सखडा महायज्ञमा भक्तजनको घुइँचो

सप्तरी, ६ बैशाख । छिन्नमस्ता सखडा शक्तिपीठमा चालू श्री १००८ लक्षचण्डी रुद्र महायज्ञको पूजा, पाठ र हवनका कार्यक्रमहरू सुसम्पन्न भएका छन् । अपेक्षा गरिएझैं आइतबार पीठ एवं महायज्ञ परिसरमा दर्शनार्थी भक्तजनको ठूलो घुइँचो रह्यो ।

शुक्रबार सतुवाईन र शनिबार सिरुवा मनाएर फुर्सद्मा आउना साथ भक्तजन सखडा महायज्ञतर्फ हानिएका थिए । उनीहरूले सखडेश्वरीमाताको दर्शन–पूजा गरी महायज्ञको पूजा, दान एवं यज्ञशालाको प्रदक्षिणा गरेका थिए ।

बिहान एवं दिउँसो पाठ एवं हवन सँगसँगै हुने हुनाले दर्शनार्थीहरूले समूह समूहमा भेला भई हवनको ऊर्जा प्राप्त गरेका थिए । दर्शनार्थीहरूले पाठ श्रवण हवनको अमृतपान गर्नकै निम्ति आफूहरू आएको उनीहरूले चर्चा गर्ने गरेको पाइन्छ ।

निश्चय पनि महायज्ञको मूल भाव नै यज्ञशालाको निकट पुग्नु हो । ताकि शरीर एवं मनको क्लेश दूर होस् । दूर्गतिबाट मुक्ति प्राप्त गरेर प्रगतितर्फ बढ्न पाइयोस्, सकियोस् । जुन स्थान वा देशमा यज्ञको सम्पादन हुन्छ, त्यस स्थान र देशको शान्ति एवं प्रगति सुनिश्चित हुन्छ ।

नयाँ वर्षको दोस्रो दिन शनिबार यस भेगमा विशाल हूरी, पानी र असिनाको प्रकोप उत्पन्न भए पनि त्यसले यज्ञशाला एवं महायज्ञलाई असर पुर्याउन चाहेन । महायज्ञका मेलाका केही स्टल तथा कथावाचन एवं रासलीला पण्डाल आंशिक रूपमा क्षतिग्रस्त भए पनि आइतबार सबेरै संभार कार्य पूरा गरिएको महायज्ञ मूल कार्यकारिणी समितिका अध्यक्ष सत्य नारायण यादवले बताए ।

हूरीले प्रभावित भएको मिथिला अनुपम डेगको प्रस्तुती ‘मिथिला विभूतिको प्रदर्शनी’ को पनि संभार सकिएको छ । महायज्ञमा श्रीमद्भाग्वद् एवं श्रीदेवीभाग्वद् कथा तथा रासलीलाका साथै मेलामा लगाइएका मनोरन्जनात्मक कार्यक्रमहरू सूचारु रूपले सञ्चालन भइरहेको जानकारी अध्यक्ष यादवले दिए ।

चालू श्री १००८ लक्षचण्डी रुद्र महायज्ञको पूर्णाहूति कार्यक्रम बुधबार निर्धारित छ । लक्षचण्डी रुद्र महायज्ञ स्वयंमा एक विशाल एवं प्रभावशाली यज्ञ मानिन्छ । यस महायज्ञमा एक लाख आवृत्ति चण्डीपाठका साथै शास्त्रानुसारको पाठ एवं हवन क्रिया सम्पादन गरिने कार्यक्रम रहेको छ ।

महायज्ञमा २२ सय पण्डितद्वारा पाठ एवं हवन सम्पादन भइरहेको जानकारी महायज्ञका मुख्य यजमान पीठाधीश तथा महायज्ञ मूल समितिका संयोजक महाकान्त ठाकुरले दिए । महायज्ञको संकल्प भएकै दिन २०७१ चैत २६ गतेदेखि महायज्ञको पूर्ण सफलताका लागि चार आवृत्ति दैनिक पाठ हुँदै आएको उनले बताए ।

लक्षचण्डी रुद्र महायज्ञ स्वयंमा कठिन एवं चुनौतीपूर्ण यज्ञ मानिन्छ । यज्ञको संकल्प भई सकेपछि यज्ञ निष्प्रभाव हुन सक्दैन । यज्ञ सफल भएमा प्रभावशाली हुने र विघ्न उत्पन्न भएमा दुष्प्रभाव सुनिश्चित मानिन्छ ।

यसै कारणले यस्तो महायज्ञको आयोजना दुर्लभ हुने गर्दछ । लक्षचण्डी रुद्र महायज्ञ युगान्तकारी घटना मानिन्छ । आसन्न महायज्ञ नेपालमा पहिलो पटक आयोजना भइरहेको पीठाधीश ठाकुरले बताए । महायज्ञको आचार्य कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयका वेदविभागाध्यक्ष विदेश्वर झा रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com