । उद्देश्य प्राप्त नभएसम्म लडाईं गरिरहनु स्वभाविक हो । तर, यहाँ समस्या के भयो भने, हाम्रा नेताहरू काठमाडौं केन्द्रित भए । यिनीहरूले मधेश र मधेशीसँग नजिक छैनन् । मधेशीसँगको वास्तविक विभेदलाई नेतृत्वले प्रस्ट पार्न सकेका छैनन् ।


० आन्दोलन गर्नु एउटा कुरा हो । तर, आन्दोलन गर्दा नरसंहार नहोस्, यसका लागि मधेशी मोर्चाले कस्तो योजना बनाएर अघि बढ्नुपर्छ ?
— नरसंहार कसैको चाहना होइन । सप्तरीमा आन्दोलनमा उत्रिएका जनता निहत्था थिए । सरकार संवेदनशील हुनुपर्छ । ठूला दलहरूमा संवेदनशीलता देखिएन । यिनीहरूको संवेदनहीनतालाई पुष्टि गर्ने काम तलुवाकारहरूले गरिरहेका छन् ।


० सप्तरीमा त्यसदिन प्रदर्शनमा मधेशी मोर्चाका शीर्ष नेताहरू पनि सहभागी भइदिएको भए नरसंहार हुन्थ्यो ?
— शायद हुने थिएन । मधेशकेन्द्रित दलका नेताहरू आन्दोलनको नेतृत्व लिएर प्रदर्शनमा सहभागी भइदिएको भए, सुरक्षाकर्मीलाई गोली हान्न त्यति सहज हुने थिएन । यस्तो अवस्थामा सुरक्षाकर्मीलाई गोली हान्न डर लाग्थ्यो । तर, हाम्रा नेताहरू पहिला नै डराइहाले ।


० २०६३ देखि अहिलेसम्म भएका आन्दोलनमा जुन–जुन ठाउँमा मधेशीको टाउको र छातीमा गोली हान्ने काम भयो, ती ठाउँमा र त्यसबेला मोर्चाका शीर्ष नेताहरू अनुपस्थित थिए । मोर्चाका नेता अगाडि नआएकै कारण सुरक्षाकर्मी नरसंहारमा उत्रिएका हुन् ?
— हो, अहिलेसम्मको आन्दोलनमा हेर्ने हो भने मधेशी मोर्चाका शीर्ष नेतामध्ये राजेन्द्र महतो बाहेक कुनै पनि नेताको कुर्ता समेत च्यातिएको छैन । राजेन्द्र महतोले नाकाबन्दीका बेला प्रहरीबाट कुटपिटको सामना गर्नुबाहेक अन्य कुनै पनि स्थानमा नेताहरूको कुर्तासमेत च्यातिएको छैन । यिनीहरूले जनतालाई अगाडि बढाउँछन् र आफू अगाडि जाँदैनन् । यिनीहरूले माइक समातेर भाषण गर्न मात्र खप्पिस छन् । नत यिनीहरूले जनतालाई प्रशिक्षित गर्न सकेका छन्, नत संविधानका बारेमा बुझाउन सकेका छन् ।


० सप्तरीमा फागुन २३ गते अप्रिय घटना हुन सक्ने आशंका कसैलाई थिएन ?
— यो आशंका सबैलाई थियो । दुवै पक्षबाट यसलाई रोक्ने काम गरिएन । जनता स्वतःस्फूर्त रूपमा आन्दोलनमा छन् । आन्दोलनका बेला नेतृत्वहरू देखिँदैनन् । तर, आन्दोलन सेलाउनका लागि भने कोही न कोही अगाडि आइहाल्छन् ।


० भनेपछि योजनाबद्ध रूपमा आन्दोलनका लागि मधेशीसँग नेतृत्व नभएकै हो ?
— हो । कुनै योजना थिएन । जनता शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका थिए । तर, राज्यले नरसंहार गर्ने काम ग¥यो । अर्को कुरा अहिले भएका नेताहरू बाहेक अरू विकल्प पनि छैन । तर, यसैबाट कुनै पनि कुनै रूपमा नयाँ विकल्प पनि निस्किने छन् । २०६३ अघि मधेशी दलका रूपमा नेपाल सद्भावना पार्टी थियो । पहिलो मधेश आन्दोलनसँगै उपेन्द्र यादवको उदय भयो । त्यस्तै मधेशीले फेरि नयाँ नेतृत्व पाउन सक्छन् । अहिले नदेखिए पनि भविष्यमा नयाँ नेतृत्व आउने छन् ।


० मधेशी मोर्चाले फेरि असहयोग आन्दोलनको घोषणा गरेको छ । मधेशी मोर्चा कसरी अगाडि बढ्नुपर्छ ?
— आन्दोलनमा जानै पर्छ । मधेशको मुद्दालाई पञ्छाएर चुनावको घोषणा गरेकै दिनदेखि आन्दोलनमा जानुपर्ने थियो । त्यसैबेला प्रधानमन्त्री प्रचण्डको इमानमाथि प्रश्न चिन्ह खड़ा भयो । गैरमधेशी नेतृत्वकर्ता सबै बेइमान हुन् । तिनीहरूको कुरा पत्याएर हामीले आफूलाई बर्बाद मात्र गर्ने हो । हामीले आफ्नो उर्जालाई सेलाएर बस्दा फेरि रिस्टार्ट गर्न समय लाग्छ । त्यसैले हामीले जहिल्यै पनि आन्दोलित भइरहनुपर्छ । आन्दोलन गर्नै पर्छ । कुनै दिन आन्दोलनमा तीब्र हुन्छ भने कुनै दिन सिथिल हुन्छ, त्यो अर्को कुरा हो । तर, आन्दोलनको विकल्प छैन ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७३ साल चैत्र ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com