हाम्रो सामु अब आन्दोलनबाहेक कुनै विकल्प रहेन : महन्थ ठाकुर

अध्यक्षमण्डलका संयोजक, राष्ट्रिय जनता पार्टी नेपाल

० स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सहभागी हुन्छ कि हुँदैन ?
— हामी भन्दै आएका छौं कि संविधान संशोधन र सहज वातावरण बनाएपछि निर्वाचनमा जान्छौं । हामी निर्वाचनमा जाँदैनौं भनेर कहिल्यै पनि भनेका छैनौं । तर, संविधानमा संशोधन हुनैपर्छ ।

० तर, संविधान संशोधन गर्नका लागि सहमति हुनुपर्छ । अहिलेको अवस्थामा तपाइँहरुसँग दुई तिहाई त छैन नि ?
— दुई तिहाई सरकारसँग छैन तर, बहुमत त छ नि सरकारसँग ।

० तर, बहुमतले त संविधान संशोधन हुँदैन ?
— वास्तवममा बहुमतबाट नै संविधान संशोधन हुनुपर्छ । र यो कुरा पनि आत्मसात गर्नुपर्छ कि संशोधन कुनै एक ठाउँका लागि होइन, यो देशको समस्या हो । संशोधनको माग सुरुदेखि नै उठिरहेको छ । जुन बखत मस्यौदा तयार भएको थियो, त्यसबखतदेखि नै सहमति÷सम्झौता र अन्तरिम संविधानको व्यवस्थाअनुसार यो संविधान बनेन त्यसैले ती विषयहरुलाई समेटेर संविधान बनाउनुपर्छ भन्ने आवाज उठेको हो । तर, ती कुराहरुलाई छाडेर बलपूर्वक संविधान बनाइयो । त्यसै कारण आज यो अवस्था आएको छ । यी तीन दलले संविधान बनाएका हुन् । अब उनीहरुको कर्तव्य हो कि यो संविधान लागू गर्न । किन लागू भइरहेको छैन यो संविधान ।

० तर, ९० प्रतिशतले मानेको हो नि यो संविधानलाई ?
— अब कहाँ रह्यो ९० प्रतिशत । अब त बहुमत पनि यो संविधानको पक्षमा छैन । अब त खत्तम भयो । जुन संविधान जनताको समस्या समाधान गर्न सकिरहेको छैन त्यो संविधानलाई ९० प्रतिशतले मानेको कसरी भन्ने । अहिलेको अवस्थामा संसदमा ९० प्रतिशत समर्थन छ त यो संविधानलाई ?

० तर, संविधान जारी हुँदा त ९० प्रतिशतले हस्ताक्षर गरेका हुन् नि ?
— त्यतिबेला बलपूर्वक जारी गरिएको थियो यो संविधान । अहिले बल्ल बुद्धि खुलेको छ, अनि संशोधन गर्न तयार भएका छन् । तर, संशोधन भइरहेको छैन । यो सरकारको कमजोरी हो कि चाहेर पनि गर्न सकिरहेको छैन ।

० तपाइँ लोकतन्त्र र विधिको शासनका लागि लडेको नेता हो । तपाइँ प्रजातन्त्रका लागि कहिल्यै पनि कोहीसँग सम्झौता नगरेको नेता हो । संविधानसभाबाट जारी भएको संविधानलाई सबैले मान्नुपर्छ कि पर्दैन ?
— यो संविधानमाथि पहिले नै औंला उठिसकेको छ । जनताको समस्या संविधान भविष्य पथप्रदर्शक गर्ने एउटा दस्तावेज हो । वर्तमान समयमा जुन समस्या छ त्यसको समाधान गरेर भविष्यका लागि पथप्रदर्शकको काम गर्छ । तर, ठिक उल्टो भएको छ । अन्तरिम संविधानले संकल्प लिएको थियो कि आन्दोलन र क्रान्तिबाट अधिकारहरुलाई संविधानसभाद्वारासंस्थागत गर्ने । तर, संविधान लागू हुनुभन्दा अगावै संशोधन गर्ने अवस्था आयो । र संशोधन भयो ।

० आजको दिनमा जनताको प्रतिनिधित्व एमाले पार्टीले गरिरहेको छ नि ?
— अरुले पनि प्रतिनिधित्व गरिरहेका छन् । एमालेका नेताहरु तराईमा खुट्टासम्म राख्न किन सकिरहेका छैनन् । तर, यस्तो धाकधम्की दिने ? किन मधेशमा जान सकेनन् ?

