सबै मधेशवादी शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्छ : रामेश्वर राय यादव, वरिष्ठ उपाध्यक्ष (नेपाल लोकतान्त्रिक फोरम पार्टी)

० अहिलेको अवस्थामा मधेशको राजनीति कतातिर गइरहेको छ ?
— वर्तमान परिस्थितिमा मधेशको राजनीतिक अलिकति उभों लाग्न खोजिरहेको छ । विगतको दिनहरूमा जे–जति गल्तीहरू भएको छ त्यसलाई सच्याउँदै एउटा समझदारी, सहमति र सहकार्यको वतावरणतिर लम्किरहेको छ । हिजोका दिनहरूको आन्तरिक विवादको ‘टुस’ यदाकदा अहिले पनि देखिरहेको छ । मधेशका सम्पूर्ण अधिकारकर्मी, दलहरू, नेताहरू, व्यक्तित्वहरूबीच भावनात्मक एकता हुनु जरूरी छ । अझ एउटा नयाँ उत्साह र जोशका साथ संविधान संशोधन गरेर आफ्ना विगतका मुद्दाहरूलाई संस्थागतरूपमा अगाडी बढाउने हो भने हाम्रा आउने सन्ततिहरूलाई राम्रो हुन्छ र हामीहरूले अहिले विगतका सम्पूर्ण तिता–मिठा गतिविधिहरूलाई बिर्सेर नयाँ सदभाव र सहयोगको वतावरण बनाउन जरूरी रहेको छ ।


० काँग्रेस, माओवादी र एमालेबीचको राजनीतिक द्वन्द्वका कारणले मधेशमा के—कस्तो क्षति पु¥याइरहेको छ ?
— मूलतः काँग्रेस, एमाले र माओवादी केन्द्र एउटै वर्गीय चिन्तनबाट प्रेरित भएको पार्टी हो । यो वर्गीय सोचबाट प्रेरित वा वर्गीय चिन्तन बोकेका नेताहरूले मधेशको बारेमा एउटा दृष्टिकोण नै साझा बनाएको छ । मधेश उभोँ लाग्यो भने, मधेशलाई अधिकार दियो भने भोली हाम्रो अधिकार खोस्छ भन्ने भावनाबाट ग्रसित छन् तीनै पार्टीका नेताहरू । जबकी मधेश भनेको यो देशको प्रमुख अंङ्ग हो । मधेशमा विकास भएन, मधेशीहरू मजबुत र बलियो भएन भने देश बलियो हुँदँन । जुन देशको आधाभन्दा बढी जनसंख्याको समुदायलाई भेदभावको शिकार बनायो र तिनीहरूलाई अपाङ्ग बनाउन खोजियो भने यो देश सदा–सदाको लागि अपाङ्ग रहनेछ । काँग्रेस, एमाले र माओवादी लगायतका नेताहरूले किन बुझ्न सकिरहेको छैन भन्ने कुराको मलाई चिन्ता छ । मेरो विचारमा यो काँग्रेस, एमाले र माओवादी लगायतका जति पनि यो वर्गीय चिन्तन बोकेका साम्प्रदायिक शक्तिहरू छन्, तिनीहरूको सारा दृष्टिकोण मधेशको बारेमा एउटै छन् । त्यसैले तिनीहरू जति छुटा–छुटै भएपनि साझा दृष्टिकोण हाम्रो बारेमा एउटै राखेको छ भने हामी पनि सबै दलहरू मिलेर एउटै साझा विचार र साझा संगठन बनाएर अगाडी बढ्नु पर्छ । त्यसबाट हामीले प्रेरणा लिनुपर्छ । यिनीहरू सबै दृष्टिदोषका शिकार हुन् ।


