दोस्रो चरणमा राजपाको सहभागिताका लागि संविधान संशोधन गरिने

काठमाडौं,४ जेष्ठ । संविधान संशोधनको माग गर्दै पहिलो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो अडान कायमै राखेको छ ।
संविधान संशोधन नभई मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनीसमेत दिँदै आएको छ ।
राजपा नेपाललाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनका लागि सत्तारुढ नेपाली कांग्रेसले पहल थालेको छ ।
नेपाली कांग्रेस र राजपा नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।
काँग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।
तराई मधेशमा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको कांग्रेसका नेताले जनाएका छन् ।
राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिएको छ ।
बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ । संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्ता पक्षका दलहरुले भोलि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com