राष्ट्रपतिको भ्रमणले भारतसँगको सम्बन्ध थप मजबुत भएको छ : विपिन देव, नेपाल–भारत सम्बन्धका जानकार

जबसम्म मुख्य मुद्दा विकास बन्दैन तबसम्म लोकतन्त्र स्थिर रहन सक्दैन ।

० राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणलाई कुन रूपमा लिनुभएको छ ?
— राष्ट्रपति भण्डारीको भारत भ्रमण द्विपक्षीय सम्बन्धका लागि एकदमै उपलब्धिपूर्ण भएको छ । यो भ्रमणले नेपाल र भारतको सम्बन्ध नयाँ उचाईमा पुगेको छ । हुन त यसअघि उहाँको भारत भ्रमण स्थगन गरिएको थियो । त्यसबेला यो भ्रमणलाई लिएर एकदमै विवाद भएको थियो । तर, अहिलेको भ्रमणले नेपाल र भारतको सम्बन्धलाई राम्रो उचाई दिएको छ । किन भने अहिलेको भ्रमणमा विकासको एजेण्डाले प्रमुखता पाएको छ । भेटघाटको कुरा गर्ने हो भने शीर्ष तहका धेरै नेतासँग भेटवार्ता भएको अवस्था छ । राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट भएको छ । यो भ्रमणले नेपाल र भारतको सम्बन्धको नयाँ आयाम दिएको छ ।


० यो भ्रमणलाई बेला न कुबेलाको भ्रमण भनेर पनि टिप्पणी हुने गरेको छ नि ?
— यसलाई बेला न कुबेलाको भ्रमण भन्न मिल्दैन । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण १८ वर्षपछि भएको थियो । यो ग्याप नेपाल र भारतको सम्बन्धका लागि राम्रो मानिएको थिएन । त्यसैले उच्चस्तरीय भ्रमणको संख्या जति बढ्यो, त्यति राम्रो हुन्छ । यस्ता भ्रमणले सम्बन्धमा मधुरता प्रदान गर्छ । संविधान कार्यान्वयन गर्नु नेपाल सरकारको सबैभन्दा ठूलो चुनौतीको विषय छ । अर्कोतर्फ धेरै अन्यौलका बीचमा स्थानीय निकायको चुनाव घोषणा भएको छ । यसका साथै अरूण परियोजना कार्यान्वयन, रेल्वे नेटवर्कबारेलगायत विषयमा कुरा छ । त्यसकारण यो भ्रमण राजनीति र विकास दुवैका लागि महत्वपूर्ण बन्न गएको छ । यो भ्रमणलाई हल्का ढंगबाट लिनुहुँदैन । नेपाल र भारतका लागि यो भ्रमण सकारात्मक छ ।


० केपीशर्मा ओली प्रधानमन्त्री भएका बेला पनि राष्ट्रपतिको भारत भ्रमण तय गरिएको थियो । तर, त्यसबेला हुन सकेन । त्यसबेला भ्रमण भइदिएको भए कस्तो हुन्थ्यो ? र, अहिलेको भ्रमणमा के भिन्नता छ ?
— त्यसबेला मन्त्रिपरिषद्को बैठकले नै राष्ट्रपतिको भारत भ्रमण स्थगित गरेको थियो । त्यसबेला नेपालको विषयमा भारतको संसद्सम्म बहस चलिरहेको थियो । त्यति मात्र होइन मिडिया वार नै चलेको थियो । त्यस्तै, आपूर्तिसम्बन्धी नेपालमा समस्या थियो । मधेशवादी दल आन्दोलनमा थिए । त्यसकारण त्यतिखेरको अवस्था नकारात्मक थियो । हुन त त्यसबेला भ्रमण भइदिएको भए दुवै देशको तनावलाई कम गर्ने बुझाइ पनि धेरै थियो । तर, त्यसबेला ओली सरकारको भारतलाई हेर्ने चश्मा फरक थियो । हुन त राष्ट्रपति कुनै पार्टीको हुँदैन । तर, पनि केही नकारात्मक हुन सक्थ्यो । अहिलेको कुरा गर्ने हो भने माओवादी र कांग्रेसको सरकार छ । माओवादीले सरकारलाई नेतृत्व गरे पनि कांग्रेस मुख्य सहयोग पार्टी हो । यसपालीको कुरा गर्ने हो भने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो भाषणमा नेपालको संविधानले सबैलाई समेटेको छ, समावेशी संविधान छ भनेर भनिरहनुभएको छ । त्यसकारण यो भ्रमणका क्रममा नेपालको संविधान समावेशी हो भनेर भारतलाई विश्वास दिलाउन खोजिएको छ । यसका साथै असन्तुष्ट मधेशकेन्द्रित दललाई पनि साथमा लिएर अगाडि बढ्ने भनेर उहाँले सन्देश दिन खोज्नुभएको छ । त्यसकारण यो भ्रमण कही न कही राजनीतिकेन्द्रित छ । अर्कोतर्फ चुनाव घोषणा भएको छ । मधेशवादी दलहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