० दलहरू बीचको द्वन्द्वका कारण पार्ने दूरगामी असर कस्तो देख्नुहुन्छ ?
— यिनीहरूको आफ्नो स्वार्थको बाहेक अरू कुनै भित्री द्वन्द्व छैन । यिनीहरूले बाहिर द्वन्द्व देखाएको मात्र हो । यिनीहरूभित्र सत्ताको द्वन्द्व हुन सक्छ, कुर्सीको लडाई हुन् सक्छ, तर मधेश र मधेशीको मुद्दामा सबैले एउटै धारणा राख्छ । कोही कम बोल्छ, कोही बढि बोल्छ फरक त्यति मात्र हो । हैन भने, सबले मधेशसँग भेदभाव भएको छ, मधेशी मुद्दाको सम्बोधन मेरो सरकारमा हुन्छ, म गराउँछु तर गर्ने बेलामा कोही पनि नगर्ने । सबैले आलो–पालो गरेर मधेश र मधेशीलाई प्रयोग गर्ने, सत्ताको सिढीँ बनाउने खेल अहिलेसम्म देखिएको छ । त्यसैले यी सम्पूर्ण इतिहासबाट हामीले सचेत हुनु पर्छ । र मधेश मुद्दालाई सम्बोधन गराउनका लागि हामी आफ्नै सबै मधेशवादी दलहरूले पूर्णरूपमा स्वतन्त्र भएर हातेमालो गरेर अगाडी बढ्नु पर्ने आवश्यता रहेको छ ।


० सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित भएन भने देशमा कस्तो असर पर्न सक्छ ?
— अहिले संविधान संशोधनको प्रक्रियाको थालनी भएको छ त्यो एउटा झिनो आशा मात्रै हो । र, मधेशवादी दलहरूले यस कुरालाई स्वीकार गरेको छ कि यो सरकारले जुन विधेयक ल्याएको छ त्यो हाम्रो पक्षमा छ । यो एउटा पोलिटिकल ड्रामा हो । र यो राजनीतिक ड्रामा किन हो भने फेरि पनि सीमांकनको विषयमा आयोगमा जाने र उच्चस्तरिय शक्तिशाली आयोग बनाएर त्यहाँबाट छिनोफानो गर्ने । यदि यहि गर्नु पर्ने थियो भने सुरूकै दिनमा आयोग बनाउन सकिन्थ्यो । त्यसैले यो परिस्थितिमा हामीहरू सचेत हुनु पर्छ । यो सचेत हुनका लागि समय आएको छ । अहिले पनि काँग्रेस, एमाले र माओवादीको जालझेलमा फस्नु हुँदैन । तर अहिले जुन संशोधन पेश भएको छ त्यसमा हामी ‘लेट शो बेटर’ यसको लागि सबैले सहयोग गरेर पास गराउँ । यसले जे–जति उपलब्धी हुन्छ त्यसलाई साकारात्मक मानेर अगाडी बढौँ । तर मलाई झिनो आशा पनि छैन । यिनीहरू ‘त पिटे जस्तो गर्नु, म रोएको जस्तो गर्छु’ भन्ने फर्मूलामा यो विधेयक पास गर्छ भन्ने मलाई लाग्दैन ।


० संविधान संशोधन प्रस्ताव पारित नभए मधेशवादी दल के गर्ला ?
— मधेश हिजो पनि पिडित थियो र आज पनि पिडित छ । हामीहरू अलग–अलग भएर काम ग¥यौं, त्यसले उभोँ लाग्न सकेन । हामीले व्यक्तिगत इगो छोडेर सम्पूर्ण मधेशवादी दलहरू एकीकृत भएर अगाडी बढ्यौँ भने हाम्रो उपलब्धि संस्थागत हुनसक्छ । किनभने हामीले सद्भावना पार्टीको गठन गर्दा स्वर्गीय गजेन्द्रनारायण सिंहको नेतृत्वमा हामीले मधेश आन्दोलन सुरू ग¥यौं । त्यतिबेलाभन्दा अहिले अनुकूल वातावरण छ । त्यतिबेला प्रतिकूल वातावरण थियो । यस्तो अनुकूल वातावरणमा हामीले व्यक्तिगत इगो, झै–झगडामा नपरेर हामीले साझा दृष्टिकोण र साझा शक्तिलाई अगाडी बढायौं भने काँग्रेस, एमाले र माओवादीको जालझेल तोड्न सक्छौं । यिनीहरूको राजनीतिक चक्रव्यूहलाई तोडेर हामी अगाडी बढ्न सक्छौँ ।


