रौतहटमा चुनावी चहलपहल न्यून

राकेश यादव, रौतहट, ६ जेष्ठ । दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने भनिएको २ नम्बर प्रदेशको रौतहट जिल्लामा चुनावको बातावरण खासै उत्साहपूर्वक देखिएका छैन । आन्दोलनरत संघीय गठबन्धनले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने तथा निर्धारित मिति जेष्ठ ३१ गतेमा चुनाव जसरी पनि हुने सरकारको अभिव्यक्ति आइरहेको बेला स्थानीयबासी अन्यौलमा परेका कारण चुनाव हुने प्रति यहाँका जनता विश्वस्त नभएकोले चुनावी माहौल बन्न सकेका छैन ।

दोस्रो चरणको निर्वाचन आयोगको घोषित कार्यक्रम अनुसार जेष्ठ १९ गते उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेपनि यसको तयारी शिथिल देखिएको छ । रौतहटका जनताले चुनाव हुन्छ की हुँदैन भन्ने दोसाँधमा फँसेका छन् ।

चुनाव हुनेमा पूर्ण रूपेण विश्वस्त रहेका सत्ताधारी दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरुले आन्तरिक रुपमा तयारी गरिरहेका छन् । ३ नगरपालिका र १३ गाउँपालिका भएका रौतहटमा गौर नगरपालिकाको मेयर पदका लागि पहिल्यै नाम सार्वजानिक भएका नेकपा एमालेका तर्फबाट शम्भू साह तथा स्वतन्त्र रुपमा उमेदवार बन्ने सोचमा रहेका पूर्व नगर प्रमुख गौरीशंकर यादवको चर्चा रहेको छ ।

अन्य पार्टीका कुनै उम्मेदवारको नाम चुनावी दौड़मा समावेश भएको छैन । राष्ट्रिय जनता पार्टी नेपालले चुनाव बहिस्कारको घोषणा गरेको बेला चुनावी माहौल न्यून देखिएको रौतहटमा निर्वाचन कार्यालयको कार्यक्रम पनि सुस्त भएको हो ।

पहिलो चरणमा बढ़ी मत बदर भएकोले दोस्रो चरणमा त्यस्तो हुन नदिनका लागि सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम हालसम्म सञ्चालन नभएकोले दोस्रो चरणको निर्वाचनमा पनि ठूलो संख्यामा मत बदर हुने सम्भावना देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले शनिबारदेखि जिल्लाको विभिन्न गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताएका छन् । उनले मतदाताहरुलाई कसरी मत दिए सदर हुने तथा कसरी बदर हुने विषयमा जानकारी दिनका लागि चाहिने सामग्री गाउँ गाउँमा पुगिसकेको जानकारी गराएका छन् ।

शनिबारदेखि मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा खुल्ने बताउँदै १५ गते देखि निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउने बताए । अधिकृत श्रीवास्तवले निर्वाचन आयोगले आफ्नो कार्य तीव्र रुपमा अगाडि बढाइरहेको दावी गरेका छन् ।

३ लाख २३ हजार ४ सय ५० मतदाता रहेको रौतहटमा २ सय ७४ मतदान स्थल र ४ सय ३६ मतदान केन्द्र तोकिएको छ । सरकार र आन्दोलनरत पक्षबीचको विबाद समाधान नभएसम्म चुनाव हुने कि नहुने अन्यौलता रहेको कारण चुनावमा परिचालन गरिने सुरक्षाकर्मीको संख्याबारे भन्न सकिने अवस्था अहिले नरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताएका छन् ।

उनले भने, ‘अहिले चुनावै अन्यौलतामा रहेकोले एक हप्ता पहिला सुरक्षाकर्मी कति परिचालन हुने भनी यकिन गर्न सकिन्न ।’ शान्तिपूर्ण बातावरणमा चुनाव सम्पन्न गराउन व्यापक रुपमा सुरक्षाको परीबन्ध मिलाइने भण्डारीले जानकारी गराएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com