राम नारायण पंडित, सिरहा, ८ बैशाख । सिरहामा भाईको हत्या गरेको आरोपमा दाई–भाउजु पक्राउ परेका छन् । मिर्चैया ८ मझौवा बस्ने २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा प्रदिपको आफ्नै दाजु करीब ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरो देबि रायलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर मिर्चैया ८ मझौवामा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो ।
घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देवीको योजनामा हत्या भएको देखिएकोले दुवै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्ध बज्राचार्यले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी बज्राचार्यले दाबी गरे । घटना भएको दिन मात्रै प्रदिप साथीको भतिजको विहेमा सहभागी हुन काठमाडौंबाट घर आएका थिए ।
प्रदिपले काठमाडौमा लामो समयदेखि प्रतिज्ञा मेनपावर संचालन गर्दै आएका थिए । घटना भएदेखि अपराधी पत्ता लगाउन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरीहरुलाई परिचालन गरिएको छ ।