पहाडमा एमालेले पाएको सफलताले मधेशप्रति गरिने शंकालाई स्थापित गरेको छ : श्रीकृष्ण अनिरूद्ध गौतम

राजनीतिक विश्लेषक

० पहिलो चरणको स्थानीय चुनावको प्रारम्भिक नतिजा कस्तो लाग्यो ?
— कम्तिमा पनि १० प्रतिशत मतगणना नभएसम्म अहिले नै भन्न सक्ने अवस्था छैन । वास्तविक दिशानिर्देश २५ प्रतिशत मतगणना भइसकेपछि मात्र हुन सक्छ । अहिले भएको पहिलो चरणको चुनावमा नेकपा एमालेको अग्रता देखिँदैछ । यसले गर्दा नेकपा एमाले स्थानीय तहमा राम्रो नतिजा ल्याउने आंकलन गर्न थालिएको छ ।


० मधेशमा नेकपा एमालेलाई नकारात्मक रूप लिने गरिएको छ । एमालेलाई त मधेश विरोधी नै भन्ने गरिएको छ । अर्कोतर्फ पहिलो चरणको नतिजा एमालेको पक्षमा आइरहेको छ । यसलाई कुन रूपमा लिनुहुन्छ ?
— मधेशमा एउटा धारणा बनेको छ । यो धारणा कतिपय अवस्थामा आग्रहपूर्ण पनि छ । पहाडमा पनि एउटा आग्रह बनेको छ, मधेशप्रति । मधेशले पहाडलाई हेर्ने र पहाडले मधेशलाई हेर्ने आ–आफ्ना आग्रहहरू बनेका छन् । पहिलो चरणको चुनावले के देखाउँछ भने, पहाडको आग्रहले वैधता प्राप्त गर्न लागेको छ । पहाडले मधेशलाई एक किसिमले शंकाको दृष्टि गर्ने गर्छ । हो, पहिलो चरणको चुनावले यो शंकालाई स्थापित गर्छ ।


० भनेपछि नेकपा एमालेले पहाडमा मधेशप्रति देखिने शंकालाई मतका रूपमा भजाउन सफल भयो ?
— मधेशलाई हेर्ने एउटा धारणा पहाडमा बनेको छ, शंकाको दृष्टिले हेर्ने । पछिलो मधेश आन्दोलनलाई शंकाको दृष्टिले हेर्ने एउटा धारणा बनेको छ । यो धारणा एउटा आग्रहमा आधारित छ । यो आग्रहले पुष्टि प्राप्त गर्दैछ ।


० त्यसो भए तीन वटा प्रदेशमा नेकपा एमालेले पाएको उपलब्धिलाई सकारात्मक भन्ने कि नकारात्मक ?
— यदि आग्रहहरू स्थापित एभने त्यहि बिन्दुमा बसेर सम्वाद प्रारम्भ गर्नुपर्ने हुन्छ । यो एक किसिमको अडान बन्यो । अहिलेको जनमतले के देखायो भने एमाले हावामा बोलिरहेको छ कि एमालेको वास्तविक धरातल छ । एमालेको पछाडि जनसमर्थन छ कि छैन भन्ने कुराको पुष्टि भएको थिएन । अब नेकपा एमालेले अधिक जनमत पायो भने यो पार्टीले मधेशकेन्द्रित दलका मागप्रति लिँदै आएको अडानमा केही धरातल छ भन्ने हुन्छ । अब जस्तो सुकै परिणाम आए पनि त्यसबाट सकारात्मकताको मार्ग खोज्नुपर्ने हुन्छ ।


