एकीकरणले थपेको ऊर्जा

ठूला दलहरू मधेशीलाई हकअधिकार, अवसर र जिम्मेवारी दिने बेलामा सधैं पछि परेका कारण आज सम्पूर्ण मधेश विभेदको शिकार भएको छ । मधेशीलाई मतदाता र करदाताको रूपमा मात्र प्रयोग गर्दै आएका ठूला दलहरूको रणनीति अब चल्दैन । गत साता ६ मधेशवादी दलहरूबीच भएको एकीकरणले मधेशमा मात्र होइन समग्र नेपालको राजनीतिमा नयाँ किसिमको तरंग उत्पन्न भएको छ । यो एकतालाई विभिन्न किसिमले व्याख्या, विश्लेषण र वर्णन गरिएपनि मधेशमा एउटा उत्साह थपेको छ । मधेश र मधेशवादप्रति समर्पित युवा नेता कार्यकर्ताहरू एकीकरणको खुशियालीमा पर्वकै रूपमा मनाएका छन् । यस एकीकरणबाट ठूला दलहरूलाई पक्कै पनि ठूलो झट्का लागेको हो ।

संविधानसभाको दोस्रो निर्वाचनको मत परिणाम हेर्दा यो एकीकरण यदि पहिले नै भएको भए अहिले मधेशवादी दलहरूको प्रत्यक्षतर्फ कम्तीमा ६० भन्दा माथि नै हुने थियो । तर, विभिन्न कारणवश विगतमा भएको टुटफुट, गुटउपगुट, मनमुटाव लगायतले त्यो सम्भव हुन सकेको थिएन । जेहोस्, ‘देर आए दुरूस्त आए’ भन्ने उखानझैं यो एकीकरण एकदमै सराहनी र स्वागतयोग्य रहेको छ । मधेसवादी दलहरूबीच एकाएक एकीकरण भएको सन्दर्भ यतिबेला चर्चामा छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका ६ दलले पार्टी एकीकरणको घोषणा गरेका छन् । ‘मधेशी एकता आजको आवश्यकता’ भन्दै एकीकृत दल राष्ट्रिय जनता पार्टीको घोषणा गरिएको हो । काठमाडौंमा पार्टी एकीकरण कार्यक्रमको आयोजना गरी मोर्चामा आवद्ध ११ सांसद रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी, ६ सांसद रहेको सद्भावना पार्टी (१ निलम्बित), तीन सांसद रहेको तराई मधेश सद्भावना पार्टी नेपाल, तीन सांसद रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, एक सांसद रहेको नेपाल सद्भावना पार्टी र एक सांसद रहेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता दल नेपाल गठन भएको हो ।

विगतमा मधेशी नेतृत्वहरूले गरेका आफ्ना गल्तीहरूलाई सच्याउँदै मधेशी जनताको आकांक्षालाई पूरा गर्न ६ मधेशवादी दलहरूबीच एकीकरण भएको हो । एकताको विकल्प अरू केही पनि हुन सक्दैन भन्ने मान्यताका साथ एकीकृत दल राजपा नेपाल गठन भएको हो । एकभएर गयो भने जस्तोसुकै परिस्थितिलाई सामना गर्न सक्छन् तर, एक्लाएक्लै रहेर जतिसुकै कराए पनि केही पनि हासिल हुन सक्दैन । एकतामा धेरै ठूलो शक्ति हुन्छ । त्यसलाई आत्मसात गर्दै ६ दलको एकताले मधेशलाई अधिकार सम्पन्न बनाउनेमा मधेशका जनता आशावादी हुनुका साथै हर्षित भएका छन् ।


प्रकाशित मिति : २०७४ साल बैशाख १५ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com