० मधेशमा जान तयार छौं, तर महन्थ ठाकुर र राजेन्द्र महतोहरुले निर्वाचनमा भाग लिनुपर्छ भन्ने निष्कर्ष छ नि उनीहरुको ?
— ठिक छ, आउँदैछ निर्वाचन हेरिहाल्नुहोला । यस्तै अवस्थामा गराउँछ भने के हुन्छ त्यहाँ ।

० तर, कुनै पनि हालतमा निर्वाचन रोकिँदैन भनेर सबै नेताहरुले भनिराखेका छन् ?
— हामीले भनेका छैनौं कि कुनै पनि हालतमा भाग लिन्छौं भनेर । कुनै पनि हालतमा यसै अवस्थामा निर्वाचनमा भाग लिँदैनौं । हामी यो देशको नागरिक हो । हाम्रो अधिकारको हनन् भइरहेको छ । यस्तो अवस्थामा हामी भाग लिन्न ।

० तर, जनता आज निर्वाचनको पक्षमा छन् नि ?
— आन्दोलनमा मारिएका मानिसहरु जनता थिएनन् ? मधेशमा लाखौं मानिसहरु सडकमा उपस्थित भएका थिए, उनीहरु जनता होइनन् ? को हो उनीहरु ? यदि नेपालका जनता हुन् भने किन उनीहरुको आवाज सुनिरहेका छैनन् ? यहाँ निर्वाचनको कुरा कहाँबाट आयो ? अधिकारको कुरा छ यहाँ । अधिकार नपाइकन् निर्वाचनमा गएर केही हुँदैन ।

० तपाइँहरु निर्वाचनमा जानका लागि सरकारले के–के गर्नुपर्छ त ?
— हामीले पहिले नै भनिसकेका छौं । संविधानमा जुन गल्तीहरु देखा परेका छन् त्यसलाई सुधारोस् ।

० सरकार र राजनीतिक दलहरुका के–के गल्तीहरु छन् ?
— सीमांकनको विषयमा जिउँदो मान्छेलाई मुर्दाघरमा राखेको जस्तो अहिले आयोगलाई जिम्मा लगाइएको छ । यो समाधान होइन । प्रतिनिधिसभामा जनसंख्याको सिद्धान्तलाई स्वीकार गरेर संशोधन ग¥यो तर राष्ट्रिय सभामा किन गरेन ? राष्ट्रिय सभामा पनि त्यहीं समस्या छ । त्यसपछि नागरिकताको समस्या छ । नागरिकताको सवालमा अन्तरिम संविधानमा जुन व्यवस्था छ त्यहीं राख्नुपर्छ । त्यस्तै भाषाको विषयमा मेरो मातृ भाषा कुन हो यसको निर्णय राज्यले गर्ने होइन । कसैको मातृभाषा हिन्दी छ भने उसले आफ्नो मातृभाषामा बोल्न नपाउने ?

० हिन्दी भाषालाई नेपालमा लागू गर्न खोज्नु भएको छ भनेर सबैको आरोप तपाइँहरुमाथि छ नि ?
— जसको मातृभाषा हिन्दी छ, उसले आफ्नो मातृभाषा बोल्न नपाउने ? उसले आफ्नो अधिकारको कुरा गर्न नपाउने ? राज्यले मातृभाषा निर्धारण होइन । नागरिकले बनाएको राज्य । त्यसैकारण, कसको भाषा के हो यो उसले नै भन्नुपर्ने हो ।

० किनकि हिन्दी भाषालाई कुनै पनि जनताले स्वीकार्दैन नि ?
— राज्यको यही कमीकमजोरी छ कि आफ्ना नागरिकलाई जहिले पनि अनागरिकको रुपमा राख्छ । मधेशीहरुलाई बाहिरिया भन्छन् । जबकि संस्कृति र इतिहासले बताइरहेको छ कि हजारौं वर्षदेखि सभ्यता संस्कृति रहेको छ । आज लुम्बिनी, जनकपुरधाम, राजविराजको अवस्था के हो । त्यो एक समयमा उन्नत राज्य थियो । सभ्यताको केन्द्र थियो ।

० नेपाली भाषालाई सबैले मान्दा के हुन्छ, किन हिन्दी भाषालाई नेपालको भाषा बनाउनुप-यो ?
— नेपाली केलाई भन्नुहुन्छ, एउटा भाषालाई पढाई, रोजगार, प्रशासन र राष्ट्रको भाषा घोषित गर्ने तर अरु भाषा के हुने ?