० संविधान संशोधन भयो भने सम्भवतः दोश्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी पनि सहभागी हुनेछ । अर्कोतर्फ पछिलो चरणको चुनावमा नेकपा एमालेले सबैलाई उछिन्ने सम्भावना छ । दोश्रो चरणको चुनाव हुने धेरै जसो स्थान मधेशमा छन् । भनेपछि दोश्रो चरणमा मधेशमा एमाले अवस्था कस्तो रहला ?
— अब पहिलो चरणको चुनावमा एमालले अत्यधिक सिट हासिल ग¥यो भने अबका दिनमा उसले मधेशलाई रिझाउने काम पनि गर्न सक्छ । मधेशलाई रिझाउने लाइनमा पनि एमाले जान सक्छ । नेकपा एमालेको मधेशप्रतिको दृष्टिकोण र अडानमा बदलाब पनि आउन सक्छ । किन भने दललाई भोट चाहिन्छ । नेकपा एमालेलाई मधेशबाट पनि भोट चाहिएको छ । त्यसैले विजयी प्राप्त गर्न त मधेशलाई रिझाउनुपर्ने हुन्छ । यसका लागि नेकपा एमाले केही नरमपना पनि दखाउन सक्छ । अहिले यो सम्भावनालाई पनि अस्वीकार नगरी हालौं । राजनीति वास्तवमा स्वार्थमा चलेको हुन्छ । नेपालको राजनीतिलाई चलाउने स्वार्थ हो । सबै दलका आ–आफ्ना स्वार्थ छन् । के गरेर स्वार्थ पूर्ति हुन्छ, त्यही दलहरूले गर्छन् ।


० स्वार्थ त जनहितमा हुनुपर्ने हो नि ?
— जनहितमा हुनुपर्ने हो । तर, त्यस्तो देखिँदैन । यही चुनावको कुरा गरौ न । नेपाली कांग्रेसका धेरै शुभचिन्तकको धारणा के थियो भने नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा नजाओस् । नेकपा माओवादी केन्द्रसँगको तालमेलसँग उनीहरू सन्तुष्ट थिएनन् । सरकारमा गठबन्धन बनाउनु अलग कुरा हो । तर, चुनावमा गठबन्धन बनाउनु अलग कुरा हो । उनीहरूले आ–आफ्नो स्वार्थ पूर्ति हुने देखेपछि गठबन्धन गरे । हामी दुई मिलेर चुनावमा गयौं भने नेकपा एमालेलाई पछाडि धकेल्न सक्ने कांग्रेस र माओवादीको बुझाइ थियो । तर, यो बुझाइ गलत सावित भयो ।


० पहिलो चरणको चुनावले पाएको मतका कारण नेकपा एमाले मधेशप्रति लचक हुने विश्वास छ । भनेपछि पहिलो चरणको परिणामले संविधान संशोधनको सम्भावना बलियो पारेको हो ?
— संविधान संशोधनप्रति म त्यति आशा गरेको छैन । संविधान संशोधनको कुरा धेरै पहिलादेखि नै अडकिरहेको छ । अब दोश्रो चरणको चुनावको समय पनि थोरै बाँकी छ । त्यसैले संशोधनका लागि समय पनि छैन । एकै चरणमा चुनाव गरेर पछि संविधान संशोधन गरेको भए मधेशको अवस्था के हुन्थ्यो त्यो त म भन्न सक्दिनँ । केही घटना पनि हुन सक्थयो । पहाडी क्षेत्रमा मात्र चुनाव हुने अवस्था रहन्थ्यो होला । संविधान संशोधन भएन भने, बाँकी चार वटा प्रदेशका जनता मदाधिकारबाट वञ्चित हुने देखिन्छ । तीन वटा प्रदेशमा स्थानीय तह रहने भयो र चार प्रदेशमा स्थानीय तह नरहने अवस्था आउन सक्छ । संविधान संशोधन भएन भने यस्तो किसिमको समस्या आउने बाला छ ।


० त्यसो भए यसपटक संविधान संशोधन हुने सम्भावना बलियो छ ?
— संविधान संशोधन हुन्छ कि हुँदैन त्यो केही दिन थाहा भइहाल्छ । तर, संशोधनको बारेमा मेरो आफ्नै दृष्टिकोण छ । मेरो कुरा मधेशकेन्द्रित दलको पक्षमा नहुन सक्छ । अरू दललाई समर्थन गरेको जस्तो पनि लाग्न सक्छ । तर, म एकदमै वैधानिक कुरा गरिरहेको छु । अहिलेका जनप्रतिनिधिलाई संविधानसभाका लागि निर्वाचित गरिएको थियो । संविधानसभाबाट यी जनप्रतिनिधिले नयाँ संविधान दिएर कार्यभार पूरा गरे । तर, संविधान संशोधन गर्ने कार्यभार अहिलेका जनप्रतिनिधिको होइन । संविधान संशोधन गर्ने कार्यभार नयाँ जनप्रतिनिधिको हुन्छ । यो मेरो स्पष्ट दृष्टिकोण हो ।


