संविधान संशोधन हुनेमा हामी ढुक्क छौं, त्यसैले चुनावमा गएका हौं : डा. शिवजी यादव, उपाध्यक्ष (संघीय समाजवादी फोरम नेपाल)

० तपाईंहरू संविधान संशोधनअघि नै चुनावमा जानु भयो नि ?
— हो । हामी चुनावमा गएका छौं । वैशाख १७ गते संविधान संशोधन हुने हिसाबले नै प्रक्रिया अघि बढेको थियो । अर्कोतर्फ हामी संविधान संशोधनमाथिको संशोधन पनि पेश गरिसकेका छौं्र । संशोधनमा हाम्रो पार्टीको रिजर्भेसन छ । धारा २७४ मा संख्या र सिमाना लेख्नुपर्ने हाम्रो रिजर्भेसन छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । वैशाख १७ गते संविधान संशोधन पारित गराउने कुरो थियो । तर, संसद् बैठक पाँच दिन पर सारियो । केही प्राविधिक कारण यसो गरिएको होला । अब यसलाई नै निहुँ बनाएर निर्वाचनमा नजाने कुरो पनि भएन । हामीले संविधान संशोधन हुने कुराको प्रतिबद्धता पाएका छौं । त्यसैले चुनावको प्रक्रियामा हामी सहभागी भएका छौं ।


० तर, तपाईंहरूले त संविधान संशोधन भएपछि मात्र चुनावमा सहभागी हुने भनिराख्नुभएको थियो नि ?
— यो राजनीति हो । जनताको अधिकार सुनिश्चितताका लागि कहिलेकाहीं एक कदम पछाडि हटेर पनि दुई कदम अगाडि बढ्नुपर्ने अवस्था हुन्छ । मधेशी जनताले आफ्नो एजेण्डा सम्बोधनका लागि संघर्ष गर्दै आएका छन् । अर्को कुरा निर्वाचन पनि मधेशी जनताले चाहेका छन् । हो, संविधान संशोधन मधेशीको चाहना हो । तर, त्यस्तो किसिमको वातावरण छैन । हुन त पहाडमा पनि केही आदिवासीको चाहना छ । तर, अधिकांश जनजातिले संविधान संशोधन भए÷नभए पनि चुनावमा जानुपर्ने चाहना राखेका थिए । त्यसकारण ३, ४ र ६ प्रदेशमा हामी चुनावमा सहभागी भएका छौं । अर्को कुरा नयाँ शक्तिसँग पनि हाम्रो सहकार्य भएको छ । हामीले पहिलो चरणको चुनावमा सहभागी भएका छौं । दोश्रो चरणमा सहभागी हुँदैनौं । दोश्रो चरणको चुनावअघि संविधान संशोधन हुनुपर्छ । सरकारले पनि दोश्रो चरणको चुनावअघि संविधान संशोधन गराइसक्ने प्रतिबद्धता जनाएको छ । त्यसकारण अहिले नै चुनाव बहिष्कार गर्नुको गल्ती हुन जान्छ । दोश्रो चरणमा राजपा पनि चुनावमा सहभागी हुनेछ ।


० तपाईंहरू मधेशी मोर्चामा हुनुहुन्छ । तपाईंहरू चुनावमा जाने अनि राजपा नजाने देखियो । तपाईंहरूको यो कदमलाई राजपाका नेताहरूले धोकाको संज्ञा पनि दिइरहेका छन् नि ?
— पछिल्लो समयमा राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेपछि राजपाले समर्थन गर्ने निर्णय गरेकै हो नि । यो सरकारलाई समर्थन किन ? हो, उहाँहरूले अहिलेको संविधान संशोधनमाथिको संशोधनको सुनिश्चितताका लागि सरकारलाई समर्थन दिएका हुन् । त्यसैले सरकारका कामका सहभागी नहुने राजपाले पनि निर्णय गरेको छैन नि । राजपाको संगठन ३,४ र ६ नम्बर प्रदेशमा नभएको र चुनाव चिह्नको औपचारिक प्रक्रिया पूरा नभएकाले उनीहरूले पहिलो चरणको चुनावमा सहभागी हुन सकेनन् । हामी चुनावमा सहभागी भए पनि मधेशका मुद्दा छोडेका छैनौं ।


० तर, फोरम नेपालले दोहोरो चरित्र देखायो भन्दै आलोचना भइरहेको छ नि ?
— यो दोहोरो चरित्र होइन । हामीले त विरोध संविधानकै गरेको हो ।


० तपाईंहरूले त संविधान नै पुनर्लेखन गर्नुपर्ने भन्दै आउनुभएको छ नि ?
— त्यो त हामी अहिले पनि भनिरहेका छौं । तर, संशोधनको प्रक्रियाबाट संविधान सच्याउँदै जाने बाटो पनि त छ नि । त्यसैले हामीले संघर्ष र संशोधनको बाटो अपनाएका हौं ।


