गठबन्धनको संयोजक परिवर्तनमा दुवै पक्षको कमजोरी छ : डा. ओम गुरूङ, प्रवक्ता, संघीय गठबन्धन

उपेन्द्र यादवजीले आफ्नो प्रतिबद्धता तोड्नुभयो

संघीय गठबन्धनको संयोजक पदलाई लिएर भएको विवाद के हो ?
— संघीय गठबन्धनको संयोजक परिवर्तन भएको कुरो मैले पनि सचारमाध्यमबाटै थाहा पाएको हुँ । केही साथीले फोन गरेपछि पनि थाहा पाएँ । अब गठबन्धनको संयोजक परिवर्तन आवश्यक थियो कि थिएन भन्ने विषय विवादकै कुरा भएको छ । त्यसमा केही प्रश्नहरू उठेका छन् । एक्कासी संयोजक परिवर्तन गरिँदा गठबन्धनको आन्दोलन केही मात्रामा प्रभाव त पार्छ नै । त्यसैगरी आम जनतामा केही अन्यौलता र भ्रमहरू पनि छरेको छ ।


० संघीय गठबन्धनका संयोजक को हुनुहुन्छ ?
— म काठमाडौंमा हुँदासम्म उपेन्द्र यादव नै हुनुहुन्थ्यो । अहिले म काठमाडौं बाहिर छु । उपेन्द्र यादवलाई हटाइएको खबर सुनेको छु । अहिले उपेन्द्र यादवजीको ठाउँमा महन्थ ठाकुरलाई संयोजक बनाइयो भन्ने कुरो थाहा भयो ।


० बैठकबाट निर्णय भएको होला नि ?
— बैठकबाट निर्णय गरिएको भन्ने सुनिन्छ । तर, म त्यो बैठकमा सहभागी थिइन । त्यसैले धेरै कुरा जानकारी पनि भएन । उपेन्द्र यादवजीले आफ्नो प्रतिबद्धता तोड्नुभयो । विश्वासघात गर्नुभयो । परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने हाम्रो अडान थियो । हामी आन्दोलनकारीको यही प्रतिबद्धता थियो । उपेन्द्र यादवजीले यो प्रतिबद्धता तोड्नु भयो । त्यसैले उहाँ गठबन्धनको संयोजक रहने स्थिति रहेन । त्यसकारणले परिवर्तन गर्नु प¥यो भन्ने कुराहरू आए ।


० कुरो मात्रै आएको हो कि निर्णय नै भएको हो कि ?
— निर्णय नै भएको सुनेको छु । अब निर्णय गर्ने को–को थिए भन्ने कुरा पनि उठेको छ ।


० फोरम अध्यक्ष उपेन्द्र यादवले पनि यही कुरामा प्रश्न उठाउनुभएको छ । उहाँले केही व्यक्तिले गरेको निर्णय गठबन्धनको हुन नसक्ने बताउनुभएको छ नि ?
— उहाँले यो कुरा भनेर विज्ञप्ति निकाल्नुभएको छ । उहाँले पनि यस विषयमा प्रश्न सोध्ने आधारहरू दिए । किन भने यो निर्णय बहुमतबाट नगरिएको भन्ने कुरा मैले सुनेको छु । राष्ट्रिय जनता पार्टीका नेताहरू उपेन्द्र यादवको संयोजकत्वप्रति पहिल्यैदेखि त्यति सन्तुष्ट थिएनन् । पछिल्लो समयमा जसरी ६ वटा दल एकीकृत भए, त्यसले गर्दा यादवलाई संयोजकबाट निकाल्ने बल पुगेकै हो । मेरो बिचारमा दुवै पक्षबाट कमी कमजोरी भएको छ । उपेन्द्रजीले जे प्रतिबद्धता जनाउनुभएको थियो, त्यो प्रतिबद्धता तोड्नुभयो । आम मधेशी, आदिवासी, जनजातिलगायत उत्पीडितका मुद्दालाई तिलाञ्जली दिएर उहाँ चुनावमा जानुभयो । त्यो उहाँको तर्फबाट गल्ती भयो । उहाँले कुनै सहमति पनि गर्नुभएन । सरसल्लाह पनि गर्नुभएन । यो–यो कारणले चुनावमा जानुपर्ने भन्ने कुरा उहाँले संयोजकको हैसियतमा भन्नुपर्ने थियो । यो चाहीं उहाँको कमी कमजोरी हो । अर्कोतर्फ राष्ट्रिय जनता पार्टीसहितका साथीहरूले हतारिए कारबाहीको प्रक्रिया चलाए । त्यसमा त्रुटि रह्न गयो । जसरी प्रक्रियागत रूपमा बुहमतमा निर्णय लिनुपर्ने थियो, त्यसरी गरिएन । बैठकमा थेरैको उपस्थिति रहेको कुरा मैले सुनेँ । गठबन्धनमा दल र संघसंस्था गरी २५–२६ वटा छन् । तर, बैठकमा १०–१० वटा संगठनको समेत प्रतिनिधित्व नभएको कुरा मैले थाहा पाएँ । मधेशी मोर्चाको हिसाबले ६ दल एक ठाउँमा अनि फोरम नेपाल अलग भयो ।