० भनेपछि जसले संविधान बनाए उनैले संशोधन गर्नु उचित होइन ?
— बनाउनेले नै संशोधन गर्नु हुँदैन । म त पहिलो संशोधनको पनि पक्षमा थिइनँ । यो मेरो व्यक्तिगत सोच हो । तर, संविधान संशोधनले नै सबै कुरा अडकिएको छ । संशोधन नभइकन चुनाव सम्भव छैन । मधेशको वास्तविक मनस्थिति के हो त ? मधेशको वास्तविक प्रतिनिधित्व कसले गर्छ ? मधेशले चाहेको के छ ? यी विषयमा गहन अध्ययन नै भएको छैन ।


० मधेश के चाहन्छ ? के हुनुपर्ने हो ? के भइरहेको छ ?
— मधेशी जनता राष्ट्रको मुख्य प्रवाहमा बराबरको साझेदार भएर अगाडि बढ्न चाहन्छन् ।


० त्यसका लागि कसरी मार्ग बनाउने ?
— हो, मार्ग बनाउने पात्रहरू गतिला छैनन् । झुक्याउन मात्र चाहन्छन् ।


० बराबरको हकका लागि संविधान संशोधन मार्ग हो कि होइन त ?
— मार्ग हो, तर अहिले नै संविधान संशोधन सही मार्ग होइन । संविधान संशोधन प्रतिनिधिसभाको चुनाव भइसकेपछि नयाँ उर्जाका साथ मधेशबाट प्रतिनिधित्व होस् । जसले आफ्नो एजेण्डालाई स्थापित गरोस् । यसका साथै संसद्बाट यसको संशोधन होस् ।


० नयाँ जनादेश चाहियो ?
हो, मधेश जसरी नयाँ ढंगबाट अगाडि बढेको छ, त्यसलाई हिजोको जनादेशले प्रतिनिधित्व गर्दैन ।


० तर, जुन मार्ग तपाईंले भन्नु भयो नि, त्यसको सम्भावना त शुन्य प्रतिशत छ नि, होइन ?
— सम्भावना त धेरै कुराका थिएनन् । पहिला गणतन्त्रकै सम्भावना थिएन, संघीयताकै सम्भावना थिएन ।


० संघीय गठबन्धन, राजपा र फोरम नेपालले संविधान संशोधन नभइकन दोश्रो चरणको चुनाव हुन नदिने भनिरहेका छन् नि ?
— म मधेशको भावनालाई स्वीकार्छु । मधेशको आवाजलाई बुलन्द पार्ने उपेन्द्र यादव नै हुन् । हामीले यसलाई अस्वीकार गर्न मिल्दैन । नेपाल सद्भावना पार्टीले लामो समयसम्म एउटा वाणीलाई मुखरित गरिरहेको थियो । यो वाणीलाई उच्च स्वरमा लिएर आउने चाहीं उपेन्द्र यादव हुन् । उपेन्द्र यादवको दल त स्थानीय चुनावमा सहभागी भयो । उनी निर्वाचनबाट विमुख हुन गइरहेको छ जस्तो लाग्दैन । महन्थजी, गच्छदारजी यिनीहरू त पछि आएका हुन् । मधेशमा लहर आएको थियो । त्यसबेला आफूहरू मधेशबाट बढारिने त होइन भन्ने सोचले उहाँहरूले दल खोलेका हुन् । यो कुरा उहाँहरूको आचरणबाट पनि देखिँदैछ । सुरूदेखि नै मधेशलाई प्रतिनिधित्व गर्दै महन्थजी आउनुभएको होइन । उहाँ पहिला नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । मधेशका अरू पाटाहरू पनि छन् । मधेशको वास्तविक प्रतिनिधित्व भइरहेको जस्तो लाग्दैन । मधेशकेन्द्रित दलले मधेशलाई प्रतिनिधित्व गरिरहेको जस्तो पनि मलाई लाग्दैन । अहिले जुन संशोधनको प्रस्ताव आएको छ, यसले पनि मधेशलाई सम्बोधन गरेको जस्तो मलाई लाग्दैन । संशोधन प्रस्तावले मधेशकेन्द्रित दललाई निर्वाचनमा जान मात्र मार्ग सहज बनाइदिन्छ ।