० त्यसो भए, हिन्दी भाषालाई नेपालको कामकाजको भाषा बनाउन लाग्नुभएको हो ?
— यहाँ हिन्दी भाषाको कुरा छैन, मातृभाषाको कुरा आइरहेको छ । मातृभाषाको कुरा हामीले उठाएका छौं ।

० तपाइँको मातृभाषा के ?
— हाम्रो मातृभाषा मैथिली हो ।

० त्यसोभए, मैथिली तपाइँहरुलाई स्वीकार छ ?
— त्यहीं त हामी भनिरहेका छौं कि बहुभाषिक नीति हुनुपर्छ । विश्वव्यापी मान्यता प्राप्त छ यी कुराहरु । जुन देशमा एकभन्दा बढी मातृभाषा छन् त्यहाँ बहुभाषी नीति हुनुपर्छ । सबै भाषाले समान अवसर पाउनुपर्छ । तर, के ती भाषाहरुले समान अवसर पाएका छन् ? हामी आफ्नो घरमा मात्र मैथिली भाषा बोलिरहेका छौं ।

० त्यसोभए, नेपाली भाषासरह मैथिली भाषाले मान्यता पाउनुपर्छ ? त्यो सम्भव छ हाम्रो देशमा ?
— एकदम पाउनुपर्छ । किन सम्भव छैन ?

० सबै नेपालीले मैथिली भाषा बुझ्छन् त ?
— न बुझे पनि राष्ट्रिय भाषा त भन्न पाउँछन् नि । नेपाली भाषामा भारतमा काम भइरहेको छैन तर भारतमा नेपाली भाषालाई राष्ट्रिय भाषाको दर्जा दिएको छ नि । उसको विकासका लागि सरकारबाट पाउने जुन अनुदान हो, त्यो पाइरहेको छ । चाहे त्यसको उपयोग नहोस् तर, भाषाको विकासका लागि काम भइरहेको छ । हाम्रो यहाँ के छ ? यसबारेमा सरकारले कहिल्यै पनि सोचेको छैन । यो राज्यले एकलौटीरुपमा हामीलाई अलग गरिदिएको छ । अनि हामीमाथि नै आरोप लगाउँछन् कि अलग हुन खोजिरहेका छन् ।

० एमाले धेरै नेताहरुले भन्ने गरेका छन् कि खासगरी महन्थ ठाकुर र राजेन्द्र महतोले यो देशलाई विखण्डन गर्न चाहेका छन् भनेर आरोप लागेको छ नि ?
— यस्तो भन्नेहरु नै विखण्डनवादी हुन् । आज जुन पहाड र मधेशको बीचमा खाल्डो खनेका छन्, उनीहरु मधेशी होइनन् । मधेशीहरुले कहिल्यै धोका दिएका छैनन् । तर, हामी पटक–पटक धोका पाइरहेका छौं ।

० तपाइँहरु मेचीदेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेशको कुरा गरिरहनु भएको छ । किन चाहियो तपाइँहरुलाई दुई प्रदेश ? त्यसको कारण र आधार पुष्टि गर्नुप¥यो ?
— यो दुःखको कुरा हो कि तपाइँ आफूलाई नेपालको नागरिक भन्नुहुन्छ तर, तपाइँलाई नेपालको समस्या थाहा छैन । पहिचानको आधारमा यहाँ भेदभाव सदियौंदेखि भइरहेको छ । जातीय, क्षेत्रीय, भाषा, संस्कृति, लैंगिक आधारमा भेदभाव हुँदै आएको छ । त्यसलाई हटाउनका लागि समावेशी आधारमा संघीय राज्यहरुको स्थापना हुनुपर्छ । त्यहीं हामी मधेशी, आदिवासी जनजातिहरुले मागेका हौं ।

० तर, त्यो सम्भव छैन भनेर धेरै भनिसके नि त ?
— कांग्रेस र माओवादी केन्द्रले विधेयक ल्याइसकेको छ । पास भएको छैन ।

० तर, पास हुन गाह्रो छ नि ठाकुरजी ?
— सामान्य बहुमत उसँग छ । कहाँ गयो ९० प्रतिशत ? अब छैन ९० प्रतिशत । एमाले अब अल्पमतमा छ ।

