तमलोपाका केन्द्रीय सदस्य महाजन यादवसहित २२ सय नेता कार्यकर्ता फोरममा

जनकपुरधाम, ६ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा पछिल्लो समय पार्टी प्रवेशको लहर चलिरहदाँ जनकपुरमा एकैदिन हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, फोरम लोकतान्त्रिक र राप्रपा परित्याग गरि बाइस सय अठार जना कार्यकर्ता फोरम नेपालको सदस्यता लिएका छन् ।

धनुषाको लक्षमनियामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी प्रभावशाली नेता कार्यकर्तालाई टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य महाजन यादवको नेतृत्वमा मात्रै झन्डै एक हजार कार्यकर्ता प्रवेश गरेका छन् । महाजन यादव धनुषामा प्रभावशाली नेताको रुपमा परिचित छन् ।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवको नेतृत्वमा महिला केन्द्रीय सदस्य लालो बेबी दनुवारसहित पाँच सय कार्यकर्तालाई अध्यक्ष यादवले स्वागत गरेका छन् ।

नेकपा एमालेका पूर्व गाविस अध्यक्ष ब्रम्हदेव यादव, कुञ्जा मण्डलसहित तीन सय बढी कार्यकर्ता पार्टीमा आबद्ध भएका छन् । त्यस्तै, नेपाली कांग्रेसका स्थानीय नेता लाल बहादुर यादव, देव नारायण यादव (मस्ती), छोटे लाल यादव, भुट्टा मण्डलसहित सयौंको संख्यामा पार्टी प्रवेश गरे ।

नेकपा एमालेका पूर्व गाविस अध्यक्ष ब्रम्हदेव यादव, कुञ्जा मण्डलसहित धनुषामा दख्खल राख्ने नेता कार्यकर्ताहरुले पनि फोरम नेपालमा प्रवेश गरेका छन् । यसैगरी कमल थापा नेतृत्वको राप्रपाका प्रभावशाली नेता राम आशिष मण्डलको नेतृत्वमा पनि सयौं कार्यकर्ताले पार्टीको सदस्यता लिएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मांग अनुसार संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी जनजाति लगायतका उत्पीडित जनताले नयाँ संविधान कुनै पनि हालतमा नस्वीकार्ने चेतावनी दिएका छन् ।

सरकारले संविधान संशोधनलाई बीचमै छाडेर स्थानीय तहको निर्वाचनको घोषणा गरेर मुलुकलाई द्वन्दमा धकेल्न खोजेको यादवको आरोप छ । 

उनले संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने अथवा जनआन्दोलनको बलमा संविधानलाई खारेज गराउने विकल्प मात्र सरकार समक्ष राखेको उल्लेख गरेका छन् ।

मुलुकमा संघीय व्यवस्था लागू भइसकेको अवस्थमा स्थानीय तहको निर्वाचन केन्द्र सरकारले गराउनै नसक्ने ठोकुवा समेत गरे । उनले मधेशको स्थानीय संरचना र स्थानीय तहको निर्वाचन समेत मधेश सरकारले नै गराउने पर्ने उल्लेख गरेका थिए  ।

अध्यक्ष यादवले जनसंख्याको आधारमा स्थानीय तहको विभाजन, संघीय संरचना, नागरिक र भाषा लगायतको समस्या समाधान नभएसम्म आन्दोलन जारी नै रहने समेत बताएका छन् ।

जिल्ला अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं तराई मधेश प्रदेशका अध्यक्ष रेणु यादव, सचिव शेष नारायण यादव, नव प्रवेशी महाजन यादव, राम गोविन्द यादव सहितका वक्ताले सम्बोधन गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com