० तर, संशोधन त अलपत्र अवस्थामै छ नि ?
— अलपत्र छैन । संशोधनको काम प्रक्रियामा छ ।


० दर्ता भएकै दिन प्रक्रियामा आएको हो । तर, पुर्णता पाएको छैन नि ?
— पूर्णता पाउँछ । दोश्रो चरणको चुनावअघि संविधान संशोधन हुन्छ । चुनाव पनि हुन्छ । हामीलाई जनतालाई पठाएका छन् । र, हामी जनताका लागि अधिकतम् उपलब्धि हासिल गरेर गर्छौं । लोमा समयदेखि हुन नसकेको स्थानीय चुनावको सुनिश्चितताका लागि पनि हामी चुनावमा गएका हौं ।


० तपाईंहरू चुनाव केन्द्रित हुँदा वैशाख ३१ गतेभित्रै संविधान संशोधनका लागि सरकार बाध्य भएन नि ?
— सरकारलाई अहिले सबभन्दा ठूलो दबाब परेको छ । हामी चुनावमा आएर आफ्नो काम ग¥यौं । अब सरकारलाई पनि आफ्नो प्रतिबद्धता पूरा गर्न दबाब परेको छ ।


० स्थानीय चुनाव केन्द्रले होइन प्रदेशले गराउनुपर्छ भन्ने पनि तपाईंहरूले भन्दै आउनुभएको थियो नि ?
— यो कुरा अहिले पनि हामीले भनिरहेका छौं । एक पटकलाई स्थानीय तहको चुनावलाई केन्द्रलाई गराउन दिएका हौं । अब आगामी वर्षमा प्रदेश निर्माण भएपछि प्रदेश सभाले नै स्थानीय चुनाव गराउँछ । स्थानीय चुनाव प्रदेशले गराउनुपर्ने कुराको आभाष सबै दलले पाइसकेका छन् । विशेष गरी ठूला दलहरू भ्रममा थिए । अब उनीहरूले बुझिसकेका छन् कि स्थानीय चुनाव प्रदेशले गराउनुपर्छ ।


० भनाइ त हो, तर गराइ भएन भन्ने आरोप छ नि ?
— बिल्कुलै होइन । अहिले एक पटकका लागि सहमति भएकै हो । स्थानीय चुनाव लामो समयसम्म नभएको अवस्थामा भाँजो हाल्नु पनि त्यति उपयुक्त हुँदैन नि । दोश्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुन्छ ।


० त्यसो भए वैशाख ३१ पछि संशोधन गरे पनि हुने भयो नि, होइन ?
— प्रक्रिया वैशाख २१ अगाडि बढाउने कुरा छ । अब प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाअभियोग पनि लगाइएको छ । त्यसले गर्दा अहिले अर्कै खालको राजनीतिक परिस्थिति बनिरहेको छ । अब वैशाख २१ गते प्रमुख प्रतिपक्षीले कस्तो भूमिका निर्वाह गर्छ त्यसमा भर पर्ने कुरा छ । उनीहरू बेल घेर्न पनि सक्छन् । त्यसकारण त्यसदिन हुन सकेन भने हामी राजनीतिक सहमति बनाएर अगाडि बढ्छौं । हामीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन पनि दबाब दिइरहेका छौं । यी सबै कुराको सम्बोधन छिट्टै हुन्छ । हामीलाई विश्वास छ कि वैशाख ३१ अघि नै संविधान संशोधन हुन्छ । यदि यसअवधिमा हुन सकेन भने जेठ ३१ को चुनावी प्रक्रिया सुरू हुनुभन्दा अघि नै संविधान संशोशन हुन्छ । हामीले मधेशी, आदिवासी जनजातिलगायत उत्पीडनमा परेकाको आवाज उठाउँदै आएका छौं । अब राजनीति सधैँ सोचे जस्तो पनि हुँदैन । जहिले पनि एक र एक दुई होइन कहिलेकाहीँ एक र एक ११ पनि हुने गर्छ । जनतालाई भन्न चाहन्छौं कि हामी संघर्षको बाटोमा छौं । हाम्रो पछिल्लो कदमलाई नकारात्मक रूपमा लिनु भएन ।


० मधेशी मोर्चामा आबद्ध राजपा र फोरम नेपालले संशोधनमाथिको संशोधन छुट्टा–छुट्टै किन दर्ता गराए । मोर्चामा मतभेद किन ?
— हामीले संविधानको धारा २७४ मा प्रदेशको संख्यासमेत राख्नुपर्ने भनेका छौं । हामीले संख्या तोक्नुपर्ने रिजर्भेसन राखेका छौं । त्यसैले हामीले छुट्टै संशोधन हालेका हौं ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति  : २०७४ साल बैशाख २२ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com