० तर, एमालेले कुनै पनि हालतमा यो प्रस्ताव संसदबाट पारित हुन नदिने भनिसकेको छ नि ?
— यो कुरा जनतामा जान्छ । यहाँ नेताहरुले यसमा निर्णय गर्न सकेन भने जनताले निर्णय गर्छ ।

० केपी शर्मा ओली र शेरबहादुर देउवाले सीमांकनको कुरा गर्दा मधेशमा दुई प्रदेश हुन देला ?
— आफू बाहिरबाट आएर त्यहाँका जनतालाई बाहिरिया भन्ने आफ्नो वैधानिकता साबित गर्ने व्यक्तिहरु जे कुरा पनि बोल्न सक्छन् ।

० झापालाई कुनै पनि हालतमा मधेश प्रदेशमा लानु हुँदैन भनेर कृष्णप्रसाद सिटौलादेखि केपी ओलीसम्मे भनिरहेका छन्, अनि कसरी हुन्छ ?
— धमलाजी, तपाइँ उनीहरुको पुच्छर बनेर किन यो प्रश्न गरिरहनु भएको छ ? त्यहाँका जनताले के भनिरहेका छन् त्यो कुरा बुझ्नुप¥यो । त्यहाँ कुनै बेला मधेशी र आदिवासी जनजातिहरुको रजाई थियो । उनीहरुको उठिवास किन भयो, कहाँ गए तिनीहरु ? आज हजारौं मानिसहरु बाहिर बस्न बाध्य छन्, उनीहरुमाथि मुद्दा छ । के यो हो मानवअधिकार ?

० पहाड, हिमाल र तराई–मधेश मिलेर बस्न चाहन्छ, त्यसलाई किन तोड्ने ?
— खै हाम्रो स्थान, कहाँ छौं हामी ? सुरक्षामा छ कि प्रशासनमा छ कि न्यायालयमा छ ? राजनीतिक भागवण्डा गर्ने ?

० तपाइँले भनेअनुसार मधेशीहरुलाई कुनै अधिकार पनि दिएको छैन र समावेशी पनि छैन ?
— सत्य यही हो । जनताले पनि भनिरहेका छन् यो कुरा । पहाडका मानिसहरुले पनि भनिरहेका छन् ।

० हामी सबै नेपालीहरु मिलेर बस्नुपर्छ नि ?
— यो शिक्षा नदिनुस् । काम गरेर देखाउनुस् । यस किसिमको आरोप गलत हो । यस्तो आरोप कहिल्यै पनि लगाउनु हुँदैन । आफैले अलगथलग राख्ने अनि अलग हुन खोजिरहेका छन् भनेर आरोप हामीमाथि लगाउने । हाम्रो नारा समावेशी हो ।

० तपाइँहरुको माग सम्बोधन भएन भने मधेशमा निर्वाचन हुँदैन त ?
— जबरजस्ती गरियो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार हुनेछ ।

० तर, हाम्रो देशमा धेरैपटक निर्वाचन पनि भएको छ नि ?
— त्यो गर्न हुँदैन । त्यो गलत हो ।

० यदि मधेशमा चुनाव भयो भने के हुन्छ त्यतिखेर ?
— त्यो हेरिहाल्नुस्, के हुन्छ भनेर ।

० त्यसोभए, संविधान संशोधन नभए तपाइँहरु निर्वाचनमा भाग लिनुहुन्न, यो तपाइँहरुको बटमलाइन हो ?
— हो, हाम्रो बटमलाइन हो । यसबाहेक कुनै सम्झौता हुन सक्दैन ।

० संविधान संशोधन विधेयक पारित भएन भने के गर्ने ?
— कति सम्झौता गर्ने ? पटक–पटक त हामी सम्झौता गर्दै आएका छौं । अहिलेसम्म कुन सम्झौता लागू भएको छ ।

० देश बचाउनका लागि छात्तीमा हात राखेर निर्वाचनमा जान सक्नुहुन्न ?
— देश बचाउनका लागि जहिले पनि १०–२० मधेशी मर्नैपर्ने ? देश बचाउने जिम्मेवारी सबैको हुनुपर्छ । आफ्नै मान प्रतिष्ठाका लागि मानिस ज्यान दिन्छन् । आफ्नो भूमिका लागि मान्छे सदैव तयार हुन्छन् । त्यसैले, आफू बसिररहेको जग्गाको सबैलाई माया हुन्छ ।

