एनजीओकर्मीहरुको अपील

काठमाडौं, ५ जेष्ठ । मधेशको सवालमा एनजीओकर्मीहरूले संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्न अपील जारी गरेका छन् । संविधान संशोधन नभई दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने अवस्था नरहेको भन्दै एनजीओकर्मीहरूले बिहीबार एक विज्ञप्ति जारी गरी सहज वातावरण बनाउन आग्रह गरेका हुन् ।

संविधान संशोधन नभए देश विखण्डनतिर जान सक्नेप्रति पनि सचेत गराइएको छ । एनजीओकर्मीहरुको अपीलमा संविधानका अन्तवरस्तुमा असन्तुष्टि राख्दै आएका मधेशी, जनजाति, दलित, थारू, महिला, मुस्लिम लगायतको चासोलाई पनि संविधान संशोधन मार्फत सम्बोधन गर्ने सरकारको प्रतिबद्धताहरूलाई पुनः स्मरण गराइएको छ ।

संविधान निर्माण पश्चात देशको एउटा ठूलो हिस्साको जनसमुदायले यसमाथि अपनत्व ग्रहण गर्न नसकेको कुरा विगतमा सरकार र मधेशी मोर्चालगायत असन्तुष्ट समूहहरूबीच भएका सहमतिहरूले पुष्टि गरेको जनाइएको छ । अपीलमा भनिएको छ, ‘विगतमा नेपालका धेरै नागरिकले ज्यान गुमाउनुपरेको, अंगभंग र घाइते हुनुपरेको र सरकारी तथा निजी सम्पत्तिको समेत ठूलो क्षति व्यहोर्नुपरेको सत्य हाम्रो सामु छ । यस यथार्थलाई आत्मसाथ गरी संविधान संशोधनार्थ प्रस्तुत विधेयकलाई यथाशीघ्र पारित गरि संघीय गठबन्धन लगायत अन्य असन्तुष्ट पक्षहरूलाई विश्वासमा लिइ मार्गप्रशस्त गर्न जरूरी छ ।’

नागरिकको हैसियतले सबैको अपनत्व र सहभागीतासहित दोश्रो चरणको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सम्पूर्ण राजनितिक दलहरूका जिम्मेवार नेतृत्वसँग आग्रह गरिएको छ । संविधान संशोधन नभए देश एकताबद्ध रहन नसक्ने अर्थात विखण्डनतिर जान सक्ने प्रति सचेत गराएको छ ।

एनजीओकर्मीका साथै केही नागरिकहरु अगुवाहरुलेसमेत संयुक्त रुपमा जारी गरिएको अपीलमा भनिएको छ, ‘संविधान संशोधन नगरी अघि बढ्दा समाजको एउटा हिस्सा असन्तुष्ट रहने र त्यसले राष्ट्रलाई एकताबद्ध बनाउने कुरामा बाधा पु¥याउने देखिन्छ । राजनितिक र सामाजिक ध्रुवीकरणलाई वढावा दिने क्रियाकलापले नेपाललाई दुरगामी रूपमा डरलाग्दो अनिष्टतिर लैजाने सक्छ भन्नेमा हामी गम्भीर छौं ।’

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com