० पछिल्लो समयमा सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव संसद्मा दर्ता गराएको छ । त्यसपछि राष्ट्रपति भण्डारीको भारत भ्रमण भएको छ । यसलाई कुन रूपमा लिन सकिन्छ ?
— यो गहन विषय हो । धेरै विश्लेषकले भन्दै आएका छन् कि संविधानको विषयमा भारतले असन्तुष्टि जाहेर गर्दै आएका छन् । भारतले मधेशवादी दललाई नैतिक रूपमा समर्थन दिएको कुरा पनि उनीहरूले राख्दै आएका छन् । तर, भारतको विदेश नीति प्रष्ट छ । भारत आफ्नो आर्थिक वृद्धिदर निरन्तरता दिन चाहन्छ । यसका लागि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउने भारतको चाहना छ । र, विशेष गरी सुरक्षा भारतको चिन्ताको विषय हो । भारतले सबैलाई समेटेर संविधान बनाउनुपर्छ, मधेशमा सुव्यवस्था हुनुपर्छ लगायत कुरा भन्दै आएको छ । मधेशसँग भारतको सीमा जोडिएको छ । जसको प्रभाव सिधै भारतमा पर्छ । त्यसकारण भारतले नेपालमा शान्ति कायम भएको हेर्न चाहनु स्वभाविक हो ।


० भनेपछि नेपालको संविधानभन्दा पनि नेपालमा शान्ति स्थापना भारतको मुख्य चाहना हो ?
— नेपालको आर्थिक वृद्धिदर बढ्दा भारतको प्रतिष्ठा नै बढ्छ । यसका साथै भारत र चीनको सामिप्यता छ, त्यसकारण नेपाललाई छेउ लगाएर अगाढि बढ्न पनि भारतलाई मिल्दैन । हाम्रो मुख्य कमजोरी के छ भने हामी विकासका मुद्दालाई थाँती राखेका छौं । नचाहिने कुरामा बढी चासो दिन्छौं । त्यसकारण जबसम्म मुख्य मुद्दा विकास बन्दैन तबसम्म लोकतन्त्र स्थिर रहन सक्दैन । आजभन्दा ४० वर्षअघिको भारत र अहिलेको भारतमा धेरै फरक छ । भारत सामरिक, आर्थिकलगायत ढंगले धेरै तीब्र गतिमा अगाडि बढिरहेको छ ।


० राष्ट्रपति विद्या भण्डारीलाई भारतमा त्यहाँका राज्यमन्त्रीले विमानस्थलमा स्वागत गर्नुलाई कुन रूपमा लिनुहुन्छ ?
— यो विषयको धेरै चर्चा छ । राष्ट्रपति विद्या भण्डारीलाई राज्यमन्त्रीले स्वागत ग¥यो भनेर आलोचना भइरहेको छ । तर, आलोचना गर्नुको कुनै तुक छैन । किन भने सबै देशको आ–आफ्नो तरिका हुन्छ । भारत कस्तो चलन रहिआएको छ, पहिला यसमा विचार गर्नु आवश्यक छ । भारतमा विमानस्थलमा स्वागत मन्त्रीस्तरको व्यक्तिले नै गर्दै आएका छन् । राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले स्वागत गर्नुलाई सम्मानमा आघात भनेर भन्न मिल्दैन । भारत विशाल छ, यहाँका नेताहरू बढी नै व्यस्त हुन्छन् । यसका साथै भारतको परम्परा कस्तो छ त पहिला त्यसकोबारेमा बुझ्नु आवश्यक छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा अर्को छ । स्वागत कसले गरे भन्दा पनि राष्ट्रपतिसँगको उच्चस्तरीय भेटवार्ता को–को सँग भयो, के–के कुरा भयो, त्यो महत्वपूर्ण कुरा हो । हो, यी कुराले उहाँको भ्रमण कस्तो भयो भन्ने निष्कर्ष निकाल्छ ।


० नेपाल गरिब देश भएर राष्ट्रपतिलाई स्वागतका लागि राज्यमन्त्रीलाई पठाइएको पनि भन्ने टिप्पणी गरिँदैछ नि ?
— यो कुरामा म एउटा उदाहरण दिन्छु । कहिलेकाहीं व्यक्ति र व्यक्तिबीचको सम्बन्धले पनि महत्व राख्छ । गिरिजाप्रसाद कोइरालाको देहान्त हुँदा खेरी भारतबाट उच्चस्तरीय टोली नेपाल आएको थियो । मिराकुमारको नेतृत्व उच्चस्तरीय टोली नै नेपाल आएको थियो । टोलीमा भारतका दिग्गज नेताहरूको सहभागिता थियो । तर, गिरिजाप्रसाद कोइराला जतिको उचाई भएका कृष्णप्रसाद भट्टराईको देहान्त हुँदा भारतबाट त्यस्तो उच्च नेतृत्व आएको थिएन । जबकी भारतको स्वतन्त्रमा संग्राममा कृष्णप्रसाद भट्टराई महत्वपूर्ण योगदान थियो । यसकारण व्यक्ति–व्यक्तिबीचको सम्बन्धले नेपाल भारत कूटनीतिमा प्रभाव पर्ने गर्छ । तर, अहिलेको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणमा यस्तो कुनै प्रभाव परेको छैन । अहिले दुवै तिरबाट भ्रमण भइरहेको छ । त्यसैले पहिलेको भन्दा अहिले धेरै भइरहेको छ ।


० नेपाल र भारतको अहिले सम्बन्ध कस्तो छ ?
— नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै गएको छ । अब नेपालले साना कुरा म नअल्झिकन विकासलाई एजेण्डा बनाएर अघि बढ्नुपर्छ । विकासको मामिलामा भारत धेरै अगाडि बढिसेकेको छ । अब नेपालले पनि पाठ सिक्नुपर्छ ।


प्रकाशित मिति : २०७४ साल बैशाख ८ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com