० एमालेका नेता झलनाथ खनालले अहिलेको अवस्थामा स्थानीय तहको संख्या थप्न सकिँदैन भनेर भन्नुभएको थियो ?
— झलनाथ खनालजी भन्नुहुन्छ कि मधेश नेपालमा छैन । त्यसोभए, उहाँलाई शासन गर्ने अधिकार कहाँबाट आयो ? मधेश नेपालमा छैन भन्ने अर्थ के हो ? मधेश अलग छ नेपालबाट । त्यहाँ उपनिवेशिक शासन छ । जबरजस्ती शासन गरिरहेका छन् । जो देशैमा छैन, त्यसमाथि शासन गर्ने अधिकार कहाँबाट आयो ? यसको जवाफ चाहियो । उपनिवेशको आफ्नो बोली हुँदैन, जो मास्टर हुन्छ त्यसैको बोली सबैले बोलिरहेका हुन्छन् र तपाइँहरु पनि त्यहीं गरिरहनु भएको छ ।

० एमालेको तर्क छ कि स्थानीय तहको संख्या थप्ने अहिले समय छैन भनेर नि ?
— तपाइँको गल्तीका लागि हामी किन सफर गर्ने ? गल्ती तपाइँले गर्नुभएको छ, सुधार्नुस् ।

० तपाइँलाई राम्ररी थाहा छ कि २०७४ साल माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन सकेन भने यो संविधान संकटमा पर्छ नि ?
— हाम्रो टाउकोमा गोली हानेर संविधान बच्छ भने बचाउनुस् । संविधान बचाउनका लागि हाम्रैमाथि किन गोली चलाइन्छ ।

० टीकापुर घटनालाई लिएर जुन किसिमले मत विभाजन भएको छ नि यसमा के भन्नुहुन्छ ?
— टीकापुर घटनामा पीडित को हुन् ? जसको घरमा आगो लगाइयो, रिसोर्टमा आगो लगाइयो, जसको लुगा खोलियो उनीहरु पीडित होइनन् ?

० त्यतिखेर सुरक्षाकर्मीमाथि जुन किसिमको आक्रमण भयो उनीहरुका परिवारले खोई न्याय भनेर प्रतिप्रश्न गर्न थालेका छन् ?
— उनीहरुले सरकारसँग प्रतिप्रश्न गरोस् न । तत्कालीन गृहमन्त्रीको भनाई हो कि भारतबाट आएर आक्रमण गरेको हो । आज मुद्दा चल्यो टीकापुरमा बस्ने जनतामाथि ।

० तर, टीकापुर घटनालाई जघन्य अपराध भन्नेहरु पनि छन् नि ?
— भएको छ जघन्य अपराध । तर आन्दोलनकारीले जघन्य अपराध गरेका छैनन् । त्यो जिम्मेवारी कसैले लिइसकेका छन् तर, उमाथि किन मुद्दा चल्दैन ?

० निर्दोष प्रहरीमाथि आक्रमण गरी हत्या त गरियो नि ?
— कसले हत्या ग¥यो त्यो जिम्मेवारी लिइसकेका छन् । आन्दोलनकारीहरुले गरेको होइन । जसको हातमा कानून, प्रशासन उनीहरुकै मुखबाट आएको छ ।

० मोर्चाभित्रका ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल चुनावमै जानका लागि होइन र ?
— निर्वाचनमा जानका लागि होइन, हामी संघर्षका लागि एकता गरेका हौं ।

० उसो भए, फेरि आन्दोलनमा जाने तपाइँहरु ?
— हाम्रो सामु अब कुनै विकल्प भएन । समस्याको समाधान गर्न सकेन भने जनताले त्यो समस्याको समाधान खोज्छन् ।

० जनताले समाधान खोज्ने दिन आउँछन् त ?
— एकदम आउँछ । कति दिन जनताले आश्वासनको भरमा बाँच्ने ? भोके मान्छे खाना खोज्छन्, खाना दिएन भने जहाँ खाना पाउँछ त्यहाँ जान्छ । जब मधेशीहरुको हकहित, सम्मानको रक्षा नेपालको सीमाभित्र हुन सकेन भने आफ्नो ठाउँ खोज्छन् ।
(राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग हिमालय टेलिभिजनमा ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश)

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com