रंगभेदमुक्त ‘नेपाल’ बनाऊ

निरन्तर राजनीतिक संघर्ष र सरकारी विभेदका कारण मधेशीको जीवन जर्जर बन्दैछ । सैनिकीकरण, मरूभूमिकरण, राजनीतिक आतंक र युवा विदेशिनुको पीडाबाट मधेश दिन प्रतिदिन आक्रान्त हुँदैछ । समाज युवाविहीन, जिल्ला सरकारविहीन र जनता विकासविही बन्दै गएको छ । देशप्रतिको ममत्व, सरकारप्रतिको विश्वास र नेतृत्वप्रति आस्था घट्दो क्रममा छ । राज्यका अंगहरू साहुकार र ग्राहकझैं सम्बन्ध स्थापित हुन थाल्नु चिन्ताको विषय हो ।

समावेशिताको नाममा टिके प्रथा, सद्भावको नाममा दया र अधिकारको नाममा कृपाको पात्र भएर आफ्नो मुलुकभित्र बस्नुपर्दाको पीडा मधेशीलाई थाहा नै छ । नागरिक नै प्रहरीबाटै लुटिनुको पीडा जनकपुरवासीलाई थाहा नै छ । सम्मान बिनाको प्रतिनिधित्वको पीडा अधिकांश मधेशीलाई थाहा नै छ । जनतालाई असमान जीवन आफ्नै नेतृत्वको जालझेलबाट प्राप्त पीडाको अनुभूति व्याख्या गर्ने समताको शब्द भेटाउन नै कठिन छ ।

सरकारले रंगभेद गर्ने, संचारकर्मीले समर्थन गर्ने, नेताले द्वन्द्व गर्ने र लाभान्वित समुदायले दीपावली मनाउने मुलुकमा समानता, समृद्धि, सहकार्य र साझा नेपाल निर्माणमा थुप्रै चुनौतीहरू हाम्रा सामु छन् । समानतामा आधारित मुलुकको संरचना, सम्मानसहितको प्रतिनिधित्व, सहकार्यतासहित विकास र अपनत्वसहितको साझा नेपाल निर्माण गर्नुको विकल्प छैन ।

मिलेर विभेदमुक्त राष्ट्र निर्माण गर्नका लागि सबै नेपाली बुद्धिजीबीहरू अभियानमा सक्रिय हुन ढिलो गर्नु हुन्न । विभाजित सोच र विभेदित समाज र विखण्डनकारी बुद्धिजीबीहरूका कारण हाम्रो नेपाल थप पीडितमा पुगेको छ । मधेशका समस्यालाई सबै जना मिलेर चाँडो समाधान गर्न सके मुलुकलाई विकास र सम्पन्नतातर्फ डो¥याउन सकिन्छ । मधेशको समस्या सिंगो देशको समस्या हो भन्ने बुझाई राख्ने हो भने रंगभेदमुक्त नेपाल बनाउन सकिन्छ ।

प्रकाशित मिति : २०७३।१२।१८


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com