० संविधान संशोधन प्रस्ताव मधेशीका लागि होइन मधेशकेन्द्रित दलका लागि हो ?
— मधेशीको आकांक्षालाई अहिलेको संशोधन प्रस्तावले प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।


० मधेशीका एजेण्डा फरक र मधेशकेन्द्रित दलका एजेण्डा फरक छ ?
— हो, म त्यही भन्न खोजेको हुँ ।


० त्यसो भए मधेशीका एजेण्डा के हुनुपर्ने हो ?
— यसमा छलफल चलाउनु पर्छ । अहिले सबै भावनामा बगेका छन् । यी भावनालाई तार्किक निष्कर्षमा ल्याउनुपर्छ । दुई वटा पृथक धारणाहरू छन् । पहाडलाई हेर्ने अलग दृष्टिकोण मधेशमा छ, मधेशलाई हेर्ने अलग दृष्टिकोण पहाडमा छ । मधेशको पुरानो पुस्ताले सहदै आएको थियो, तर नयाँ पुस्ता अब सहन गर्न चाहँदैन । मधेशको नयाँ पुस्ताले एउटा धारणा बनाएको छ । पूर्वजले भोगेका पीडा म भोग्दिनँ युवा पुस्ताले भनिरहेको छ ।


० संविधान संशोधनविरूद्धको अडान कुनै न कुनै रूपमा एमालेका लागि हितकर सावित भयो । त्यसरी नै संविधान संशोधन हुनै पर्ने अडानले अबको चुनावमा राष्ट्रिय जनता पार्टीले जनमत पाउने सम्भावना कत्तिको छ ?
— छ । त्यो सम्भावना पनि छ । मधेशीको सघनता भएका ठाउँमा राजपाको अत्यधिक जनमन आउने सम्भावन छ । तर, तराईमा मधेशीमुलका मात्र होइन पहाडी मुलमा मानिस पनि उल्लेख्य मात्रामा छन् । त्यसैले मतविभाजन पनि तीब्र गतिमा हुने सम्भावना छ ।


० आग्रहका आधार गरिने राजनीतिलाई कुन रूप दिनुहुन्छ ?
— म यस्तो राजनीतिलाई समर्थन गर्दिन । जातजाति, क्षेत्रीयता जस्ता कुरा आउनु हुँदैन । तर, जसले न्याय र अधिकार पाएका हुँदैनन्, तिनीहरूले कसरी आवाज उठाउने छ ? कसरी आफ्ना माग सम्बोधन गराउने त ? यसको पनि उत्तर खोजिनु आवश्यक छ ।


० तत्काल संविधान संशोधनको सम्भावना छ ?
— मेरो विचारमा दलहरू अहिले नै छलफल गरी यस विषयमा एजेण्डा सेट गर्नुपर्छ । र, निर्वाचन पछि यो कुरालाई हामीले प्रस्तुत गर्दा राम्रो हुन्थ्यो । निर्वाचनपछि संशोधन गर्नुपर्छ भनेर अहिले नै दलहरूबीचमा सहमति हुँदा राम्रो हुन्थ्यो । जसरी अन्तरिम संविधान रहेकै बेला गणतन्त्र घोषणा गर्ने दलहरूबीच सहमति भएको थियो । र, संसद्को पहिलो बैठकबाट नै मुलुक गणतन्त्रमा गएको भनेर घोषणा गरिएको थियो । हो, यसरी नै पूर्वसहमति बनाएर चुनावमा गएर नयाँ म्यान्डेट ल्याएर एजेण्डालाई अगाडि बढाउनुपर्छ ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७४ साल जेठ ५ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com