० मधेशवादी दलहरूमा पछिल्लो दिनमा ‘मधेश’ शब्द हटाएर दलको नामाकरण गर्ने लहर नै चलेको छ किन होला ?
— किनभने यो कुरा बडो गम्भीर रहेको छ । यो लहरको राजनीति सुरू भएको छ । यो कमजोर मानसिकताको प्रतिक हो । मधेश र मधेशीप्रति गर्व गर्न सकिएन भने त्यो परिस्थितिको निर्माण भएको छ । कसैले साम्प्रदायिक भन्देला भन्ने डरले मधेश शब्द झिक्नु पर्ने म कुनै कारण देख्दिनँ । मलाई लाग्छ यो कमजोर मानसिकताको प्रतिक हो । व्यक्तिगतरूपमा म मेरो पार्टीमा मधेश शब्द झिक्नु पर्दैन भन्ने प्रस्ताव राखेको व्यक्ति हुँ । यदि हरेक पार्टीले राखेको भएपनि त्यसमा कुनै तात्विक असर पर्दैन । यो ‘मोही माग्ने ढँुग्रो लुकाउने’ जस्तो नेपालीमा एउटा उखान छ । त्यस्तो र त्यसभन्दा माथी हामीले उठ्न सक्नु पर्छ । नेपाल सद्भावना पार्टीमा मधेश शब्द कहिँ पनि जोडिएको थिएन तैपनि त्यो पार्टीलाई मधेशी पार्टी भनेरै भनिन्थ्यो । त्यसकारण नाम फेर्दैमा हाम्रो कार्यक्रम रोक्ने पनि होइन । त्यसले नाममा केही पनि होइन । जो मधेश शब्दमा आपत्ति देखाउँछन् तिनीहरूको बारेमा म भन्न चाहन्छु कि यो देशमा माओको नाममा पार्टी खुल्न सक्छ, लेनिनको नाममा पार्टी खुल्न सक्छ । त्यसमा मधेश भनेको यहि देशको भुगोल हो । मधेशी भनेको यहि देशको समुदाय हो । भन्ने उसको नाम जोड्दा के नै विचलित हुन्छ, के नै आकाश खस्थ्यो । त्यसैले यो कमजोर मानसिकताको प्रतिक हो । म त्यो कुरालाई मान्दिनँ त्यसैले मेरो व्यक्तिगत रूपमा के धारणा हो भने मधेशी शब्द राख्दा पनि सजिलो थियो तर पनि अहिले तपाईले भने जस्तो मधेश शब्द हटाउने होड चलेको छ । मेरो पार्टीको नाम पनि बहुमतले निर्णय गरेको हो ।


० मधेशवादी दलहरूको माग र एजेण्डा समान भएपनि सबै एक ठाँउमा नआउनुको कारण के रहेको छ ?
— यो मधेशवादी दलहरूको भित्रको इगो, अहम र मै ठुलो हुँ भन्ने जुन प्रवृति छ त्यो त्यागनु पर्छ । मधेश र मधेशी बलियो भयो भने स्वतः सबै नेता पनि बलियो हुन्छ । सम्पूर्ण नेताहरू एक भएर अगाडी बढ्छ भने हाम्रो १० वर्षमा सम्बोधन हुने कुराहरू यथाशीघ्र सम्बोधन हुन्छ । र अहिले जनतालाई पनि मत दिनलाई र एउटा वतावरण बनाउनलाई पनि सजिलो हुन्थ्यो । उनीहरूलाई अलगअलग नाममा, अलग अलग पार्टीहरू खोलेर, अलग अलग अभियानहरू चलाएर मधेशीको मनोवल खसेको छ । हामीहरू यसरी गर्दा खेरी जुन समुदायको लागि आन्दोलन गरिरहेको छँौं त्यो समुदायको मनोवल उठाउने वातावरण बनाउनु पर्छ । सबै मधेशवादी दलहरू र जनताहरू एक भएर अगाडी बढ्नु पर्छ ।


