मधेशमा निर्वाचन सपना नहोस्

निर्वाचन हुने वातावरण बनाउनु राज्यको प्रमुख दायित्व हो

करिब दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन लागेको छ । सरकारले मुलुकमा दुई चरणमा निर्वाचनको घोषणा गरेको छ जसमा प्रथम चरणको निर्वाचनको तयारी लगभग पूरा नै भइसकेको छ । तर, मधेशमा निर्वाचन हुने वा नहुने भन्ने आशंका व्याप्त रहेको छ ।

मधेशमा पनि निर्वाचनबारे दुईवटा धार देखिएको छ । एउटा धार राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ भने अर्को धार उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम । यी दुई धारको फरक–फरक धारणा रहेको छ । एउटा समूहले संविधान संशोधन नभइकन मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिँदै प्रथम चरणको निर्वाचनमासमेत सहभागिता जनाएको छैन भने अर्कोतर्फ यादव र गच्छदार नेतृत्वको पार्टीले पहिलो पहिलो चरणको निर्वाचनमा भाग लिएका छन् तर, संशोधनपश्चात् मात्र मधेशमा निर्वाचन हुनुपर्छ भन्ने मान्यता राखेका छन् । अहिले राजपा नेपाल र फोरम नेपालबीच वाकयुद्ध नै चलिरहेको छ ।

एकले अर्कालाई तल देखाउन जथाभावी गालीगलौज गरिरहेका छन् । अर्कोतर्फ, निर्वाचनको नाममा ठूला दलहरूले मजाक गरेझैं देखिन्छ । माओवादी केन्द्रले कांग्रेसका लागि मत मागिरहेका छन् भने राप्रपाले एमालेका लागि । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । तर, निर्वाचन हुने वातावरण बनाउनु राज्यको प्रमुख दायित्व हो । स्थानीय तह प्रतिनिधिविहीन रहेको अवस्थामा दुई दशकपछि हुन लागेको चुनावबारे दोस्रो चरणमा आशंका कायमै रहेको छ । मधेशी जनताले संविधान जारी भएदेखि नै आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका मागहरू पूरा गर्छौं भनी कांग्रेस–माओवादी केन्द्रले तीनबुँदे सम्झौता ग¥यो । तर, सम्झौता पालना गर्न अहिलेसम्म आनाकानी गरिरहेका छन् । मधेशी जनताले निर्वाचनमा सहभागी हुन उत्साहित रहेपनि वातावरण नबनाउँदा मधेशमा निर्वाचनको सपना मात्र हुनेछ । सयौंको बलिदानीलाई लत्याएर यदि मधेशमा निर्वाचन गर्न खोजियो भने मुलुकमा निम्तिने दुर्घटनाको कल्पनासम्म गर्न सकिँदैन । पहिलो चरणको चुनाव निश्चित भइसके पनि दोस्रो चरणको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै छ । तसर्थ दोस्रो चरणमा मधेशमा निर्वाचन सपना नहोस् ।
प्रकाशित मिति : २०७४ साल वैशाख २९ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com