दोस्रो चरणको अन्योलता हटाऊ

तराई–मधेशमा कुनै किसिमको उत्साह देखिएको छैन 

भर्खरै पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन सम्पन्न भई मतगणना भइरहेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकारले दोस्रो चरणको निर्वाचनका लागि तयारीमा लागेको छ । तर, दोस्रो चरणअन्तर्गत तराई–मधेशमा निर्वाचन हुने वा नहुने भन्ने अन्यौलता अहिलेसम्म पनि कायमै छ । नेपालको संविधानको मस्यौदा सार्वजनिक भएदेखि नै आन्दोलनरत् रहेका तराई–मधेशका जनताको माग अहिलेसम्म पनि सम्बोधन भएको छैन ।

कांग्रेस–माओवादी केन्द्रले आन्दोलनरत् जनताहरूको माग पूरा गर्छौं भनी तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनसँग तीनबुँदे सम्झौता ग¥यो । तर, अहिलेसम्म सरकारको तर्फबाट ती सम्झौता पूर्णरूपमा पालना भएको छैन । सरकारले आंशिकरूपमा शहीद घोषणा त ग¥यो तर, आन्दोलनताका आन्दोलनकारीहरूमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिएको छैन । कैदी जीवन बिताइरहेकाहरू रिहा भएका छैनन् । कतिपय आन्दोलनकारीहरू भूमिगतरूपमा बाँच्न बाध्य भएका छन् । आन्दोलनका क्रममा भएको क्षतिहरूको पूर्ति भएको छैन । यावत् समस्याहरू विद्यमान राखेरै सरकारले दोस्रो चरणको निर्वाचन गर्न खोज्दैछ । मधेशमा निर्वाचनको नाममा फेरि पनि नश्लीय नरसंहार नहोला भन्न सकिन्न ।

नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समुदायले पनि दोस्रो चरणको निर्वाचनका लागि उचित वातावरण बनाउन आग्रह गरेको छ । संयुक्त राज्य अमेरिकाले मंगलबार एउटा विज्ञप्ति नै जारी गरी दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि आग्रह गरेको हो । यता, ६ वटा दल मिलेर निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले संविधान संशोधन नभए निर्वाचनमा सहभागी नहुने र तराई मधेशमा निर्वाचन हुन पनि नदिने चेतावनी दिँदै आएका छन् । तत्कालीन मधेशी मोर्चाका एक प्रमुख घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पहिलो चरणमा सहभागी भए पनि दोस्रो चरणका लागि संविधान संशोधन गर्नु पर्ने माग राखेको छ । यता, पहिलो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपा नेपाललाई दोस्रो चरणमा सहभागी गराउनका लागि सत्तारूढ कांग्रेस–माओवादी केन्द्र प्रयासरत् देखिएका छन् । तर, राजपा नेपालले स्पष्टरूपमा संविधान संशोधन विधेयक पास नभएसम्म निर्वाचनमा जान नसकिने बताउँदै आएको छ ।

प्रथम चरणको निर्वाचनको मतगणना भइरहँदा नेपालको केही भागमा हर्षोल्लासमय वातावरण देखिएको छ भने तराई–मधेशमा कुनै किसिमको उत्साह देखिएको छैन । मधेशीले के चाहेको छ, मधेशीहरूलाई पनि कसरी दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने बारे ठूला दलहरू नै गम्भीर देखिँदैन । मधेशीहरूको टाउको र छातीमा गोली बर्साउँदै जारी गरिएको नेपालको संविधान अहिलेसम्म पनि किन लागू हुन सकेन भन्ने कुराको मूल कारक तत्व संविधानभित्र रहेका त्रुटिहरू नै हो ।

अतः ती त्रुटिहरू नसच्याएसम्म मधेशमा निर्वाचन हुने कुनै सम्भावना देखिँदैन । यदि भइहाले भने त्यो कुन परिस्थितिमा हुन्छ र यसका लागि कतिको क्षति हुन्छ भन्ने कुराको आभाष राज्यसत्तालाई भएकै होला । विगतमा पनि राज्यसत्ताले बन्दुकको बलमा संविधान जारी ग¥यो तर, देशका आधा जनसंख्याले स्वीकार गरेको अवस्था छैन । मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाति लगायतका उत्पीडित र उपेक्षित समुदायले यो संविधानमा संशोधन चाहेको कुरालाई आत्मसात गर्दै ठूला भनाउँदा दलका दलपत्तिहरूले पहिला संविधान संशोधन गरी दोस्रो चरणको निर्वाचनमा देखिएका अन्यौलताहरू हटाउनुपर्छ ।
प्रकाशित मिति : २०७४ साल जेठ ५ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com