० ६ दलको एकीकरणमा नेपाल लोकतान्त्रिक फोरम किन अटाउन सकेन ?
— संघीय समाजवादी फोरम त मोर्चामा थियो, तिनीहरू एकीकृत हुँदा फोरम नेपाललाई किन छोडियो । त्यो पनि बुझ्न सकेको छैन । यो भनेको इगो कम्प्लेक्शन सुपरेलेटि कम्प्लेक्शको जुन रोग छ त्यो रोगबाट नेताहरू माथी उठ्न सकेन वा लघुताभाषको शिकार भए । अहिले पनि समय बितेको छैन, संघीय समाजवादी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक जुन पछिल्लो चरणमा नेपाल लोकतान्त्रिक फोरमको नामले जान्न थालेको छ, यिनी सबै पार्टीहरू एक भएर अगाडी बढ्न थाल्नु पर्छ । एक पटक संसदीय चुनावसम्मका लागि पार्लियामेन्टको व्यवस्थाले हामीले संसदमा अल्पमतमा प¥यांै । त्यसैले कमसेकम एउटा चुनावमा संसदमा आफ्नो शक्तिको उपस्थिति देखाउनका लागि सबैजना एउटा चुनाव चिन्हमा लड्ने, सबैको एक भावना भएर लड्नुपर्छ । सम्प्रदायिक शक्तिहरूको उपस्थिति मधेशमा न्यून बनाउनु पर्छ । हामी एक भएर अगाडी बढ्नु पर्छ । मेरो आग्रह पनि छ कि सबैजना एक भएर अगाडि बढून् ।


० तपाई सद्भावनाबाट राजनीतिक यात्रा सुरू गर्नु भएको नेता हुनुहुन्छ । फेरि पनि सद्भावना पुनर्गठनको सम्भावना छ कि छैन ?
— अब सद्भावना पुनर्गठनभन्दा पनि सम्पूर्ण मधेशका नेताहरू, सम्पूर्ण अधिकारकर्मीहरू र मधेशी जनजातीका सबै आन्दोलनकारीहरू सबै एक भएर अगाडी बढ्ने बेला आएको छ । किनभने यस्तो फराकिलो वातावरणमा एक भएर अगाडी बढ्न सकिएन भने पछि झन् गाह्रो अवस्था आउँछ । इतिहासमा हामी चुकेको कुरालाई फेरि इतिहासले हामीलाई माफ गर्दैन । त्यसैले अब सद्भावनाको जुन स्प्रिट थियो त्यसलाई इमानदारीपूर्वक पुरा गर्ने हो भने सम्पूर्ण मधेशवादी दलहरू एक भएर अगाडी बढ्नु पर्छ । एउटै दल बनायो भने सबभन्दा राम्रो तर एउटा दल बनाउन सकिएन भने त्यसमा मोर्चा बनाएर भए पनि हामी अगाडी बढ्न सक्नुपर्छ ।


० प्रधानन्यायाधीश सुशिला कार्कीको विरूद्धमा लगाएको महाअभियोगलाई तपाई कुन रूपमा लिनु भएको छ ?
— यो स्वतन्त्र न्यायपालिका माथिको प्रहार हो । यो देशभित्र रहेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको छुट्टाछुट्टै भूमिका हुन्छ । र न्यायपालिकाले जुन भूमिका स्वतन्त्ररूपमा खेल्नु पर्ने त्यो भएन । त्यहाँ कमिकमजोरी केही होला तर त्यसको निदान यसरी महाअभियोग लगाएर हुन सक्दैन ।


० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
— अन्त्यमा मेरो धारणा के हो भने समतामूलक समाजको निर्माणका लागि देशभित्र रहेको सम्पूर्ण नेताहरू, दलहरू यो देशभरिको सम्पूर्ण नागरिकहरूलाई समान रूपमा व्यवहार गर्ने विचार धारा राख्नु पर्छ । आउने दिनमा संविधान संशोधन गरेर सबै नागरिकलाई समान अधिकार भएको अनुभूति हुने गरी वातावरण बनाएर एउटा समृद्ध राष्ट्रको निर्माण गर्नु पर्छ ।


(मधेशवाणी टीभीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति  : २०७४ साल बैशाख २२ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com