० संयोजक परिवर्तन गर्ने कुरामा राजपा हाबी भएको हो ?
— हो । राजपा हाबी भयो । त्यो हिसाबले उहाँहरूले निर्णय लिनुभयो । मधेशकेन्द्रित दलहरूबीच एउटा पुरानो सहमति भएको कुरा मैले थाहा पाएँ । त्यो के हो भने, संसद्मा सबभन्दा बढी सिट हुने दलका अध्यक्ष नै गठबन्धनका संयोजक हुने भन्ने समझदारी भएको कुरा पनि यसबीचमा सुनियो । त्यसआधारमा पहिला उपेन्द्र यादवको पार्टी गठबन्धनमा सबैभन्दा ठूलो दल थियो । तर, अहिले राष्ट्रिय जनता पार्टी ठूलो लबनेको छ । यो कारण पनि महन्थ ठाकुरलाई संयोजक बनाइएको भनेर पनि भनिन्छ । यस्तो किसिमको आन्तरिक सहमति मधेशकेन्द्रित दलहरूबीच भएको कुरा थियो । तर, हामीलाई यो कुरा थाहा थिएन । कतिपय कुराहरू हामीलाई जानकारी नै नदिने काम पनि भएको छ । अब यस्तो किसिमको सहमति भएको थियो भने उपेन्द्रजीले संयोजकको पद त छोड्नुपर्ने नै थियो ।


० तर, फोरम अध्यक्ष यादवले संयोजक परिवर्तन नभएको भनिराख्नुभएको छ । आफू नै संयोजक रहेको पनि भनिराख्नुभएको छ नि ?
— उहाँले दाबी गर्ने कुरो आफ्नो ठाउँमा होला ।


० अब तपाईंहरू आन्दोलनकारी शक्ति हुनुहुन्छ । पछिल्लो समयमा जसरी आन्दोलनकारी शक्तिबीच नै केही मतभेद देखिएको छ । यसले गर्दा उत्पीडित वर्गको आन्दोलन र मुद्दामा कस्तो असर पार्छ ?
— हामीले उत्पीडिनमा परेकालाई अधिकार दिलाउनका लागि गठबन्धन बनायौं । तर, गठबन्धनभित्रका दलहरूले कहिले सरकारसँग वार्ता गर्न जान्छन्, त कहिले चुनावमा सहभागी हुन्छ । यी दलहरूले आ–आफ्नै ढंगले एकलौटी निर्णय गर्ने गरेका छन् ।


० त्यसो भए गठबन्धन नामका लागि मात्रै हो ?
त्यस्तै त देखिन्छ । गठबन्धनले राम्रो काम गरिरहेको थियो । गठबन्धनले राम्ररी आन्दोलन पनि हाँकिरहेको थियो । जनताले पनि धेरै विश्वास गरेका थिए । तर, नेतृत्व तहमै गडबडी छ । एकल निर्णयलाई सबैको निर्णय भन्ने, आ–आफ्नै ढंगले हिड्ने काम भयो । अब उपेन्द्रजीको कमजोरी के भयो भने, निर्वाचनमै जानुपर्ने थियो भने ठाउँ–ठाउँमा किन भाषण गर्दै हिड्नुभयो कि संशोधन नभई कुनै पनि निर्वाचनमा सहभागी हुन्नौं । बाहिर बाहिर चुनावमा सहभागी नहुने भन्ने र भित्रभित्र उहाँ तयारी गरेर निर्वाचनमा सहभागी हुनुभयो । त्यसैले यो त उहाँले गम्भीर त्रुटि गर्नुभयो ।


० तपाईंहरूले त गठबन्धनलाई नै सम्हाल्न सकिराख्नुभएको छैन, होइन ?
— सल्हालिएकै थियो । पछिल्लो केही दिनदेखि समस्या देखिएको हो । फेरि सम्हालिन्छ । चुनावले गर्दा यस्तो समस्या देखिएको हो । अहिले गठबन्धनभित्र देखिएको समस्या छिट्टै समाधान गर्नुको विकल्प छैन । राज्यले पनि हामी टुटफुट भएको हेर्न चाहन्छ । राज्यले पनि हामीहरू भिडाएर आफ्नो अभिष्ठ पूरा गरिरहेको छ । तर, पनि हामी केही गर्न सकिरहेका छैनौं । किन भने हामीभित्रै टुटफुटको अवस्था छ । हामीभित्रै मनमुटाव र वैमनष्य छ । त्यसकारणले हामीले आन्दोलन अगाडि बढाउन सकिरहेका छैनौं । त्यसैले सबै कुरालाई त्यागेर आन्दोलनका लागि एकजुट हुनुको विकल्प छैन । यो कुरो सबैले बुझ्नु जरूरी छ । हामी आफैं टुटफुट भएर बस्ने अनि आन्दोलन गर्छौं भनेर थर्काएर केही हुनेबाला छैन ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल वैशाख २९ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com