{विशेष सम्पादकीय} प्रेस काउन्सिलले निगरानी बढाओस्

मधेश आन्दोलनको क्रममा तराई–मधेश क्षेत्रमा रहेका सञ्चार माध्यमहरूको अनुगमन गर्न एउटा टोली बनाएको थियो । जसले २०७२ मंसिरमा प्रतिवेदन बुझायो । प्रतिवेदन र अन्य सूचनाका आधारमा मधेशकेन्द्रित सञ्चार माध्यमलाई कारबाही गरियो । तर, काठमाडौंमा बसेर मधेश, मधेशी मोर्चा, मधेशी नेता, मधेशी जनताकाबारे लेख्नेहरू कतिको आचार संहिता पालना ग¥यो भन्ने विषयमा काउन्सिलको मौनता अझै कायम छ ।

कुन समाचार छाप्ने वा कस्तो समाचार छाप्ने भन्नेसम्म निर्देशन दिने काउन्सिलले दुवै समुदायको सवालमा साझा प्रतिनिधित्व नगरेको आरोप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, मधेशी पत्रकार समाज, मधेशी पत्रकार संघ, मधेश मिडिया हाउस, मधेशी पत्रकार महासंघलगायतले लिखितरूपमा विज्ञप्ति जारी गर्दासम्म मौन बस्ने कार्य उचित होइन ।

कानूनीरूपमा वा प्रमाणको रूपमा सुरक्षित हुनु र साझा बन्नु नितान्त फरक–फरक कुरा हो । प्रेस काउन्सिलले नेपालको संविधान–२०७२, को दायराभन्दा बाहिर बोल्नेहरूमध्ये एउटा समुदायप्रति मौन र अर्कोप्रति आक्रामक रहेको आरोप लाग्दै आएको छ । प्रेस काउन्सिल साझा, सर्वमान्य र देशकेन्द्रित बन्न आफ्नो कार्यशैली, सोच, परिणाम र संरचनामा रहेको त्रुटिलाई बेलामै सच्याउन जरूरी छ ।

मधेशीलाई अपमानित गर्दा मौन र विभेदका विरूद्ध बोल्दा पहाडेलाई लक्षित गरी बोल्यो भनी आक्रामक हुन जरूरी छैन । काउन्सिलको भूमिका, साझापना र स्वीकार्यताका विषयमा गम्भीर हुन र निगरानीमा समानता राख्न जरूरी छ । प्रेस काउन्सिल दुवै समुदायको साझा संस्था हो भनी पुनः प्रमाणित गर्न नपरोस् ।

मधेशीप्रति अनादर, घृणा, द्वेष र भ्रम छर्ने काठमाडौंकै पत्रिकाहरूमाथि पनि निगरानी बढाउन जरूरी छ । काउन्सिलले मधेशी पत्रकारहरूको नेतृत्वमा काठमाडौं उपत्यकामा रहेका सञ्चार माध्यमहरूको अनुगमन गर्न विशेष टोली गठन गर्न जरूरी छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com